nmb bank

गृहपृष्ठ उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति

उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति

उपत्यकामा मागको एक तिहाई मात्र पानी आपूर्ति

सुक्खा मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा पिउने पानी अभाव चर्किन थालेको छ । मागभन्दा तेब्बर कम आपूर्तिका कारण समस्या हरेक वर्ष उकालो लागिरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले पिउने पानीको दैनिक माग ३७ करोड ५० लाख लिटर छ । तर, आपूर्ति दैनिक १३ करोड लिटर मात्र छ । मंसिरको अन्तिम साता चल्दै गर्दा काठमाडौंको ‘काकाकुल’ अवधि पनि शुरु भइसकेको छ ।

दैनिक आपूर्ति हुने पानीमध्ये ४० प्रतिशत अर्थात् पाँच करोड २० लाख लिटर त पाइपलाइनबाट चुहिएरै खेर जान्छ । बाँकी सात करोड ८० लाख लिटरले राजधानी शहरको माग धान्न सक्ने कुरै भएन ।

चुहावटको उक्त तथ्यांक केयूकेएलले नै केही समयअघि गरेको अध्ययनबाट तयार भएको हो । उपत्यकाको जनसंख्या २७ करोडलाई आधार मान्दा प्रतिव्यक्ति दैनिक उपलब्धता २८ लिटर छ । जबकि, उपत्यकामा एक व्यक्तिलाई दैनिक सरदर एक सय ३८ लिटर पानी आवश्यक हुने केयूकेएलकै भनाइ छ ।

पानीका पाँच स्रोत

केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यका अनुसार उपत्यकाका वितरण हुने पिउने पानीका पाँच वटा प्राकृतिक स्रोत छन्, शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा र भक्तपुर । तिनै स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घर-घरमा पुर्‍याइने गरेको छ ।

सरकारले मागअनुसार आपूर्ति दिन नसकेपछि उपत्यकामा पानीको व्यापार पनि उत्तिकै चलेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरमार्फत् पाँचदेखि ६ करोड लिटर पानी आपूर्ति हुन्छ । यस्तै, जारमार्फत् २० लाख र बोतलमार्फत् करिब अढाइ लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन् ।

ट्युबवेल, प्राकृतिक धारा, कल र बोरिङबाट पनि उपत्यकावासीले आवश्यकता टार्दै आएका छन् ।

सधैंको अभाव

केयूकेएलका अनुसार काठमाडौंमा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिन्छ । आवादी बाक्लिन र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको हाहाकार हुन थालेको हो, उपत्यकामा । अभावले शिखर चुमेको भने एक दशकयता हो ।

तथापि, त्यसअघि पनि पर्याप्त उपलब्धता थिएन । ढुंगेधाराहरुबाट मानिसले आवश्यकता पूरा गर्दै आएका थिए । दशकयता भने अधिकांश ढुंगेधारा सुकिसकेका छन् । सोही कारण उपत्यकाका बासिन्दा ट्यांकर र जारको पानीमा निर्भर रहनुपर्ने अवस्था आएको हो ।

केयूकेएल प्रवक्ता आचार्यका अनुसार असार, साउन र भदौबाहेक नौ महिनामा उपत्यकामा पानी अभाव चर्को रहन्छ ।

वर्षायाममा दैनिक करिब १४ करोड लिटर केयूकेएलमार्फत् वितरण हुन्छ, उपत्यकामा । चर्को सुक्खायाम मानिने चैत-वैशाखतिर उक्त परिमाण नौ करोड लिटरमा सीमित रहन्छ ।

अहिले उपभोक्ताले तीनदेखि आठ दिनमा एकचोटी पानी पाउँछन् । चैत-वैशाखतिर दुई साता बित्दा पनि उपभोक्ताका धारामा पानी खस्दैन ।

पुस ०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पानी आपूर्तिको अवस्थामा सुधार ल्याउन केयूकेएललाई १७ बुँदे निर्देशनसमेत नदिएका होइनन् । वितरण प्रणालीमा खानेपानी संस्थानको बदमासी नै औंल्याएका थिए, दाहालले । उक्त निर्देशन भने कागजमै सीमित बन्यो, केयूकेएलले कार्यान्वयनमा ल्याएको छैन, अझै ।

चुहावट नियन्त्रणमा बेवास्ता

पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र होइन । मिटरमा बिल नउठ्ने समस्या पनि त्यसैमा पर्छ । खासगरी, पुराना संरचना र पाइपका कारण ठूलो परिमाणमा पानी खेर जाने गरेको केयूकेएलले बताउँदै आएको छ ।

प्रवक्ता आचार्यका अनुसार उपत्यकामा घर-घरमा पानी पुर्‍याउने कतिपय पाइपलाइन सय वर्षभन्दा पुराना पनि छन् । ‘यसलाई नयाँ संरचनाले प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न,’ आचार्य भन्छन् ।

मेलम्चीको पानी ल्याउने प्रयास अन्तिम चरणमा रहेकाले पूराना पाइपलाइन प्रतिस्थापन गरेर नयाँ जडान भइरहेको छ । उक्त काम सकिएपछि पाइपलाइनबाटै पानी खेर जाने समस्या कम हुनेमा केयूकेएलका अधिकारीहरु विश्वस्त देखिन्छन् ।

उपभोक्ताले तोकिएको मापदण्डभन्दा उचाइमा धाराहरु जडान गरेकाले पनि चुहावट नियन्त्रण हुन नसकेको केयूकेएलका अधिकारीहरु बताउँछन् ।

पहुँचवाला उपभोक्तालाई प्राथमिकता दिएर पानी वितरण गर्ने गरेको आरोपबाट पनि मुक्त छैन, केयूकेएल । कर्मचारीहरुले नै चुहावटलाई प्रश्रय दिएको आरोप पनि लाग्दै आएको छ ।

पर्खाइ मेलम्चीको

उपत्यकाको पानी अभाव टार्ने एक मात्र विकल्प देखिन्छ, मेलम्ची आयोजना । आयोजना निर्माणको समय सीमा थपिएको थपियै गर्दा काठमाडौंवासीको आशा ‘आकाशको फल’ बन्दै आएको छ । आगामी दशैंसम्ममा मेलम्चीको पानी उपत्यकावासीका धारा खसालिसक्ने सरकारी लक्ष्य छ ।

आर्थिक वर्ष ०५५/५६ देखि निर्माण शुरु भएको उक्त आयोजना दुई दशक बित्न लाग्दा पनि अझै संशयमै देखिन्छ ।

शुरुमा चक्रपथभित्र मात्रै वितरण गर्ने तयारी गरिएको आयोजनाको पानीका लागि अहिले पाइप बिच्छ्याउने र संरचना निर्माणको काम धमाधम छ ।

मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । यसले काठमाडौंको पानीको अभाव परिपूर्ति गर्ने केयूकेएलको दाबी छ ।

त्यसबाहेक सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट पनि थप १७/१७ करोड लिटर पानी ल्याउने तयारी पनि छ ।

यस्तै, एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहायतामा सरकारले चक्रपथ बाहिर थप पानी वितरणका लागि भण्डारण, प्रशोधन केन्द्र र पाइपलाइन विस्तारको अध्ययन पनि अगाडि बढाएको छ ।

त्यसका लागि शिवपुरी, फर्पिङ र भक्तपुरमा पूर्वाधार निर्माणका लागि निजी क्षेत्र डिजाइन निर्माणाधीन रहेको केयूकेएलले जनाएको छ । उक्त आयोजनाको लागत करिब एक अर्ब रहने अनुमान रहेको प्रवक्ता आचार्य बताउँछन् । र, आगामी चार वर्षमा उक्त आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य देखिन्छ ।

प्रकाशित समय : २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु