गृहपृष्ठ कर्मचारी कुटपिट गर्नेलाई कारवाही माग
कर्मचारी कुटपिट गर्नेलाई कारवाही माग
सूर्यविनायक नगरपालिका- २ साविक बालकोट गाउँ विकास समिति वडा नं १ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमिसमेतलाई सम्पूर्ण प्रमाणसहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै पक्राउ गरी कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् ।
सूर्यविनायक नगरपालिका- २ वडा कार्यालय बालकोटले सिमेन्टको पोल लगाई तारबार घेरेर संरक्षण गरिएको कित्ता नं ३२ र ३३ को सार्वजनिक पर्ती जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन माग गर्दै नगरपालिकामा निवेदन दिएपछि प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाको टोली खटाएर जग्गा खाली गराई प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।
यही फागुन १७ गते नगरपालिकाका नक्शा शाखाका इञ्जिनीयर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी, सहायक निरीक्षक वीरबहादुर अधिकारी, हवल्दारद्वय शम्भु खत्री तथा किशोर थापा र नगर प्रहरी रविना श्रेष्ठले अतिक्रमित जग्गामा बनेको घरटहरा हटाउन खोज्दा कुटपिट गरी लछारपछार गरेका थिए । उक्त घरटहरा हटाउन पटक-पटक सूचना जारी गरेको र सोही क्षेत्रमा गएर भन्दासमेत अटेर गरेपछि नगरपालिकाको टोली घरटहरा भत्काउन जाँदा कर्मचारीलाई कुटपिट भएपछि प्रहरीलाई खबर गर्दासमेत प्रहरी ढिलो आएर सुरक्षा नदिएको कर्मचारीको गुनासो छ ।
पटक-पटक दिएको सूचना अटेर गरेपछि नगरपालिकाको आदेशमा टहरा भत्काउन गएको बताउँदै कुटपिटबाट घाइते भएका अधिकृत पौडेलले अतिक्रमण गर्ने व्यक्तिले एउटा टहराको वार्षिक एक लाख ५० हजार भाडामा लिएको सम्झौता कागजसमेत पाएको बताउँदै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा लगाउने विरुद्ध कारवाही गर्नुपर्ने बताए ।
शाखा अधिकृत पौडेलले भने, 'अतिक्रमण गरी बनाइएका १५ मध्ये चार टहरो हटाइ नसक्दै जग्गा भाडामा लगाइ भाडा खाने भनिएका मुख्य व्यक्ति राजु विष्ट, नारायण सिं सिलवाल, टहरा बनाउने झङकनाथ लम्साल र लेखप्रसाद चौलागाईं तथा विनोद विष्टसमेतका व्यक्तिले एक्कासि सरकारी कर्मचारीलाई कुटपिट गरी लछारपछार पारे, मेरो टाउँको समेत फुट्यो ।' कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गरी, कर्मचारीको कठालो समाती कुटपिट र लछारपछार गरी सरकारी काम कारवाही गर्न नदिएको भन्दै उनले सरकारी पोशाकमा खटिएका कर्मचारीले हात फर्काउन नमिल्दा एकोहोरो कुटाइ खान बाध्य भएको बताए ।
सरकारी काममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई कानूनी कारवाही अगाडि बढाउन नगरपालिकाका पीडित कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरी दर्ता गराए पनि आजसम्म कुनै कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले प्रहरी, प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।
महानगरीय प्रहरी बृत्त थिमिका डीएसपी नरहरि रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताए । सरकारी जग्गालाई साविक बालकोट गाविसबाट संरक्षणको लागि ६ फिट अग्लो सिमेन्टको पर्खालले घेरा गरी काँडेतारबार लगाई घेरिएको अवस्थामा रहेको भए पनि संरक्षण गरिएको सरकारी जग्गामा गाडिएका सिमेन्टको खम्बासमेत भाँची केही व्यक्तिले घरटहरा बनाएको अवस्था रहेको नगरपालिकाको भनाइ छ । (रासस)
प्रकाशित समय : २२:२१ बजे