Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

चन्द्र ढकाल भन्छन्‑ आर्थिक विकासको लागि निजी क्षेत्र 'रियल एक्टर'

न्युज कारोबार पर्सा फागुन २८, २०७७       

चन्द्र ढकाल भन्छन्‑ आर्थिक विकासको लागि निजी क्षेत्र 'रियल एक्टर'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आईएम ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि निजी क्षेत्र रियल एक्टर भएको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारण सभामा उनले भने, निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पु‑याउने र पूर्वाधार निर्माणमा पनि मुख्य भूमिका खेलेको छ, त्यसैले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर नै हो ।'

मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनको भनाइ छ । कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको उनले बताए ।

उनले यहाँका जति पनि समस्या र मुद्दा छन्, तिनलाई नियमनकारी निकायसम्म पु‑याउन वीरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने र महासंघले सम्बन्धित निकायमा लैजाने प्रतिबद्धता व्यक्त गरे । 'कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशमा नेपाल १७५ स्थानमा छ,' वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा हामी १०८ औँ नम्बरमा छँ ।'

देशमा व्यावसायिक क्रियाकलाप बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक उनले प्रस्तुत गरे । त्यसमा सुधारका लागि सरकारले पहल गर्नुपर्ने धारणा ढकालले राखे ।

तीन तहका सरकारको मेकानिजमले मात्र देशमा व्यावसायिक वातावरण बन्ने उनको तर्क छ । 'नेपालमा एउटा सानो आपी खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ, यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ,' ढकालले भने, 'यो अवस्था भनेको नागरिक लगानीका लागि आतुर भएको अवस्था हो भन्ने बुझेर देशले स्वदेशी र विदेशी लगानीका लागि इन्करेज हुने खालको नीति, नियम तथा वातावरण बनाओस् ।'

सम्बन्धित खबरहरु