Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

लहान विष्फोट : २ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

न्युज कारोबार काठमाडौं चैत १, २०७७       

लहान विष्फोट : २ गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोटको घटनामा गम्भीर घाइते दुई जनालाई काठमाडौँ लगिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मालपोत कार्यालयका नायब सुब्बा र एकजना सेवाग्राहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लागिएको हो । घटनामा घाइते हुनेको संख्या आठ पुगेको छ ।

मालपोत कार्यालयको दोस्रो तलामा भएको विस्फोटमा परेकामध्ये नायब सुब्बा शिव कुमार यादवको खुट्टामा चोट छ भने अर्का सेवाग्राही गम्भीर छन् । प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार अन्य घाइतेहरूको भने लहानस्थित अस्पतालमा उपचार भइरहेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले घटनास्थलमा गोइत समूहको तराइ जनतान्त्रिक मोर्चाको पर्चा फेला परेको जानकारी दिए । आज मात्रै तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष रामविलास यादवले सो समूह छाडेर शान्तिपूर्ण मार्गमा आउने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि उक्त समूहले आक्रोशस्वरूप घटना घटाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । तराइ जनतान्त्रिक मोर्चाका उपाध्यक्ष यादवले प्रशासन कार्यालयमा हिंसात्मक गतिविधि छाड्ने भन्दै आजै निवेदन दिएका थिए ।

छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका- १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका- १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक,  भगवानपुर गाउँपालिका- ३ निवासी ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका- ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार- ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सम्बन्धित खबरहरु