गृहपृष्ठ सामाजिक सुरक्षा कोष र १०३ अस्पतालबीच सम्झौता
सामाजिक सुरक्षा कोष र १०३ अस्पतालबीच सम्झौता
सामाजिक सुरक्षा कोषले देशभरका १०३ अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताको उपचारमा सहज होस् भन्ने उद्देश्यले कोषले देशका सातै प्रदेशका अस्पतालसँग सम्झौता गरेको हो ।
सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ अनुसार तिरिदिने गरेको छ । हाल कोषले लाभग्राहीलाई उपलब्ध कागजातका आधारमा सोधभर्ना गर्दै आएको छ । वैशाखदेखि भने कोषले सिधै अस्पतालमै उपचार खर्च भुक्तानी गरिदिनेछ ।
कोषले स्वास्थ्य संस्थालाई उपलब्ध गराउने सफ्टवेयर जर्मन सहयोग नियोग (जीआईजेड)को सहयोगमा निर्माण भई परीक्षणका क्रममा छ । सम्झौता भएका सबै अस्पतालले वैशाख १ देखि सफ्टवेयर पाएसँगै लाभग्राहीले उपचारका क्रममा लागेको खर्च कोषले सिधै भुक्तानी गरिदिने कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।
फागुन दोस्रो सातासम्म कोषले १०३ अस्पतालसँग सम्झौता गरेको हो । कोषले कर्मचारी पठाएर देशभरका अस्पतालसँग निरन्तर सम्झौता गरिरहेको छ । हालसम्म कोषले प्रदेश १ का २०, प्रदेश २ का १४, बागमती प्रदेशका २०, गण्डकीका ८, लुम्बिनीका १४, कर्णालीका १० र सुदूरपश्चिमका १७ अस्पतालसँग सम्झौता गरेको छ । फागुन दोस्रो सातामात्रै काठमाडौँको वीर अस्पतालसहित सुदूरपश्चिमका नौ अस्पतालसँग सम्झौता भएको छ ।
कोषले सञ्चालन गरेका योजनामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना एवं दुर्घटना र अशक्तता सुरक्षा योजनाका लाभग्राही योगदानकर्ताले सम्झौता भएका अस्पतालबाट सिधै उपचार सुविधा पाउनेछन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले ८० प्रतिशतसम्म उपचार खर्च पाउने र दोस्रो योजनाका लागि सम्पूर्ण उपचार खर्च पाउने व्यवस्था छ । त्यस्तै अशक्तता सुरक्षा योजनाका लाभग्राहीले सम्पूर्ण उपचार खर्च पाउँछन् ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लाभग्राहीले वार्षिक (आर्थिक वर्ष) एक लाखसम्मको उपचार गर्नुपरेमा कोषले अस्पताललाई सिधै ८० प्रतिशत रकम भुक्तानी गरिदिनेछ भने बाँकी २० प्रतिशतमात्र योगदानकर्ता लाभग्राहीले तिर्नुपर्नेछ । कोषमा लगातार कम्तीमा तीन महिना रकम जम्मा गर्ने योगदानकर्ताले यो सुविधा पाउनेछन् ।
कुन‑कुन अवस्थामा पाइन्छ ?
(क) चिकित्सकको परामर्श सेवा,
(ख) अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क,
(ग) रोगको परीक्षण तथा उपचारबापतको खर्च,
(घ) औषधिको बिलबमोजिमको खर्च,
(ङ) पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भई प्रसुतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च र तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च,
(च) अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत–जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको घरमै गई प्रदान गरेको परामर्श सेवाबापतको शुल्क ।
दुर्घटना र अशक्तता सुरक्षा योजना
योगदानकर्ता दुर्घटनामा परेर उपचार गर्नुपरेमा कोषले सम्पूर्ण खर्च व्यहोर्नेछ । यसरी व्यहोरिने खर्च पनि कोषसँग सम्झौता भएका अस्पतालले सिधै पाउनेछन् । योगदानकर्ताले अस्पतालमा उपचार गर्दा पैसा बोक्नु नपर्ने कोषले जनाएको छ ।
कस्तो अवस्थामा पाइन्छ ?
योगदानकर्ताले रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च पाउनेछन् । रोजगारीजन्य दुर्घटनामा परी उपचार गराउँदा सम्बन्धित रोजगारदाता वा योगदानकर्ता वा निजको परिवारको सदस्यले सात दिनभित्र कोषलाई जानकारी गराउनुपर्छ । कोषले उपलब्ध गराएको प्रणाली वा फोन नम्बर वा ईमेल ठेगानामा सामाजिक सुरक्षा नम्बर उल्लेख गरी म्यासेज वा इमेलबाट पनि जानकारी गराउन सकिने व्यवस्था छ ।
कोषलाई जानकारी नगराई कोषसँग सम्झौता भएको अस्पतालबाहेक अन्य अस्पतालमा रोजगारीजन्य दुर्घटनामा उपचार गराएको अवस्थामा भने सात लाख रुपैयाँसम्मको उपचारमात्र प्राप्त हुने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । उनका अनुसार रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा पनि कोषले सात लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ ।
रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम काममा नफर्कंदासम्म मासिक रुपमा पाउने कोषले जनाएको छ ।
रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकमलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत कोषले मासिक रुपमा रकम प्रदान गर्नेछ ।
त्यस्तै रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिक रुपमा जीवित रहुन्जेल योगदानकर्तालाई उपलब्ध हुनेछ । योगदानकर्ता आफैं हिँड्डुल गर्न नसकेमा हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई रकम भुक्तानी हुनेछ ।
हेरचाह गर्ने व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिसमा गरिने कोषले जनाएको छ ।
कोषसँग सम्झौता भएका अस्पताल
प्रदेश १
१. विजयपुर हस्पिटल प्रालि, धरान, सुनसरी
२. न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, विराटनगर, मोरङ
३. मोरङ सहकारी अस्पताल, विराटनगर
४. कनकाई हस्पिटल प्रालि, बिर्तामोड, झापा
५. अञ्जली हस्पिटल प्रालि, बिर्तामोड
६. दमक हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, दमक, झापा
७. एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, दमक
८. लाइफ लाइन अस्पताल प्रालि, दमक
९. सप्तकोशी अस्पताल प्रालि, विराटनगर
१०. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल प्रालि, टंकीसुनुवारी, सुनसरी
११. पशुपति मोडेल हस्पिटल प्रालि, इटहरी
१२. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिर्तामोड
१३. हाम्रो अस्पताल प्रालि, विराटनगर
१४. आम्दा अस्पताल, दमक
१५. आम्दा मेची अस्पताल, झापा
१६. नोवेल हस्पिटल, विराटनगर
१७. पथरी हस्पिटल प्रालि, पथरी शनिश्चरे, मोरङ
१८. मेची अस्पताल, भद्रपुर
१९. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, विराटनगर
२०. अरनिको हस्पिटल, उर्लाबारी
प्रदेश २
१. नेसनल मेडिकल कलेज प्रालि, वीरगन्ज
२. नारायणी अस्पताल, वीरगन्ज
३. वीरगन्ज हेल्थ केयर अस्पताल, वीरगन्ज
४. कलैया अस्पताल, कलैया, बारा
५. नमुना सामुदायिक अस्पताल, सर्लाही
६. जलेश्वर अस्पताल, जलेश्वर, महोत्तरी
७. जानकी मेडिकल कलेज शिक्षण अस्पताल, जनकपुर
८. सिराहा अस्पताल, सिरहा
९. लहान अस्पताल, लहान
१०. गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज
११. लालगढ मोडल हस्पिटल प्रालि, मिथिला
१२. गढीमाई हस्पिटल प्रालि, लालबन्दी, सर्लाही
१३. गोदावरी मोर्डन हस्पिटल प्रालि, जनकपुर
१४. नेपाल लेप्रोसी ट्रस्ट लालगढ (कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र), मिथिला, धनुषा
बागमती प्रदेश
१. शंकरापुर अस्पताल प्रालि, गोकर्णेश्वर, काठमाडौँ
२. त्रि.वि. शिक्षण अस्पताल (टिचिङ अस्पताल), काठमाडौँ
३. हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, चाबहिल
४. वीर अस्पताल, काठमाडौँ
५. कलेज अफ मेडिकल साइन्सेस, चितवन
६. भरतपुर अस्पताल, चितवन
७. सिन्धु सदावहार अस्पताल, सिन्धुपाल्चोक
८. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौँ
९. ओम अस्पताल, चाबहिल
१०. मकवानपुर सहकारी अस्पताल, हेटौँडा
११. चुरेहिल हस्पिटल प्रालि, थानाभर्याङ, हेटौँडा
१२. शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी, काठमाडौँ
१३. भक्तपुर अस्पताल, भक्तपुर
१४. रसुवा अस्पताल, धुन्चे
१५. त्रिशूली अस्पताल, विदुर, नुवाकोट
१६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ
१७. नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी
१८. एस.जी. आई केयर एन्ड हेल्थ सर्भिस, नयाँ बानेश्वर
१९. तिलगंगा आँखा प्रतिष्ठान, गौशाला
२०. दीर्घायु गुरु अस्पताल, चाबहिल
गण्डकी प्रदेश
१. जिल्ला अस्पताल स्याङ्जा, पुतलीबजार
२. फेवासिटी अस्पताल प्रालि, पोखरा
३. पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा
४. चरक मेमोरियल अस्पताल, पोखरा
५. कास्की मोडेल हस्पिटल प्रालि, पोखरा
६. तनहुँ सेवा हस्पिटल प्रालि, तनहुँ
७. मणिपाल टिचिङ हस्पिटल, पोखरा
८. ग्रिन पास्चर अस्पताल, पोखरा
लुम्बिनी प्रदेश
१. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल , कोहलपुर, बाँके
२. भेरी अस्पताल, कोहलपुर
३. सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा), रुपन्देही
४. गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटबल
५. चौराहा हस्पिटल प्रालि, बुटबल
६. लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल
७. कपिलवस्तु सामुदायिक अस्पताल, वाणगंगा
८. लमही सामुदायिक डायलासिस सेन्टर, लमही, दाङ
९. केयर एन्ड क्योर हस्पिटल प्रालि, जितपुर, कपिलवस्तु
१०. भीम अस्पताल, सिद्दार्थनगर, भैरहवा
११. लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालि, बुटबल, रुपन्देही
१२. पाल्पा अस्पताल, तानसेन, पाल्पा
१३. गुल्मी जिल्ला अस्पताल, रेसुङ्गा, गुल्मी
१४. रेसुङ्गा हस्पिटल प्रालि, रेसुङ्गा, गुल्मी
कर्णाली प्रदेश
१. स्वास्थ्य सेवा कार्यालय, नारायण नगरपालिका, दैलेख
२. सुर्खेत हस्पिटल प्रालि, वीरेन्द्रनगर, सुर्खेत
३. शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल प्रालि, वीरेन्द्रनगर
४. नेपाल रेडक्रस सोसाइटी सुर्खेत अस्पताल, वीरेन्द्रनगर
५. गुरुङ नर्सिङ होम प्रालि, वीरेन्द्रनगर
६. सुलभ सिटी पोलिक्लिनिक, वीरेन्द्रनगर
७. दैलेख पोलिक्लिनिक प्रालि, नारायण नगरपालिका
८. भवानी पोलिक्लिनिक तथा बाल उपचार केन्द्र, वीरेन्द्रनगर
९. प्रदेश अस्पताल सुर्खेत, वीरेन्द्रनगर
१०. देउती अस्पताल, वीरेन्द्रनगर
सुदूरपश्चिम प्रदेश
१. टीकापुर अस्पताल, टीकापुर, कैलाली
२. लालरत्न अस्पताल प्रालि, लम्कीचुहा, कैलाली
३. सेती प्रादेशिक अस्पताल, धनगढी
४. नवजीवन अस्पताल प्रालि, धनगढी
५. निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, धनगढी
६. घोडाघोडी अस्पताल प्रालि, कैलाली
७. महाकाली अस्पताल, भीमदत्त, कञ्चनपुर
८. डडेल्धुरा अस्पताल, अमरगढी, डडेलधुरा
९. कैलाली हस्पिटल प्रालि, धनगढी
१०. सि. पी. हस्पिटल प्रालि, धनगढी
११. के. जी. हस्पिटल प्रालि, कैलाली
१२. नोभा हस्पिटल प्रालि, धनगढी
१३. माया मेट्रो हस्पिटल प्रालि, धनगढी
१४. पद्मा अस्पताल, अत्तरिया, कैलाली
१५. न्यु सिटी पोलिक्लिनिक, धनगढी
१६. साथी अस्पताल एन्ड रिर्सच सेन्टर, टीकापुर, कैलाली
१७. बयलपाटा अस्पताल, बयलपाटा, अछाम
कोषमा आबद्धता
कोषमा सोमबारसम्म सातै प्रदेशका १३ हजार ३१२ रोजगारदाता र १ लाख ९० हजार ७१७ योगदानकर्ता आबद्ध भइसकेका छन् । हालसम्म कोषमा ४ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
कोषबाट हालसम्म २ हजार १७२ जनाले ३ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी भुक्तानी संख्या १ हजार ६८७ पुगेको छ । त्यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा दाबी भुक्तानी संख्या ९५, आश्रित परिवार सुरक्षा दाबी भुक्तानी संख्या २८९ र उपादान दाबी भुक्तानी संख्या १०१ रहेको कोषले जनाएको छ ।
(अद्यावधिक गरिएको समाचार)
प्रकाशित समय : १८:२५ बजे