Nepalese Flag २०७७ फागुन २० गते बिहीबार   |   March 04, 2021

गोदावरीमा धार्मिक होमस्टे

न्युज कारोबार धनगढी फागुन ८, २०७७       

गोदावरीमा धार्मिक होमस्टे

अहिले खानपिन र एकान्तमा बस्न रमाउनेहरुका लागि होमस्टे रोजाइमा पर्न थालेका छन् । घरको जस्तै वातावरणमा रमाउनका लागि होमस्टेको माग पनि बढ्न थालेको छ ।

सबैतिर रमाइलो र खानपिनलाई केन्द्रित गरेर होमस्टे बनाइरहेका बेला कैलालीको गोदावरीमा भने धार्मिक पर्यटन प्रवर्धनका लागि धार्मिक होमस्टे सञ्चालन गरिएको छ । गोदावरी धाम क्षेत्रमा गोदावरी धार्मिक होमस्टे सञ्चालन गरिएको हो । यस होमस्टेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने अपेक्षा लिइएको छ ।

पर्यटन प्रवर्धनका नाममा अधिकांश क्षेत्रमा अहिले होमस्टे सञ्चालनमा आएका छन् । तर, धेरै होमस्टे रमाइलोका नाममा मात्रै सीमित छन् । कैलालीको गोदावरी नगरपालिका गोदावरी धामलाई लक्षित गर्दै यस क्षेत्रका बासिन्दाले फरक किसिमको धार्मिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

गोदावरी धाममा दर्शन गर्ने भक्तालुलाई लक्षित गरेर सो क्षेत्रका बासिन्दाले धार्मिक होमस्टे सञ्चालनमा ल्याएको बताएका छन् । धार्मिक होमस्टेमा धार्मिक पर्वहरुमा खाइने खानेकुरा पकाइने र भजन, कीर्तनसमेतका कार्यक्रम हुने गोदावरी धार्मिक सामुदायिक होमस्टेका सचिव चन्द्रबहादुर बिष्टले बताए । उनले भने, ‘यो होमस्टे गोदावरी धामलाई लक्षित गरेर सञ्चालन गरिएको हो, यहाँ योगा, ध्यान, भजन कीर्तन हुनेछन् ।’

होमस्टे भन्नेवित्तिकै माछामासु, कुखुरा खान पाइन्छ भन्ने लागे पनि आफूहरुले त्यसलाई बदल्ने उनले बताए । ‘हामी बढीभन्दा बढी शुद्ध खानेकुराकै लागि होमस्टे बनाउनेछौँ र केही अलग्गै होमस्टे रमाइलोका लागि पनि बनाइनेछन्,’ उनले भने, ‘यी होमस्टेले गोदावरी धामको गरिमा र महत्व पनि बढ्ने विश्वास छ ।’

सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटनमा निकै सम्भावना भएको प्रदेश र अझ गोदावरी धाम प्रदेशकै स्नान गर्ने मुख्य धाम भएकाले यो धार्मिक होमस्टेबाट थप पर्यटन प्रवर्धन हुने अपेक्षा लिइएको छ । नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले भने, ‘हामीले सुदूरपश्चिमका प्रत्येक जिल्लामा एक÷एक धामलाई लिएर पर्यटनको परिकल्पना गरेका छौँ, यसै परिकल्पनामा कैलालीको गोदावरी धाम पनि पर्छ ।’

गोदावरी धाममा अहिले राति राति पनि दर्शनार्थी आउने भए पनि यसअघि सम्म बस्ने खाने सुविधा नहुँदा खुला आकासमुनि बस्नुपर्ने बाध्यता छ । यो होमस्टे सुदूरपश्चिममै नभई देशमै पहिलो भएको उनको भनाइ छ ।

खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमद्वारा सञ्चालित सप्रोस नेपालले होमस्टे सञ्चालकहरुलाई एक महिने तालिम दिएपछि शनिबारबाट होमस्टे सञ्चालनमा ल्याइएको हो । सप्रोस नेपालका कैलाली जिल्ला संयोजक चन्द्रबहादुर सिंहले आफ्नो संस्था केही फरक किसिमले काम गर्ने भए पनि यस क्षेत्रको फाइदा पुग्ने देखेर होमस्टे तालिममा पनि सहयोग गरेको बताए ।

होमस्टेलाई थप विस्तार र सुविधासम्पन्न बनाउन सरकारी सहयोगसमेत आवश्यक हुँदा यसको पहल गर्ने जनप्रतिनिधि बताउँछन् । गोदावरी नगरपालिका ४ का अध्यक्ष प्रेमबहादुर भण्डारीले यो पहल निकै उपलब्धिमूलक रहेको बताए । यस क्षेत्रको धार्मिक विकास र सम्पूर्ण गोदावरी धाममा आउने धार्मिक पर्यटकका लागि समुदायको यो लगावले धेरै उपलब्धि हासिल हुने उनले बताए । नगरपालिकाबाट समेत यसको विकासका लागि पहल गर्ने उनको भनाइ छ । होमस्टे उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, महासचिव केशव पाण्डेयलगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु