Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

न्युज कारोबार काठमाडौं फागुन २०, २०७७       

महासंघका अध्यक्ष गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा-जाभिए लेजेबीच भेटवार्ता भएको छ । बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको हो ।

भेटवार्तामा आगामी जुन महिनाअघि नेपाल फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको महासंघको सचिवालयले जनाएको छ ।

राजदूत लेजेलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे । उनले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराए । उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत् नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए । निजी क्षेत्रको सम्पर्क विस्तार गर्न दुवै देशको कुटनीतिक सहयोग महत्वपूर्ण हुने उनले बताए ।

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताए । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्च स्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गरे । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउँदै नेपाल फ्रान्स विजनेस फोरम बैठकलाई परिणाममुखी बनाउने दृढतासमेत राजदूत लेजेले व्यक्त गरे ।

सम्बन्धित खबरहरु