गृहपृष्ठ आईपीओ जारी गर्ने तरखरमा ज्योति लाइफ, यस्ता छन् वित्तीय सूचक
आईपीओ जारी गर्ने तरखरमा ज्योति लाइफ, यस्ता छन् वित्तीय सूचक
ज्योति लाइफ इन्स्योरेन्स नेपालको जीवन बिमा जगतमा २०७४ साल भदौ १९ गतेदेखि औपचारिक रुपमा उदाएको कम्पनी हो । बिमाको पहुँच विस्तार गर्ने, बिमा साक्षरता बढाउने र जीवन बिमाप्रति आम जनमानसमा सकारात्मकता ल्याउने उद्देश्यले स्थापित कम्पनीले स्थापना कालदेखि नै प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौँको ज्ञानेश्वर स्थित पशुपति रोड शान्ता प्लाजामा प्रधान कार्यालय रहेको यो कम्पनी छोटो अवधिमै जीवन बिमा क्षेत्रमा लोभलाग्दो व्यावसायिक उचाइ कायम गर्दै गएको छ । कम्पनीका वित्तीय सूचकले लगातार उकालो ग्राफ बनाइरहेको हरेक त्रैमासका प्रतिवेदनले स्पष्ट गर्छन् ।
चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको ज्योति लाइफको जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३३ करोड ४६ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषको आकार ४४.१७ प्रतिशतले बढेको हो ।
जीवन बिमा कोष
चालू आर्थिक वर्षको पुससम्ममा कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बिमा कोषमा १ अर्ब २० करोड ८१ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोष १ अर्ब ७० करोड ९८ लाख रुपैयाँले बढेको हो ।
कुल बिमा शुल्क
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ६३ करोड ७३ लाख रूपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ३९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन १२५.७८ प्रतिशतले धेरै हो ।
खुद बिमा शुल्क
चालू आवको ६ महिनामा ज्योति लाइफले १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको भन्दा यो बिमा शुल्क ९२.५४ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
खुद नाफा
चालू आवको पुससम्ममा ज्योति लाइफ इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा खुद नाफा ५६.४६ प्रतिशतले बढेको हो ।
दाबी भुक्तानी
चालू आवको ६ महिनासम्ममा कम्पनीले ३ करोड १ लाख ४७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४६ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । यो अवधिमा कम्पनीले सबै १०४ वटा दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
जारी बिमालेख
चालू आवको पुससम्ममा कम्पनीले ७४ हजार ७०३ वटा बिमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३६ हजार ६६३ वटा बिमालेख जारी गरेको थियो ।
अन्य सूचक
चालू आवको पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८ रुपैयाँ ९५ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।
हाल संस्थापक सेयरधनीको १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । सर्वसाधारण सेयर जारी भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
चुस्त व्यवस्थापकीय क्षमता भएका प्रकाशविक्रम खत्री कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । बेलायतको बार्कलिज बैँकमा काम गरेको अनुभव सम्हालेका उनी केही वर्ष लक्ष्मी बैँक र एनआईसी एसिया बैँकमा कार्यरत रहे । बिमा क्षेत्रमा खत्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीदेखि प्रवेश गरेका हुन् । ज्योति लाइफमा उनी २०७७ वैशाख २१ गतेदेखि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष नन्दकिशोर शर्मा हुन् भने सञ्चालकमा आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्तकुमार अग्रवाल छन् । पुस मसान्तसम्ममा कम्पनीले देशभर ११७ वटा शाखा कार्यालयमार्फत बिमा सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १६:३० बजे



















