Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

वादी समुदायको गुनासो- राजादेखि रजौटासम्मलाई खुसी पार्‍यौँ, हामीलाई कसैले खुसी पारेनन्

सीता वली वीरेन्द्रनगर फागुन १३, २०७७       

वादी समुदायको गुनासो- राजादेखि रजौटासम्मलाई खुसी पार्‍यौँ, हामीलाई कसैले खुसी पारेनन्

खेतीयोग्य जमिनको माग गर्दै दैलेख र सुर्खेतका वादी समुदाय आन्दोलनमा होमिएका छन् । दुई जिल्लाका करिब ६ सय जना उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअगाडि धर्नामा बसेका छन् । सरकारले सदियौंदेखि वादी समुदायलाई उपेक्षा गरेको भन्दै उनीहरु माग पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलनबाट पछि नहट्ने अडानमा छन् । 

वादी उत्थान विकास समितिका पूर्व केन्द्रीय सदस्य हिक्मत वादीको नेतृत्वमा दैलेखका ४ सय १० जना र सुर्खेतका करिब दुईसय जना आन्दोलनमा सहभागी छन् । ‘वादी समुदाय पुर्खौंदेखि मागेर खाने, मादल, शुल्पा बनाउने र नाचगान गरेर खाने जाति हुन्,’ सदस्य वादीले भने, ‘तर, अहिले प्रविधिको विकासँगै परम्परागत पेशा सम्भव नभएकाले खेतीयोग्य जमिनको माग गर्नुपरेको हो ।’

कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको एकीकृत बस्ती विकास कार्यक्रममा वादी समुदायलाई पनि समेट्नु पर्ने उनको माग छ । सयौंको संख्यामा रहेका वादी समुदायका नागरिकहरुलाई आफ्नै बारीमा अन्न फलाएर खाने इच्छा भएको उनले सुनाए । सरकारले वादी समुदायलाई सधैँ हेलाको दृष्टिले हेरेकाले अब भने कुनै पनि हालतमा माग पूरा नभएसम्म आन्दोलनको बिट नमार्ने अडानमा आफूहरु रहेको उनले बताए । 

अहिलेको आन्दोलन कुनै पनि राजनीतिक दलको आग्रह वा पूर्वाग्रहबाट प्रेरित नभएको उनले स्पष्ट पारे । रहरले नभई बाध्यताले आन्दोलनमा आउनु परेको उनले बताए । चार दिनदेखि लगातार आन्दोलनमा होमिएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए । ‘वादी शब्द नै कलंकित बनेको छ । मागेर खाने भएकै कारण यो शब्द कलंकित भएको हो । हामी यो कलंकबाट पनि मुक्ति चाहन्छौं,’ उनले भने । सार्थक निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने उनले बताए ।

आन्दोलनमा सहभागी वीरेन्द्रनगर- ११, सुर्खेतकी तारा वादीले सरकारले आफूहरुको गाँससमेत खोसेको आरोप लगाइन् । बालुवा र गिट्टी निकाल्न टेण्डर लगाउन थालेपछि आफूहरुको रोजीरोटी खोसिएको उनले गुनासो सुनाइन् । ‘बालुवाको भरमा बाँचेका थियौं । तर, अहिले हाम्रो खाने भाग सरकारले खोसेको छ । अब हामीलाई खेतीपाती गरिखाने जमिन उपलब्ध गराउनुपर्छ,’ उनले माग सुनाइन् । सदियौंदेखि वादी समुदायलाई राज्यले अपहेलना गर्दै आएको उनको गुनासो छ ।

आन्दोलनमा सहभागी चामुण्डा बिन्द्रासैनी नगरपालिका, दैलेखकी ७० वर्षीय खगिसरा वादीले एकपटक आफ्नै जमिनमा खेती गरेर मर्ने धोको भएको बताइन् । ‘हामी नाचेरै राजा–रजौटालाई खुसी पार्दै आयौं,’ उनले भनिन्, ‘तर हामीलाई खुसी पार्न कसैले सकेनन् ।’ उनले आफ्नो १५ जनाको परिवारको कुनै पनि आयस्रोत नभएको बताइन् । माग पूरा नभए जुनसुकै अवस्थामा पनि आन्दोलनबाट पछि नहट्ने उनले उनले दृढता व्यक्त गरिन् ।

आन्दोलनमा बालबालिका, सुत्केरी, गर्भवती, अपांगता भएका तथा वृद्ध-वृद्धा सबै सहभागी छन् । खेतीयोग्य जमिनको माग गर्दै उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि खुला आकाशमुनि बसिरहेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले प्रदेशलाई भूमिसम्बन्धी कुनै अधिकार नभएको बताउँछन् । भूमिसम्बन्धी केही काम गर्नु परे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत केन्द्रमा पठाउनुपर्ने उनले बताए । आन्दोलनको विषयमा जानकारी भए पनि अधिकार नहुँदा सरकारले मुखदर्शक बन्नुपरेको उनको भनाइ छ ।

सम्बन्धित खबरहरु