Nepalese Flag २०७८ असोज ३ गते आइतबार   |   September 19, 2021

कांग्रेसको नियति

न्युज कारोबार काठमाडौं फागुन २०, २०७७       

कांग्रेसको नियति

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकछत्र राज गर्न नसकेपछि हठात् प्रतिनिधिसभा भंग गरेर राजनीतिक अस्थिरताको विजारोपण गरेको अढाइ महिना पूरा भएको छ । यसबीचमा प्रधानमन्त्रीका असंवैधानिक कदमका विरुद्ध देश एकजुट भयो । ठूल्ठूला विरोध सभा आयोजना गरिए । प्रधानमन्त्री स्वयं आफ्नो गलत कदमको पक्षमा पनि जनता रहेको देखाउन शक्ति प्रदर्शनमा उत्रिए । पार्टी दुई चिरा भयो । नेताहरू तीव्र गालीगलोजमा उत्रिए । करिब दुई महिना देश तीव्र राजनीतिक अन्योलमा अल्झियो ।

संसद विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दायर भए । अदालतमा पक्ष‑विपक्षमा बहस चलिरहँदा सत्तारुढ दलकै नेताहरू सडकबाट आफ्ना पक्षमा फैसला हुने नारा लगाइरहेका थिए । लामो अन्योललाई चिर्ने गरी जब फागुन ११ गते सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्‍यो, सडक राजनीति एकैपटक सुनसान भयो । नेताहरु कोठे भाषणमा सीमित भए । यति ठूलो राजनीतिक हारका बावजुत प्रधानमन्त्री ओलीले कुर्सी नछाड्ने भएपछि राजनीतिक परिदृश्य सोचेभन्दा भिन्न देखिएको छ ।

यसबीचमा कांग्रेसका गतिविधि भन्ने चर्चा गर्न लायक छन् । संसद विघटन भएकै दिन पुस ५ गते कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्यो । तर, आन्दोलनका लागि तयार भएन । बरु संवैधानिक परिषदहरूमा असंवैधानिक नियुक्तिका लागि सभापति शेरबहादुर देउवाले आफ्ना मान्छे पठाएर ओलीलाई साथ दिए । चौतर्फी दबाब बढेपछि कांग्रेसले आन्दोलन गर्ने निर्णय लियो तर देउवा खेमाका नेता सहभागी विरोध सभाहरू चुनावी सभामा परिणत भए । नेपाल कम्युनिस्ट पार्टी नेकपा जुटेर आफूहरूले हारेको निष्कर्षमा तीन वर्ष बिताएको कांग्रेसले नेकपा फुटेको मौकामा चुनाव चित्ने अभीष्ट पालेर बस्यो ।

राजनीतिमा भित्रभित्र के पाकिरहेको हुन्छ, त्यो सम्बन्धित पार्टीकै पनि केही नेताहरूलाई मात्र थाहा हुने कुरा जगजाहेर छ । तर, अहिले कांग्रेसका केही नेताहरू सडकमै खड्कुलो राखेर खिचडी उमालिरहेका छन् । अहिले कांग्रेसलाई कसरी हुन्छ, नेकपा विधिवत् रुपमा फुटाउनु छ र आगामी चुनावमा जित सुनिश्चित गर्नु छ । दुई दिनयता नेताहरू खुलेर भनिरहेका छन्‑ सरकारमा गएर हुन्छ कि नगएरै हुन्छ, नेकपा विधिवत् फुटाउनु नै कांग्रेसको ध्येय हो । बुधबार महामन्त्री डा. शशांक कोइरालाले चितवनदेखि काठमाडौँसम्म भनिरहे‑ नेकपालाई विभाजन गराउने हो भने कांग्रेस सरकारमा जानुपर्छ ।

यसको अर्थ, कांग्रेस नेताहरू अहिले राजनीति गरिरहेका छैनन् । २०७४ सालको निर्वाचनमा पराजय भएपछि बसेका हरेक बैठकमा कांग्रेसले नेकपाको एकताकै विषयमा तनाव लिइरह्यो । आफ्ना हारका अरु कारण खोज्नतिरै लागेन । नेकपाले राजनीतिक स्थिरताको बलियो चुनावी एजेन्डा अघि सारिरहँदा कांग्रेस एजेन्डाविहीन थियो । दुई ठूला कम्युनिस्ट पार्टी मिलेपछि यसै कमजोर बनेको कांग्रेस प्रतिरक्षात्मक बनिरह्यो । तर, नेताहरू कहिल्यै आत्मसमीक्षा गर्नतिर लागेनन् न त बलियो राजनीतिक एजेन्डा तयार गर्नमा केन्द्रित भए । संसदमा पनि कांग्रेसको उपस्थिति निकै कमजोर देखियो । प्रमुख प्रतिपक्षीको भूमिका नै देखिएन । अर्थात्, तीन वर्ष कांग्रेस हरायो ।

ओली नेतृत्वको नेकपा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा होस् या भ्रष्टाचारका ठूल्ठूला काण्डहरू बाहिरिँदा, कांग्रेस कुनै बेला पनि बलियो ढंगले उपस्थिति हुन सकेन । सत्तारुढ दलकै कुनै खेमाले प्रतिपक्षी भूमिका निभाइरह्यो । यसबीचमा पार्टीका गतिविधि बढाउनमा पनि कांग्रेस चुक्यो । भ्रातृ संगठनहरूको अधिवेशन हुन सकेन । पार्टीकै अधिवेशन विधानभन्दा बाहिर गइसकेको छ । संविधानतः भदौमा महाधिवेशन गर्नैपर्ने दबाबमा कांग्रेस छ यतिबेला । पार्टी आन्तरिक द्वन्द्वको सिकार बनिरहेको छ । सभापति देउवा आफ्नै ढंगले चलेका छन् । देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी अप्रजातान्त्रिक ढंगले चलिरहेको छ । पार्टीभित्र अराजनीतिक गतिविधिको सिकार बनेको कांग्रेसले देशलाई राजनीतिक निकास दिने सक्रियतासमेत देखाउन सकेको छैन । बरु देउवा 'कसैले दिए प्रधानमन्त्री बन्ने' भाषण गर्दै हिँडेका छन् ।

अहिले देश एउटा प्रतिगमनकारी र सर्वसत्तावादी सोचको शासकको चंगुलमा फसेको छ । यसबेला कांग्रेसको दायित्व सही निर्णय लिएर देशलाई राजनीतिक दिशा दिनुपर्ने हो तर दरिद्र राजनीतिक चिन्तनबाट जकडिएका नेताहरू आफूलाई अब्बल सावित गरेर होइन, अरुलाई कमजोर बनाएर राज गर्न उद्यत् छन् । नेताहरूकै भनाइ सापटी लिने हो भने नेकपा त जुट्दैन तर कांग्रेस यस्तै नियतले अघि बढ्ला त ! कांग्रेसभित्र उठिरहेको 'युवा विचारको नेतृत्व' यही दलदलबाट जन्मिएला त ! कांग्रेसले देशलाई अहिलेको अफ्ठ्यारोबाट निकाल्ला त ! आशंका बढेको छ ।

सम्बन्धित खबरहरु