Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमित मृतकको तथ्यांक, ६१८ थपिए

न्युज कारोबार काठमाडौं फागुन १२, २०७७       

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमित मृतकको तथ्यांक, ६१८ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारणा ज्यान गुमाउनेको संख्या सच्याएको छ । यसअघिको तथ्यांकमा ६१८ जना बढी संक्रमितको मृत्यु भएको पाइएपछि मन्त्रालयले विवरण सच्याएको हो । कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र मन्त्रालयको विवरण फरक परेपछि मन्त्रालय छानबिन समिति गठन गरेको थियो ।

मन्त्रालयको कोरोना अपडेट वेभसाइटमा बुधबार गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना उल्लेख छ । यो बुधबार मृत्यु भएका संक्रमितको संख्या नभएर अद्यावधिक गरिएको विवरण सहितको तथ्यांक भएको र गत २४ घण्टामा एक जना संक्रमितको मात्र मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबारको मृतक संख्या अपडेटमध्ये ६१८ जना स्वास्थ्य मन्त्रालयले यसअघि नै अद्यावधिक गर्न छुटाएको तथ्यांक भएको प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको तथ्यांकलाई आधार मानी विवरण सच्याइएको हो । ‘यो तथ्यांक घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो । नेपाली सेना र मन्त्रालयको तथ्यांक नमिलेपछि अहिले मिलाइएको हो,' उनले भने । सच्याइएको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।

सम्बन्धित खबरहरु