Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत १९ देखि, पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टोली खेल्ने

न्युज कारोबार काठमाडौं फागुन २०, २०७७       

पाँचौँ आरबीबी एनभीए लिग भलिबल चैत १९ देखि, पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टोली खेल्ने

पाँचौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता आगामी चैत तेस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।

काठमाडौँमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष चैतमा हुनुपर्ने सो प्रतियोगिताका कारण एक वर्षपछि सरेको हो । गत वर्ष नै माघमा सम्पन्न एनभीए क्लब भलिबल च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका पुरुष र महिला टोली छनोट गरिएको संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिए । 

लिगमा पुरुषतर्फ २८ तथा महिलातर्फ १५ खेल हुनेछन् भने शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पदाधिकारीका लागि बिमाको व्यवस्था गरिएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार प्रतियोगिताका विजेता महिला र पुरुष दुवै टोलीले तीन लाख, उपविजेता टोलीले एक लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार तथा चौथो हुनेले ३७ हजार ५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् । 

लिग सञ्चालन गर्न २८ लाख खर्च हुने संघले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने यसअघि नै सम्झौता भइसकेको छ । प्रतियोगितमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब बुटबल र बुलबुले क्लब रारा तथा महिलातर्फ एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकूद परिषद्ले सहभागिता जनाउने संघले जनाएको छ ।

सम्बन्धित खबरहरु