Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा 'शिखर बिज सेन्टरमा'

न्युज कारोबार काठमाडौं चैत १०, २०७७       

शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा 'शिखर बिज सेन्टरमा'

देशको सबैभन्दा ठूलो निर्जीवन बिमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं र १६औं वार्षिक साधारणसभा चैत ९ गते, सोमबार सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । यस्तै, ती दुवै आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७/७८ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

सञ्चालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६.१ प्रतिशत (आ.व.२०७७/७८मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात् कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने) का दरले ३८ करोड १६ लाख ८९ हजार १२७को बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा १.९ प्रतिशत (आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात् कायम हुने सेयर पुँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश दुई ८८ हजार ९०१ रुपैयाँ वितरणको प्रस्तावसमेत पारित गरेको छ । साधारण सभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी चार अर्ब पुर्याउने प्रस्तावसमेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने एजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस सेयरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्तावसमेत पारित भएको छ । बोनस सेयरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्तावसमेत साधारण सभाबाट पारित भएको छ । यसैगरी, साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख’ का सेयरधनीबाट निर्वाचित हुने २ सञ्चालकका लागि निर्वाचनसमेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सेयरधनीले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो क्रममा उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबरहरु