Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

पुरुषसरह छैन समान ज्याला

सीता वली सुर्खेत फागुन २५, २०७७       

पुरुषसरह छैन समान ज्याला

वीरेन्द्रनगर ३ सुर्खेतकी नन्दा रावत मजदुरी गर्छिन् । मजदुरी गरेरै उनले आफ्नो परिवारको पेट पाल्दै आएकी छन् । घर निर्माण लगायतका कामका लागि ढुंगा र गिट्टी बालुवा बोक्ने काम गरेबापत् उनले दिनमा ६ सय रुपैयाँ प्राप्त गर्छिन् । तर, उनीसँगै काम गर्ने पुरुषहरुले भने दिनमा सात सयदेखि एकहजार रुपैयाँसम्म प्राप्त गर्छन् । पुरुष भएकै कारण उनीहरुले धेरै ज्याला प्राप्त गरेको उनी बताउँछिन् । ‘हामी महिलाहरु पुरुषभन्दा धेरै काम गछौं,’ उनले भनिन्, ‘तर ज्याला पाउँदा पुरुषहरुले धेरै पाउँछन् ।’ असमान ज्यालाका बाबजुद पनि परिवारको पेट पाल्नलाई काम गर्नुपर्ने बाध्यता भएको उनी सुनाउँछिन् । असमान ज्यालाको विषयमा कुरा उठाउँदा ठेकेदारले कामबाट निकाल्ने डरले नबोलेरै बस्ने गरेको उनले सुनाइन् ।

वीरेन्द्रनगर २ की निशा सुनारले समेत पाँच वर्षदेखि मजदुरी गर्दै आएकी छन् । उनको समेत नन्दाको जस्तै अनुभव छ । दिनमा पाँच सयदेखि ६ सयसम्म आफूहरुलाई ज्याला दिँदा पुरुषहरुलाई आठ सयदेखि एक हजारसम्म दिने गरेको उनी बताउँछिन् । ‘परिवारको पेट पाल्नै प¥र्यो,’ उनी भन्छिन्, ‘जति ज्याला दिन्छन्, त्यसैले घर चलाउन बाध्य छु ।’ असमान ज्यालाका विषयमा कुरा गर्नसमेत नसकिने उनले बताइन् ।

तुलसीकुमारी सुनार पनि मजदुरी गर्छिन् । वीरेन्द्रनगर नगरपालिका २ घर भएकी उनी दिनभरी गिट्टी बालुवा बोक्ने काम गर्छिन् । उनलाई उक्त काम गरेबापत् दिनमा ६ सय रुपैयाँ पारिश्रमिक दिइन्छ । तर, उनीसँगै मजदुरी गर्ने पुरुषले भने सात सय रुपैयाँ पारिश्रमिक पाउँछन् । उस्तै काम गर्दा पनि आफूलाई थोरै र पुरुषलाई धेरै ज्याला दिँदा उनलाई दुःख त लाग्छ । तर, पेट पाल्नको लागि काम गर्नुको विकल्प नभएको उनी बताउँछिन् । ‘काम उस्तै हो,’ उनी भन्छिन्, ‘ठेकेदारलाई भन्ने हो भने तपाईहरुभन्दा पुरुषहरुले धेरै काम गर्छन् भनेर टार्छन् ।’

ठेकेदारले पुरुषहरु परेको समयमा मिस्त्रीको पनि काम गर्न सक्छन् भन्दै उनीहरुलाई महिलाभन्दा धेरै ज्याला दिने गरेको तुल्सीले सुनाइन्  । कामको प्रकृति उस्तै भए पनि समान ज्याला नपाउँदा दुःख लाग्ने उनी बताउँछिन् । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको १११ वर्ष पुग्यो । यो समयमा थुप्रै पटक महिला अधिकारका कुरा गरिए, समान ज्यालाका नारा लागे, थुप्रै कानुनी व्यवस्था पनि थपिए तर, पनि नेतृत्वमा पुगेका महिलाहरुले नै फरक महशुस गर्नुपर्ने अवस्था छ । 

समान काम गरेबापत् समान ज्यालासमेत महिलाहरुले पाउन सकेका छैनन् । कानुनी प्रावधान अनुसार नेतृत्वमा पुगेका महिलाहरुलाई समेत हाम्रो समाज नेता मान्न तयार छैन । उनीहरु पदमा छन् तर, भूमिकामा छैनन् । कार्यकारी पदमा भएका महिलाहरुले समेत यस्ता खालका असमान व्यवहार झेल्दै आएका छन् ।

सम्बन्धित खबरहरु