Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

तीन वर्षमा जम्मा आठ किलोमिटर सडक कालोपत्रे

सीता वली सुर्खेत फागुन ९, २०७७       

तीन वर्षमा जम्मा आठ किलोमिटर सडक कालोपत्रे

कर्णाली प्रदेश सरकारले आठ किलोमिटरमात्रै सडक कालोपत्रे गरेको छ । सरकारले तीन वर्षको अवधिमा जम्मा आठ किमी सडक कालोपत्रे गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार ३ सय मिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आव २०७६/७७ मा ७ सय किमी सडक कालोपत्रे भएको र आj २०७७/७८ को पुससम्ममा पाँच किमी सडक कालोपत्रे भएको छ । चालू आवभरिमा ३१ किमी सडक कालोपत्रे गर्ने मन्त्रालयको लक्ष्य छ ।

प्रदेशका सुर्खेतबाहेकका जिल्लामा भने ग्राबेल र नयाँ ट्रयाक तथा सडक चौडाको काम भइरहेको मन्त्रालयका इन्जिनियर विशेष शर्माले जानकारी दिए । उनका अनुसार तीन आर्थिक वर्षमा विभिन्न जिल्लामा १६८ किमी सडक ग्राबेल भएको छ । आव २०७५/७६ मा दुई हजार ७ सय मिटर, गत वर्ष १४६.३ किमी र चालू आवको पुससम्ममा १९ किमी सडक ग्राबेल गरिएको शर्माले बताए । चालू आवभरमा १२२.७ किमी सडक कालोपत्रे गर्ने मन्त्रालयको योजना छ ।

तीन वर्षको अवधिमा मन्त्रालयले ७८७.७ किमी सडक नयाँ ट्रयाक तथा चौडा गरेको छ । अघिल्लो वर्ष ६५.५ किमी, गत वर्ष ४७५.८ किमी र चालू आवको पुससम्ममा २४६.४ किमी सडकको नयाँ ट्रयाक तथा चौडा गरिएको छ ।

सुर्खेतमा ६५ किमी, दैलेखमा २४.५ किमी, जाजरकोटमा ३५ किमी, रुकुम पश्चिममा ५०.२ किमी, सल्यानमा २४ किमी काम सडक चौडा भएको छ । त्यस्तै कालिकोटमा १५ किमी, हुम्लामा १६ किमी, मुगुमा ७.५ किमी, जुम्लामा ५ किमी र डोल्पामा ४.२ किमी सडकको नयाँ  ट्रयाक खोल्ने तथा सडक चौडा गर्ने काम भएको शर्माले बताए ।

सडक कालोपत्रे आठ किमी पनि धेरै हो,’ उनले भने, ‘यो संवेदनशील काम हो, जतिखेर पायो त्यति खेर सडक कालोपत्रे गर्न मिल्दैन ।’ उनले कर्णाली प्रदेशका अधिकांश जिल्लामा सडकको नयाँ  ट्रयाक खोल्ने तथा चौडा गर्ने काम र ग्राबेल गर्ने काम भएकाले कालेपत्रेको काम अगाडि नबढेको बताए । आर्थिक वर्ष २०७७/७८ भरमा मन्त्रालयले ३१ किमी सडक कालोपत्रे गर्ने लक्ष्य लिएको र त्यसलाई पूरा गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।

भौतिक पूवार्धार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक कालोपत्रेमात्रै आफूहरुको प्राथमिकता नभएको बताए । ‘कर्णालीका केही जिल्लामा नयाँ ट्रयाकसमेत खोलिएको छैन,’ उनले भने, ‘यो चरणमा नयाँ ट्रयाक तथा चौडा र ग्राबेलको काम भइरहेको छ ।’

कर्णालीका सबै जनतालाई विकासको प्राथमिकतामा राखेर पूर्वाधार विकासको काम भइरहेको उनको तर्क छ । सचिव सिग्देलले गएका वर्षहरुमा नयाँ ट्रयाक तथा ग्राबेल र आगामी वर्षहरुमा सडक कालोपत्रेको काम तीव्र रुपले अगाडि बढाउने तयारी भएको जानकारी दिए ।

सम्बन्धित खबरहरु