Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो

न्युज कारोबार काठमाडौं फागुन ७, २०७७       

कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको स्थानीय बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनी सञ्चालकहरूले स्वीकार गरेसँगै राजस्व अनुसन्धान विभागले कम्पनीको स्थानीय कारोबारमाथि समेत थप अनुसन्धान थालेको छ ।

‘झन्डै चार दशकदेखि बोटलर्स नेपालले कोकाकोला ब्रान्डको स्थानीय उत्पादकसरह भइ उत्पादन गर्दै आए पनि अनुसन्धानका क्रममा यो बोटलिङ कम्पनीमात्र भएको पाइएकाले कोलाकोलाको मूल कम्पनीले नेपालका कारोबारका लागि स्थानीय शाखा दर्तासहितका अन्य प्रक्रिया पूरा नगरेको देखिएको छ,’ राजस्व अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीले भने,‘कोकाकोलाको प्यारेन्ट कम्पनीले यतिका वर्षसम्म कुन माध्यम र विधिबाट नेपालबाट ब्रान्ड प्रयोगका रोयल्टी रकम लग्यो भन्ने पाटोमा अनुसन्धान सुरु भएको छ ।’

नेपालमा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भइ कोकाकोला र त्यसका सहायक ब्रान्डहरूको ‘बोटलिङ’ गर्दै आएको बोटलर्स नेपाल लिमिटेड र त्यसकै सहायक कम्पनीका रूपमा खोलिएका बोटलर्स नेपाल (तराई) लिमिटेड र ट्रोयका ट्रेडिङ प्रालिले ‘कोकाकोला' ब्रान्ड प्रयोग अमेरिकी माउ कम्पनी कोकाकोलाले गरेबापत करिब २५-३० प्रतिशत रकम ‘ब्रान्ड रोयल्टी’का रूपमा नेपालबाट लैजाने गरेको छ । कोकाकोलाको गोप्य राखिएको फर्मुलासहितको 'झोल' नेपालसहितका विश्वभरि रहेका बोटलिङ प्लान्टमा अमेरिकाबाट सिंगापुरसहितका क्षेत्रीय प्लान्ट हुँदै भित्र्याइन्छ ।

‘बहुराष्ट्रिय कम्पनीहरूका स्थानीय कारोबारको मिहिन अध्ययनबाट नेपालमा स्थानीय शाखा कम्पनी दर्ता नगरी प्रतिनिधि कम्पनीहरूमार्फत कारोबार गर्ने र त्यसमा समेत स्थानीय कर पालनाभन्दा छल्ने प्रवृत्ति बढी देखियो, ’ विभागका ती अधिकारीले भने ।

कोकाकोलाजस्तै अर्को बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालस्थित बोटलिङ कम्पनी, वरुण वेभरेज नेपालले ६४ करोड रूपैयाँभन्दा बढीको मूल्य अभिवृद्धि कर (भ्याट) छली प्रकरणका प्रसंग उल्लेख गर्दै ती अधिकारीले जसरी पेप्सिकोका नेपालका तत्कालीन र पूर्वसञ्चालकहरूदेखि प्रमुख कार्यकारी अधिकृतमाथि समेत कर छलीको मुद्दा चल्यो, त्यसरी नै कोकाकोलाका कारोबारमाथि थप अनुसन्धान थालिएको बताए ।

भ्याट छली प्रकरणमा विभागले लामो अनुसन्धानपछि वरुण वेभरेज (नेपाल) प्रालिका पूर्व तथा वर्तमान सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारविरुद्ध मुद्दा दायर गरेको थियो । सो कर छली प्रकरणमा वरुण वेभरेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन अग्रवाल गत साता उच्च अदालत पाटनको आदेशअनुसार पक्राउ परेका हुन् ।

विभागले लामो समय लगाएर गरेको अनुसन्धानपछि वरुण वेभरेजले आर्थिक वर्ष २०७०/७१ देखि ०७५/०७६ सम्ममा नक्कली भ्याट बिल कारोबारबाट २५ करोड ३४ लाख ६ हजार ९४० रुपैयाँ भ्याट र आयकरतर्फ लाभांशसमेत ३९ करोड ६१ लाख ९५ हजार ४ सय गरी कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ राजस्व छली गरेको देखिएको थियो ।

सन् २००४ देखि यता कोकाकोलाको नेपालका लागि ब्रान्डिङ कम्पनी बोटलर्स नेपाल लिमिडेको ७६.१७ प्रतिशत सेयर तीन पटकसम्म नेपाल बाहिर नै किनबेच हुँदा नेपालले पाउनु पर्ने पुँजीगत लाभकर छली गरिएको अभियोगमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको हो ।

बोटलर्स नेपालका व्यवस्थापकहरूले स्वामित्व किनबेच भएको स्वीकार गरिसकेकाले कम्पनीको बिक्री कारोबारबाट माउ कम्पनी कोकाकोला एटलान्टाले ‘अन्तर कम्पनी कारोबार' का माध्यमबाट नेपालबाट लाने गरेको रोयल्टी र अन्य बिक्री कारोबारबाट प्राप्त हुनुपर्ने राजस्वसमेत गुमेको आशंकामा थप अनुसन्धान थालिएको हो ।

यो पनि पढ्नुहोस्

कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो

कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

सम्बन्धित खबरहरु