गृहपृष्ठ २०७८ सालमा तीन दसैँ
२०७८ सालमा तीन दसैँ
२०७८ सालमा तीन दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको छ । वैशाख ७ गते मगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चांग) मा उल्लेख छ । यसैगरी २०७८ सालको चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।
असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मगलबारदेखि सुरु हुनेछ । दसैँ र तिहारलाई नेपालमा विशेष रूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष २०७७ असोजमा मलमास (अधिकमास) परेकाले २०७८ सालमा तीन वटा दसैँ परेको उनले जानकारी दिए । (रासस)
प्रकाशित समय : १८:२३ बजे