Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

कृषिप्रधान देशमा मासिक ४८ अर्ब रुपैयाँको खाद्यान्न आयात

भूमिराज पिठातोली काठमाडौं फागुन १०, २०७७       

कृषिप्रधान देशमा मासिक ४८ अर्ब रुपैयाँको खाद्यान्न आयात

नेपाल कृषि प्रधान देशको रुपमा परिचित छ । भौगालिक बनावटका कारण तराई क्षेत्रलाई खाद्यको भण्डार मानिन्छ । तर, नेपालमा मासिक अर्बौं रुपैयाँको खाद्यान्न आयात हुने गरेको छ ।

हरेक महिनामा खर्बौं मूल्य बराबरको वस्तु आयात हुने वस्तुभित्र पर्छ खाद्यान्न । नेपालमा प्रत्येक महिनामा ९ देखि ५० अर्ब रुपैयाँको हाराहारीमा विभिन्न मुलुकबाट खाद्यान्न आयात हुने गरेको सरकारी तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार गएको माघमा ८ खर्बभन्दा बढी मूल्यको विभिन्न वस्तुहरु आयात भएका छन् । चालू आर्थिक वर्षको आधा सकिँदा पनि आयातको दर बढ्दो क्रममै रहेको तथ्यांकले देखाउँछ ।

चालू आवको माघ महिनामा अहिलेसम्मकै सबैभन्दा बढी खाद्यान्न आयात भएको छ । माघमा मात्रै ४८ अर्ब ८७ करोड ५९ लाख ५२ हजार रुपैयाँको विभिन्न प्रकारका खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

आयातको तुलनामा खाद्यान्न निर्यात भने सयौं गुणा कम रहेको छ । माघमा नेपालबाट १० लाख ४० हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस तथ्यांकका आधारमा खाद्यान्न व्यापारमा नेपालको व्यापार घाटा एक महिनामै ४८ अर्ब ८७ करोड ४९ लाख १२ हजार रुपैयाँको रहेको देखिन्छ । नेपाली व्यवसायीले माघमा अनाज आयात गरेबापत सरकारलाई तीन अर्ब ५५ करोड ३० लाख २७ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ७ महिनामा नेपालबाट हुने माछा-मासु निर्यात भने शुन्य छ । यस अवधिमा नेपालले एक रुपैयाँ मूल्यको पनि माछा-मासु निर्यात गरेको देखिँदैन । चालू आवको पहिलो महिनामा ८८ लाख १४ हजार रुपैयाँको मासु आयात गर्दा निर्यात भने शून्य थियो । सात महिनापछि पनि निर्यातदर भन्ने शून्य नै छ । माघमा चार करोड १६ लाख ३४ हजार रुपैयाँको माछा-मासु आयात भएको विभागले जनाएको छ । व्यवसायीले माछा-मासु आयात शिर्षकमा माघभित्र एक करोड ७८ लाख ८१ हजार रुपैयाँ राजस्व तिरेका छन् ।

विभागको पछिल्लो तथ्यांकअनुसार तरकारीमा भने नेपाल निर्यातमा केही माथि उक्लेको देखिन्छ । नेपालले चालू आवको पहिलो महिना (साउन)मा ९१ लाख रुपैयाँको तरकारी आयात गरे पनि १६ करोड ३३ लाख ६७ हजार रुपैयाँको तरकारी निर्यात गरेको थियो । त्यस्तै पहिलो अर्धवार्षिक (पुस)मा पनि नेपालबाट तरकारी निर्यात बढेको थियो । पुसमा १४ करोड ८० लाख ७२ हजार रुपैयाँको आयात गर्दा झन्डै ११ गुणा बढी निर्यात भएको विभागको तथ्यांक छ । पुसमा नेपालबाट एक अर्ब १६ करोड ९ लाख ५६ हजार रुपैयाँको तरकार निर्यात भएकोे थियो । पुसको तुलनामा माघमा भने तरकारी आयात अझै कम देखिएको छ । माघमा १४ करोड ८० लाख ७२ हजार रुपैयाँको तरकारी आयात हुँदा एक अर्ब १६ करोड ९ लाख ५६ हजार रुपैयाँको तरकारी निर्यात भएको छ । विभागका अनुसार माघमा मात्रै नेपालले तरकारीमा एक अर्ब एक करोड २८ लाख ८४ हजार रुपैयाँ व्यापार नाफा गरेको छ ।

विभागको तथ्यांकअनुसार माघमा कुल ८ खर्ब ३६ अर्ब ४३ करोड १९ लाख दुई हजार रुपैयाँको विभिन्न वस्तु आयात भएको छ । ९७ प्रकारका विभिन्न वस्तुहरु आयात हुने नेपालमा ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको तथ्यांक छ । एकै महिनामा मात्रै नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ व्यापार घाटा व्योहोर्नु परेको छ । आयात गरिएका वस्तुहरुबाट दुई खर्ब २७ अर्ब २७ करोड ९५ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

बजारीकरण नहुँदा निर्यातमा कमी

भन्सार विभागले आयात बढ्नुमा कोरोना भाइरसको कारण देखाएको छ । विभागका प्रवक्ता तथा निर्देशक शिशिर घिमिरेले अघिल्लो महिनाहरुमा कोरोनाको प्रकोपका कारणले आयात बढेको बताए । उनका अनुसार यो महिना भने कोरोना महामारीको प्रभाव कम भएका कारण आयात बढेको हो ।

कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्षहरुमा पनि विभिन्न वस्तुहरुको आयातमा वृद्धि भइरहेको प्रवक्ता घिमिरेको भनाइ छ । उनले भने, ‘कोरोनाको बेलामा अघिल्लो वर्ष पनि यसै बेलामा कम आयात भएको थियो । अब बिस्तारै व्यापारमा सुधार हुँदै आएको छ ।’ उत्पादित कृषि वस्तुहरुको सजिलै बजारीकरण नहुँदा निर्यातमा कमी आएको उनले बताए ।

सम्बन्धित खबरहरु