Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

यती एयरलाइन्सको काठमाडौँ-बनारस-काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न

न्युज कारोबार काठमाडौं चैत १२, २०७७       

यती एयरलाइन्सको काठमाडौँ-बनारस-काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले काठमाडौँबनारसकाठमाडौँको आज परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका मुलुकमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिनाअघि यतीले निवेदन दिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । आजको उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।

यो परीक्षण उडान एयरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको उडान दलले गरेको थियो । एटआर७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १०:०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५:४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो ।

परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एयरलाइन्सका अफिसियलको सहभागिता थियो । नयाँ बन्ने क्षेत्रीय विमानस्थलसँग नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटन बढाउने उद्देश्यका साथ अन्तरराष्ट्रिय उडान भर्न लागेको उनले बताए ।

यती एयरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य राखेको छ । यती एयरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको छ । 

सन् २०२१ भित्रै दुई वटा एटिआर७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर७२ र जेटस्ट्रिम वायुयानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

सम्बन्धित खबरहरु