Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नारी दिवस, महिला हिंसा र लैंगिक समानता

वविता तामाङ काठमाडौं फागुन २४, २०७७       

नारी दिवस, महिला हिंसा र लैंगिक समानता

आज मार्च ८ । अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । महिलालाई सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा समान अधिकार सुनिश्चित गरिनुपर्छ, महिला हिंसाको अन्त्य गरिनुपर्छ लगायतका विषयमा आधारित रहेर यो दिवस मनाउन थालिएको हो । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको पहिलो धारामा भनिएको छ, ‘सबै व्यक्ति जन्मजात स्वतन्त्र हुन् र सबैको समान अधिकार तथा महत्व छ । त्यसैले समाजमा पुरुषको जति हक छ, नारीको पनि त्यति नै हक छ । नारी दिवसको कुरा चलिरहँदा हाम्रो समाजमा कयौँ नारीहरु छन्, जसले आज पनि विभिन्न किसिमका हिंसा खेपिरहेका छन् । आज पनि कयौँ नारी कुटिएका छन्, लुटिएका छन्, हेपिएका छन्, दबाइएका छन् । हाम्रो समाज यति पछाडि छ कि आजको २१औँ शताब्दीमा पनि धार्मिक आस्था र अतिवादी सोचको कारण बोक्सीको आरोपमा एउटी निरीह महिलामाथि हातपात गरिन्छ, मलमुत्र खुवाइन्छ, समाजबाट बहिष्कार गरिन्छ ।

बिहेमा माइतीबाट दाइजो नल्याएकै निहुँमा श्रीमान र श्रीमानको परिवारले एउटी नारीमाथि अनेक याताना दिन्छ, जिउँदै जलाइन्छ । कयौँ अवोध छोरीहरु संसार देख्नुपूर्व गर्भबाटै निमोठिन्छन् । बिहेपछि सन्तान दिन नसक्दा एउटी महिलामाथि सौता हालिन्छ । गरिबीमा जिन्दगी बिताइरहेका महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर दलालले कोठीमा लगेर बेचिदिन्छन् । कति किशोरीहरुको सानै उमेरमा बालविवाह गराइन्छ । प्रेम अस्वीकार गरेकै निहुँमा एउटी नारीले एसिड आक्रमणको पीडा सहुनुपर्छ ।
 
कयौँ नारीको बलात्कारपछि हत्या भइरहेको छ । बलात्कारका कति घटना त इज्जतको डरले बाहिर आउँदैनन्, कति घटना भित्रभित्रै मिलाउन खोजेका हुन्छन् । केही बाहिर आउँछन्, तीमध्ये थोरैले मात्र न्याय पाउँछन् । आज कुनै नारीले पनि सुरक्षित महसुस गर्न सक्दिनन् । किनकि, नारीलाई हर कदममा असुरक्षा छ । स्कुल जाँदा, घाँस दाउरामा जाँदा, सार्वजनिक सवारी साधन चढ्दा, हाटबजार जाँदा, काममा जाँदा, हर पाइलामा नारीले असुरक्षित महसुस गर्नुपर्ने परिस्थिति छ ।

जन्मिँदादेखि नै नारीले विभेद सहनुपर्छ । जसरी पुरुष जन्मिँदा परिवारमा जतिको रौनक हुन्छ, छोरी जन्मिँदा त्यस्तो हुन्न । छोरा नजन्माई स्वर्ग पुगिँदैन भन्ने रुढीवादी सोचबाट ग्रसित भएर छोराकै लागि लगातार सन्तान जन्माउन बाध्य हुनुपर्ने पनि नारीले नै हो । दर्जनौँ सन्तान जन्माउँदा महिलाको स्वास्थ्यको चिन्ता त परै जाओस्, छोरा नपाएको निहुँमा महिलालाई नै दोषी देखाइन्छ । कतिपय अभिभावकले छोरालाई महँगो शुल्क तिरेर निजी विद्यायलयमा अनि छोरीलाई सामान्य सरकारी स्कुलमा हालिदिने गर्छन् । ‘छोरी अर्काको घर जाने जात हो, धेरै  किन पढाउनुपर्‍यो ?’ भन्ने मानसिकता अझै हटिसकेको छैन । नारीमाथिको हिंसा परिवारबाटै सुरु हुन्छ । आफ्नै श्रीमानबाट हिंसा भइरहेको हुन्छ । शारीरीक, मानसिक या यौन हिंसा नै किन नहोस् महिलाहरु चुपचाप सहिरहेका हुन्छन् । ‘ममाथि हिंसा भइरहेको छ, अन्याय भइरहेको छ’ भन्ने जानेर पनि कयौँ शिक्षित महिलाहरु प्रतिवाद वा प्रतिकार गर्दैनन् ।

आफूमाथि घरेलु हिंसा भइरहेको छ भनेर एउटी महिलाले आवाज उठाउन नसक्नुमा उनको परिवारप्रतिको सम्झौता हुनसक्छ, या समाजको डर । किनकि, हाम्रो समाजले महिलालाई नै दोषी देखाउँछ, प्रश्न महिलामाथि नै उठ्ने गर्दछ । महिलामाथि गलत व्यवहार भइरहेको छ भने पनि महिलाकै गल्ती औँल्याइदिन्छ । 

कामकै कुरा गर्ने हो भने घरभित्रको काम महिलाको, बाहिरको पुरुषको भन्ने परम्परावादी सोच अझ विद्यमान छ । भान्छाको काम, कपडा धुने, बच्चा स्याहार्ने, घर सरसफाइ गर्ने लगायतका काम सबै महिलाले मात्रै गर्ने भन्ने छ । आज पनि धेरैको परिवारमा महिलाहरु नै घरको काममा हुन्छन् भने पुरुषहरु बाहिरको काम सम्हाल्छन् । यसलाई गलत भन्न खोजेको हैन । तर, यो महिलाले मात्रै गर्ने काम, यो पुरुषले मात्रै गर्ने काम भनेर छुट्याउनु चाहिँ विभेद नै हो । किनकि जुनसुकै काम पनि उपलब्ध समय, व्यस्तता, एकअर्काको अनुकुलता र दक्षताको आधारमा गर्नुपर्छ । यसमा महिला र पुरुषको काम भनेर विभेद गर्नु जरुरी छैन । प्रश्न उठ्छ, पुरुषले उठाउने जिम्मेवारी महिलाले किन उठाउन सक्दैन ? पुरुषले बोल्न हुने, महिलाले किन नहुने ? एउटै कार्यालयमा एकै प्रकारको काम समान अवधि गर्दा तलबमा भिन्नता किन ? महिलाले भोग्दै आएको विभेद हो यो । महिला र पुरुष दुवैले एउटै काम एकै समयमा बराबर काम गर्दा पनि ज्यालामा पुरुषको तुलनामा महिलाले कम नै पाउँछन् । यो असमानताको पनि अन्त्य हुनु जरुरी छ । 

हाम्रो समाजले अझै पनि महिलालाई स्वविवेकअनुसार स्वतन्त्रतापूर्वक बोल्न दिँदैन । समाजको मान्यता नारीहरु हरेक कुरामा चुप रहुन्, सहुन् भन्ने नै छ । कोही महिलाले बोल्यो भने ‘पोथी बासेको’ भनेर नारीको अपमान गरिन्छ । यहाँ धर्म वा धार्मिक आस्थाको विरोध गर्न खोजिएको हैन । धर्म संस्कार र संस्कृति भनेको मनको विश्वास हो, स्वीकार हो । कसैको आस्था र विश्वासलाई ठेस पुग्ने काम गर्नुहुन्न । यति मात्र भन्न खोजिएको हो, धर्मको आडमा कति कुराहरुले महिलालाई नियन्त्रण र त्रासमा राख्न खोेजेको छ, राखेको छ । धार्मिक परम्परा र मान्यताले समाजमा विभेद सिर्जना भएकै छ ।

महिनावारी हुँदा बार्नुपर्छ भन्ने चलन समाजमा अझै पनि छ । महिनावारी प्राकृतिक कुरा हो भन्ने जानेर पनि शिक्षित वर्गहरुमा अझै धार्मिक आस्थाकै कारण महिनावारीको समयमा मन्दिर जान नहुने, भान्सामा पस्न नहुने, पुरुषलाई छुन नहुने भन्ने मान्यता छ । सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा छाउपडी प्रथाले यसरी जरा गाडेको छ कि, आजको दिनमा पनि सयौँ किशोरी तथा महिला महिनावारी हुँदा गोठमा बस्न बाध्य छन् । यसरी असुरक्षित रुपले बस्दा कतिपयले सर्पको टोकेइ वा अन्य कुनै न कुनै कारणले ज्यान गुमाएका छन् । धर्म, संस्कृति हाम्रा गौरव हुन्, यसलाई जोगाउनु हाम्रो साझा दायित्व हो । तर जुन गलत संस्कार छ, त्यसलाई परिमार्जन गर्दै लैजानु आवश्यक छ । 

तिजमा महिलाले आफ्नो लोग्नको लामो आयुको लागि भन्दै ब्रत बस्नुपर्ने संस्कृति छ । यदि आफ्नो लोग्नेको स्वास्थ्यको लागि ब्रत बस्नु जरुरी हो भने यो अनिवार्य महिलालाई मात्र किन ? पुरुषले पनि पत्नीको लागि व्रत बसे के हुन्छ ? खोजीपस्दा, विभिन्न धर्म र आस्थाका कारण हुने यस्ता लैंगिक विभेदपूर्ण मान्यताहरु एक होइन, अनेक भेटिन्छन् । धार्मिक विधिविधान महिलामाथि मात्र लादिने किन ? कोही महिलालाई विश्वास छ भने पालना गर्नसक्छ, तर अबका दिनमा अनिवार्य गरिनुहुन्न । 

हिजोजस्तै परम्परावादी सोच समाजमा अहिले पनि छ भन्ने होइन । सामाजिक मूल्यमान्यता र सोचविचारमा धेरै नै परिवर्तन भइसक्यो । धेरै कुरामा सुधार आइसक्यो । तर, जति सुधार हुनुपर्ने हो त्यति भने भएको छैन । नारीमााथि हुने बलात्कार, असमान ज्याला, घरेलु हिंसा, बेचबिखन लगायतका सवालहरु नउठेका होइनन् । आन्दोलन, सचेतनाजस्ता कार्यक्रमहरु पनि भई नै रहनछन् । तर यस्ता गतिविधिहरुले अपेक्षाअनुसार समस्या न्यूनीकरण भइरहेको छैन । महिला अधिकार र लैंगिक समानताका अधिकांश मुद्दाहरु नारामै मात्र सीमित भएको गुनासोहरु पनि सुनिने गरेका छन् ।

अर्को मुख्य कुरा त हाम्रो पितृसत्तात्मक समाजले पनि धेरै प्रभाव पारेको छ । संविधान र कानुनका आधारमा महिलालाई सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा अगाडि बढाउन खोजिए पनि पितृसत्तात्मक समाजका कारण कहीँ न कहीँ महिलामाथि विभेद भएकै हुन्छ । निर्णायक तहमा पुरुष हावी भएकै हुन्छन् । कानुनले नै आरक्षण गरेको कोटाको समेत दुरुपयोग हुने गरेको छ । महिला अगाडि बढ्न नसक्नुुमा समाज र पुरुषलाई मात्र दोष दिन पनि मिल्दैन । कमजोरी महिलामा पनि छ । जबसम्म महिला स्वयंले आफ्नो सोचलाई परिवर्तन गरेर आफ्नो कदम चाल्दैन, तबसम्म महिलाको सामाजिक स्तर जहीँको तहीँ हुन्छ । महिला स्वयंले ‘म कमजोर छु, म गर्न सक्दिनँ’ भन्ने सोचलाई बदल्नु जरुरी छ । हरेक महिला आफ्नो लागि आफैँ अगाडि बढ्नु आजको पहिलो आवश्यकता हो । आफ्नो लागि कसैले बोलिदेओस्, गरिदेओस् भन्ने सोचलाई बदलेर आफ्नो लागि आफैँ बोल्ने र सोच्ने बेला आएको छ । आफूमाथि अन्याय भइरहेको छ भने अब महिलाले सहेर बस्नुहुन्न । समस्याका विषयमा खुलेर अगाडि आउनुपर्छ, तबमात्र हरेक पीडित महिलाले न्याय पाउन सम्भव हुन्छ । 

नेपालको कुरा मात्रै हैन संसारभरमै लैंंगिंक समानताको सवालमा उठेका धेरै मुद्दाहरु केवल अभियानमा सीमित छन् । विकसित मुलुकहरुका महिलाहरु पनि उत्पीडनमा बाँचिरहेका छन् । अर्को कुरा, महिलालाई शिक्षाको कमी छ । हरेक नारीलाई शिक्षा दिनु आजको अपरिहार्य आवश्यकता हो । पुरुषको तुलनामा शारीरिक रुपले महिला केही कमजोर हुन सक्लिन्, तर त्यसबाहेक कुनै कुरामा महिला पुरुषभन्दा कमजोर छैनन् । महिला पनि पुरुषजति नै सक्षम, बलियो, साहसिलो र जिम्मेवार हुनसक्छिन् । तर, त्यसको लागि महिलालाई अवसरको खाँचो छ, साथको खाँचो छ । जसरी पुरुषको सफलताको लागि महिलाको हात हुन्छ, त्यस्तै महिलाको सफलताको लागि पनि पुरुषको हात आवश्यक छ । त्यसैले आज समाजमा महिलालाई मात्र अगाडि बढाउँछु भन्दा पनि दुवैलाई समान हक र अधिकार दिनु जरुरी छ । तबमात्र लैंगिक समानता कायम हुन्छ । महिला पुरुष दुवै मिलेर अघि बढे समाजमा परिवर्तन ल्याउन कुनै गाह्रो छैन ।

यस्ता धेरै कुरा छन्, जुन कुरामा परिवर्तन ल्याउन आवश्यक छ । वर्षको एकपटक नारी उत्थान, नारी हिंसाको अन्त्य गर्नुपर्छ भनेर नारा लगाएर मात्र नारी हिंसाको अन्त्य हुँदैन । नारी उत्थान लैंगिक समानताको लागि हरेक दिन बोल्नु आवश्यक छ, हरेक दिन नारी दिवस मनाउनु आवश्यक छ । 

नारी दिवसको इतिहास 

नारीलाई मताधिकार दिने अग्रणी मुलुकहरु केवल न्युजिल्याण्ड, अष्ट्रेलिया, र फिनल्याण्ड मात्र थिए । न्युजिल्याण्डमा सन् १८३० मा, अस्ट्रेलियामा सन् १९०२ मा र फिनल्याण्डमा सन् १९०६ मा महिलाले मत दिने अधिकार पाएका थिए । नारीलाई पुरुषसरह अधिकार स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्र संघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९१८ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्विट्जरल्याण्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । 

नेपालमा २०१६ साल अर्थात् सन् १९५९ सालमा प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो । बीपी कोइराला नेतृत्वको मन्त्रिमण्डलमा द्वारिकादेवी ठकुरानी नेपालकै इतिहासमा पहिलोपटक मन्त्री बनेकी थिइन् । त्यो बेलादेखि नै महिला अधिकारको कुरा उठेको थियो ।

सम्बन्धित खबरहरु