Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

लगानीकर्ताको डिम्याट अकाउन्ट जथाभावी बाँड्न सीडीएससीले लगायो रोक

आईपीओको नतिजा अब ‘मेरो सेयर, बिक्री प्रबन्धक र निष्कासन गर्ने कम्पनीको वेबसाइट’मा मात्रै राख्न पाइने

न्युज कारोबार काठमाडौं फागुन १३, २०७७       

लगानीकर्ताको डिम्याट अकाउन्ट जथाभावी बाँड्न सीडीएससीले लगायो रोक

सीडीएस एन्ड क्लियरिङले सेयर लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै अनलाइन सञ्चारमाध्यमलाई लगानीकर्ताको डिम्याट अकाउन्ट बाँड्न रोक लगाएको छ । सीडीएससीले एक सर्कुलर जारी गरी आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा निजी अनलाइन पोर्टललाई नपठाउन निर्देशन दिएको छ ।

सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले लगानीकर्ताको व्यक्तिगत विवरणको गोपनीयतालाई ध्यानमा राख्दै अबदेखि आधिकारिक निकायको वेबसाइटमा मात्रै आईपीओ नतिजा राखिने जानकारी दिए । अब सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, बिक्री प्रबन्धकको वेबसाइट र धितोपत्र निष्कासन गर्ने कम्पनीको वेबसाइटबाट मात्रै आईपीओको नतिजा हेर्न सकिनेछ । सीडीएससीले सबै बिक्री प्रबन्धकलाई यससम्बन्धी निर्देशन दिइसकेको छ । फागुन १४ गते बाँडफाँड हुने महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागू हुने आचार्यले जानकारी दिए ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्थाअनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको सीडीएससीले जनाएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ ले सेयर लगानीकर्ताका खाता नम्बर वितरण गर्न वर्जित गरेको छ । विनियमावलीको बुँदा ४७ मा भनिएको छ, ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।'

अब कुनै पनि बिक्री प्रबन्धकले खाता नम्बर बाँडेमा गोपनीयताअनुसारको कारबाही हुने आचार्यले जानकारी दिए । यस अघिसम्म धितोपत्र बोर्डले लगानीकर्ताका नम्बर बाँड्न अनुमति दिइरहेको थियो । अनलाइन सञ्चारमाध्यमको दबाबमा बिक्री प्रबन्धकहरूले सूचनाको हक भन्दै लगानीकर्ताका गोप्य विवरण पेनड्राइभमा हालेर दिने गरेका थिए । 

सीडीएससीले नियामक धितोपत्र बोर्डमा पनि यसबारे जानकारी गराइसकेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

सूचनाको हक भन्दै सेयर लगानीकर्ताका गोप्य विवरण माग्दै

 

सम्बन्धित खबरहरु