गृहपृष्ठ मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टद्वारा पदबहाली
मनहरी गाउँपालिकाका उपाध्यक्ष विष्टद्वारा पदबहाली
उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आइतबार कार्यालय पुगेर पुनर्बहाली गरेकी छन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पुस १७ गते राजीनामालाई स्वीकृत गरेका थिए ।
उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनले हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशोध राखी अवैध रुपमा लेखिएको राजीनामालाई स्वीकृत गरी तत्काल उपाध्यक्ष पदको दैनिक कार्य सञ्चालन गर्ने अधिकारबाट वञ्चित गराएको बताइन् ।
उनले अवैध राजीनामालाई बदर गरी साविकबमोजिम उपाध्यक्ष पदमा कामकाज गर्न उच्च अदालत इजलास पाटन हेटौँडा उत्प्रेषणयुक्त परमादेश आदेश पाऊँ भनी पुस २८ गते निवेदनपत्र दर्ता गराएकी थिइन् । फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलासबाट मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टलाई साविकबमोजिमै पुनर्बहाली गर्न अदेश दिएको थियो ।
प्रकाशित समय : १२:४३ बजे