गृहपृष्ठ शिखर इन्स्योरेन्सले गर्यो ९४ हजार स्याउका बिरुवाको बिमा, घरै पुगेर दाबी भुक्तानी
शिखर इन्स्योरेन्सले गर्यो ९४ हजार स्याउका बिरुवाको बिमा, घरै पुगेर दाबी भुक्तानी
शिखर इन्स्योरेन्स कम्पनी जुम्ला शाखाले कालिकोट, मुग र जुम्लाका स्याउ किसानका करिब ९४ हजार स्याउका बिरुवाको बिमा गरेको छ । 'किसानका लागि बिमा' कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बिमाप्रति उत्साहित भएको इन्स्योरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।
उनले भने, 'जुम्ला, कालिकोट र मुगुमा एक हजार ४१२ किसानले बिमाको क्षतिपूर्ति पाएका छन् । जुम्लाका ७४७, कालिकोटका ३४७ र मुगुका ३०० स्याउ किसान बिमित भएका थिए ।'
स्याउको बिरुवा बिमा गरिएअनुसार क्षतिपूर्ति वितरण सुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिए । जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु‑याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नुपरेका किसान क्षतिपूर्ति पाउँदा खुसी भएका छन् ।
प्रतिबिरुवा २७० रुपैयाँका दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्स्योरेन्सले जनाएको छ । यो वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जुम्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज बिष्टका ७०० बिरुवा बिमा गरिएको थियो । उनलाई स्याउमा फल नलागेपछि बिमा गरेबापत एक लाख ८९ हजार प्रदान गरेको इन्स्योरेन्सले जनाएको छ ।
पाँच सय बिरुवाको बिमा गरेबापत देवी सेजुवालले एक लाख ३५ हजार पाएकी छन् । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बिमा गरेर क्षति भएबापत एक लाख ३५ हजार रकम नै प्राप्त गरे । बिमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ ।
किसान अधिराज बिष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बिमाले थोरै भए पनि राहत दिएको बताए । एक सय रुपैयाँमा यहाँका किसान स्वयंको दुर्घटना बिमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु हुँदा दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बिमा पनि सुरु गर्ने लक्ष्य लिइएको छ । (रासस)
प्रकाशित समय : १२:४४ बजे