Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

'फोहोर नउठाउने नगरपालिकाले पार्कको सरसफाई र संरक्षण के गर्थ्यो !'

वविता तामाङ काठमाडौं चैत ११, २०७७       

'फोहोर नउठाउने नगरपालिकाले पार्कको सरसफाई र संरक्षण के गर्थ्यो !'

कोटेश्वर-सूर्यविनायक छ लेन सडकको बिचमा बनाएका हरित पार्क संरक्षणविहीन बनेको छ । सडक विस्तारभएसँगै सडक र सहरलाई सुन्दर एवं व्यवस्थित बनाउनका लागि डिभिजन वन कार्यालय भक्तपुरले मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकामा एक वर्षअघि सहरी हरित पार्क निर्माण गरेको थियो । पार्कमा लाखौँ रुपैयाँ खर्च गरेर दुबो र विभिन्न प्रजातिका बोटविरुवा रोपिएका छन् । वन कार्यालयले उक्त पार्कको संरक्षण र सरसफाईको जिम्मा पनि नगरपालिकालाई नै हस्तान्तरण गरेको थियो ।

सुरुवाती समयमा नगरपालिकाले पार्कको सरसफाई र संरक्षणमा चासो देखाएको थियो । त्यस समयमा पार्कले सहरको सुन्दरता बढाएको थियो । तर, अहिले भने पार्कको अवस्था टीठलाग्दो बनेको छ । पार्कमा रोपिएका बोटबिरुवा सुक्न थालेका छन्, हाँगा भाँचिएका छन् । हरियो दुबो सुकेर पहेँलो भएका छन् । पार्क वरिपरी पोलिथिन, कागज, बोत्तल लगायतका फोहोरजन्य वस्तुहरु छरपष्ट छन् । हुन त यस्ता सार्वजनिक सम्पत्तिहरुको संरक्षण नभएको उदाहरण अन्यत्र पनि धेरै छन् । तर, देशकै राजधानी रहेको काठमाडौं उपत्यकामा अवस्थित हरित पार्कको यस दृश्य भने साँच्चै अशोभनीय छ । 

आश्चार्यजनक कुरा त यो छ कि, हरित पार्क सरसफाइ र संरक्षणको विषयमा नगरपालिकाकै कर्मचारीहरु अनभिज्ञ छन् । केही कर्मचारीले त हरित पार्क संरक्षण गर्न नगरपालिकालाई जिम्मेवारी नै नदिएकोसमेत भन्न भ्याए । तर स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हेर्ने हो भने स्थानीय स्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व सम्बन्धित स्थानीय तहको हो । 

भक्तपुरका सडकमा बनेका उक्त हरित पार्क १ वर्षदेखि सरसफाई तथा संरक्षणविहीन छन् । हरित पार्कको सरसफाई गर्न नसकेको मध्यपुर ठिमी नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीले पनि स्वीकारिन् । पार्क सरसफाई र संरक्षणको लागि पानी हाल्ने, फोहोर टिप्ने र फोहोर व्यवस्थापन गर्ने टोली बनाएर विगतमा केही समय काम गरेको उनले बताइन् । यसरी टोली गठन गरेर काम गर्दा आफूभन्दा माथिल्लो तहका केही कर्मचारीबाटै असहयोग र अवरोध भएको उनले सुनाइन् । ‘सिनियर कर्मचारीहरुले सल्लाह नै नगरी आफूखुशी गरेको आरोप लगाउनु भयो । उहाँहरुबाटै अवरोध सिर्जना भएपछि बिचमै रोक्नुपरेको हो,’ उनले प्रष्ट पारिन् ।

हरित पार्क संरक्षण नगरपालिकाको जिम्मेवारीमा पर्ने भए पनि सरसरफाइ अहिलेसम्म हुन नसक्नुमा नगरपालिकाको कमजोरी भएको उपप्रमुख मधिकर्मीले बताइन् । आफूले पनि काम नगर्ने र गर्न खोज्नेलाई पनि अवरोध सिर्जना गर्ने प्रवृत्ति नगरपालिकाका कर्मचारीहरुमा भएका कारण काम हुन नसकेको उनको गुनासो छ । उनले भनिन्, ‘मैले हरित पार्कको सरसफाईबारे मेयरसामु कुरा राखेको हो । तर उहाँले मेरो कुराको वेवास्ता गर्नुभयो ।’ केही दिनअघि सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने हरित पार्कको सरसरफाईका लागि छलफल गरेको थियो । ‘आफ्नो क्षेत्रभित्रको जिम्मा लिएर सरसफाई गर्ने भनेर छलफल गरेका थियौँ, तर त्यो लागू हुन सकेन,’ उपप्रमुख मधिकर्मीले भनिन् । पार्क संरक्षणको विषयलाई छिट्टै छलफलमा लैजाने उनले प्रतिवद्धता जनाइन् ।

पार्क संरक्षण र सरसफाई अभियानमा एक जना मात्र लागेर केही नहुने उपप्रमुख मधिकर्मीको भनाइ छ । यसका लागि सबै एकजुट भएर लाग्नुपर्र्नेमा उनले जोड दिइन् । जनता स्वयं सचेत नभएसम्म जति सफाई गरे पनि, सफाई अभियान नै चलाए पनि सुधार नहुने उनको बुझाइ छ । ‘नागरिकको पनि कमजोरी छ । जहाँ सफा छ, त्यहीँ फोहोर ल्याएर थुपार्छन् । यस्तो भएपछि जति अभियान चलाए पनि, सरसफाई गरे पनि स्वच्छ र सफा सहर सम्भव हुँदैन,’ उनले भनिन् । 

पार्क सरसफाई र संरक्षणबारे स्थानीयवासीले पनि चासो दिएका छैनन् । पार्कबारे जिज्ञासा राख्दा उनीहरुले आफूहरुलाई खासै मतलब नभएको प्रतिक्रिया दिए । ‘पार्क सफा छ या फोहोर छ । त्यसको हामीलाई मतलब नै हुँदैन । फोहोर त देखिन्छ । नगरपालिकाले हेर्नुपर्ने हो । खै किन गरिरहेको छैन, हामीलाई थाहा भएन,’ कौसलटारमा किराना पसल सञ्चालन गर्ने एक व्यवसायीले न्युज कारोबारसँग बताए ।

कतिपय स्थानीयवासीले भने सार्वजनिक स्थान, चोक र सडकमै हप्तौंसम्म फोहोर थुप्रिँदासमेत बेवास्ता गरिरहने नगरपालिकाबाट पार्कको संरक्षणका लागि केही अपेक्षा नै गर्न नसकिने बताए । ‘समयमै फोहोर नउठाउने नगरपालिकाले पार्कको सरसफाई के गरोस् ?’ उनीहरुको प्रतिक्रिया थियो ।

सम्बन्धित खबरहरु