गृहपृष्ठ ओलीलाई दलको नेताबाट हटाएकोबारे दाहाल-नेपाल पक्षद्वारा संसद सचिवालयलाई जानकारी
ओलीलाई दलको नेताबाट हटाएकोबारे दाहाल-नेपाल पक्षद्वारा संसद सचिवालयलाई जानकारी
नेकपाको दाहाल-नेपाल पक्षले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ । बिहीबार दाहाल-नेपाल पक्षका नेताहरूले सिंहदरबारस्थित संघीय संसदको सचिवालयमा पुगेर ओलीलाई कारबाही गरिएकोबारे जानकारी गराएका हुन् ।
संसदीय दलको नेतालाई कारबाही गरिएको र पार्टीको साधारण सदस्यबाटसमेत निस्काशन गरिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको प्रमुख सचेतक देव गुरूङले बताए । फागुन २३ गते संसद बैठक आह्वान भएकाले त्यसअघि नै पार्टीले गरेको कारबाहीबारे जानकारी दिन संसद सचिवालयका महासचिव भरतराज गौतमसँग भेट गरेको गुरूङको भनाइ छ ।
बुधबार बसेको दाहाल-नेपाल पक्षको ओलीलाई केन्द्रीय कमिटी बैठकले ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको छ भने उपनेता सुबास नेम्वाङ, सचेतक शान्ता चौधरी, ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद महेश बस्नेत लगायतलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ ।
त्यसैगरी, उपनेता सुबास नेम्वाङलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । दाहाल नेपाल समूहले आफ्नोतर्फबाट पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । प्रमुख सचेतक गुरुङ, नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र सांसद जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका थिए ।
प्रकाशित समय : २३:५० बजे