Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

सरकारले उद्योगीमाथि कर थोपर्नमात्र जानेको छ : चेतन निरौला

न्युज कारोबार काठमाडौं असार ३२, २०७५       

सरकारले उद्योगीमाथि कर थोपर्नमात्र जानेको छ : चेतन निरौला
अध्ययन र रोजगारीका सिलसिलामा विराटनगर आएका चेतन निरौला अहिले पूर्वक्षेत्रकै परिचित उद्योगी व्यवसायीका रुपमा स्थापित भएका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका निरौलाले ०५२ सालमा विराटनगरका जुत्ता–चप्पल उद्योगमा केही वर्ष जागिरे जीवन बिताए । विराटनगरका प्रा. डा. अर्जुनप्रसाद बरालको प्रेरणा र आर्थिक सहयोगमा एक लाख रुपैयाँ लगानी गरी २०६२ सालमा आफैंले उद्योग खोले । अहिले उनको ग्यालेक्सी सुज उद्योग पूर्वकै सफल जुत्ता उद्योगका रुपमा परिचित छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यवाहक अध्यक्ष एवं प्रमुख, ग्यालेक्सी सुज उद्योगका सञ्चालक निरौलासँग व्यावसायिक सफलता र घरेलु तथा साना उद्योगीका समस्याका विषयमा प्रदेश १ संयोजक किशोरसंगम दियालीले गरेको कुराकानी :   तपाईं झापाको मान्छे, विराटनगर आएर सफल उद्योगी बन्न कसरी सफल हुनुभयो ? हो, मेरो जन्मथलो झापा हो । मैले १२ कक्षासम्मको अध्ययन भद्रपुरबाट गरेँ । २०५२ सालमा उच्चशिक्षा अध्ययनको सिलसिलामा म विराटनगर आइपुगेको हुँ । मध्यम वर्गीय परिवार भएकाले आफ्नो खर्च धान्नुपर्ने बाध्यता पनि थियो । त्यसैकारण मैले विराटनगरको एउटा जुत्ता–चप्पल उद्योगमा सानो–तिनो जागिर गरेँ । त्यहाँ मैले काम सिक्ने अवसर पाएँ । करिब एक वर्षको अवधिमा मैले उद्योग सञ्चालनसम्बन्धी धेरै ज्ञान हासिल गरिसकेको थिएँ । त्यसैले आफैंले थोरै लगानीबाट व्यवसाय सञ्चालन गर्नुप¥यो भन्ठानेर पैसा भेला पार्न थालेँ । करिब एक लाख जुट्यो । र, त्यही पैसा लगानी गरेर व्यवसाय सुरु गरेको हुँ । औपचारिक रुपमा चाहिँ ०६२ सालदेखि उद्योग सञ्चालनमा ल्याएँ । सुरु–सुरुमा त मलाई निकै गाह्रो भयो । सानो लगानी भएकाले मसहित तीन जनामात्र कालिगढ थियौं । पहिले मेरो बजार विराटनगरमात्र थियो भने अहिले पूर्वाञ्चल र पश्चिमका जिल्लासम्म विस्तार भइसकेको छ । एक लाखले सुरु गरेँ भन्नुहुन्छ, सुरुवाती अवस्थाचाहिँ कस्तो रहयो ? हैन, यो एकदमै यथार्थ हो । सुरुवाती दिनमा मलाई निकै गाह्रो भयो । निकै दुःखका साथ सुरु गरेको थिएँ । फेरि अर्को कुरा, नयाँ–नयाँ पनि थिएँ । जोखिम पनि थियो । कडा प्रथिस्पर्धा थियो । बजार विस्तारका लागि थोरै पुँजीबाट सञ्चालन गरेको भए पनि बजारमा उधारो सामान दिनैपर्ने बाध्यता थियो । मैले निकै कडा परिश्रम गरेँ र आज यो अवस्थासम्म आइपुगेको छु । त्यो अवस्थादेखि हालसम्म आइपुग्दा आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? हामीले दृष्टि परसम्म पु¥याउनुपर्ने रहेछ । लक्ष्य ठूलै राख्नुपर्ने रहेछ अनि मात्र थोरै भए पनि उपलब्धि हासिल हुनेरहेछ । अहिले मेरो ग्यालेक्सी सुज उद्योगमा २० जनाले निरन्तर काम गरिरहेका छन् । अझ थप हुँदै गइरहेका छन् । उत्पादन बढाएको छु । समग्रमा, मैले अझ मेहनत गर्नुपर्छ जस्तो लाग्छ । ग्यालेक्सीबाट उत्पादित जुत्ताको बजार कस्तो छ ? पहिले मैले ट्रेडमार्क लिएर जाँदा पत्याउँदैन थिए तर अहिले मेरो कम्पनीबाट उत्पादित सामानले बजार ओगट्न सफल भएका छन् । पूर्वाञ्चलमा मात्र सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । त्यस्ता उद्योगका बीचमा ग्राहकको रोजाइमा हाम्रा उत्पादन पनि प्राथमिकतामा पर्छ । तपाईंका उद्योगबाट के–के उत्पादन हुन्छ ? हाम्रो उद्योगमा खास गरेर स्कुल जुत्ता, क्याजुअल जुत्ता, पार्टी सुज, टप बुट, सावरका जुत्ता, लेडिज सेन्डललगायत बजारको मागअनुसार उत्पादन हुने गरेका छन् । कच्चा पदार्थ कहाँबाट आयात गर्नुहुन्छ ? स्वदेशमा कच्चापदार्थ पाइँदैन । हामी मुख्यगरी चाइनिज आइटम काठमाडौंबाट र अन्य भारतबाट कच्चा पदार्थ आयात गर्छौं । कामदारको अवस्था कस्तो छ ? स्वदेशी कामदारको अभाव धेरै छ । हाम्रो जस्तो उद्योगमा ७० देखि ७५ प्रतिशत भारतीय कामदार छन् । २५–३० प्रतिशतमात्र नेपाली छन् । जनशक्तिको अत्यन्तै अभाव छ । हाम्रोमा तलब सिस्टम हुँदैन, प्रतिगोटाका दरले ज्याला दिन्छौं । कुनै समय सीमा छैन, काम गर्नका लागि जतिबेला सम्म काम गर्छु भन्दा पनि हामी नाइँ भन्दैनौं । प्रतिगोटाका दरले काम गर्ने भएकाले एकजनाले दैनिक न्यूनतम एक हजार देखि १५ सय रुपैयाँसमेत कमाउँछन् । सरकारले बेला–बेलामा तालिम दिने गरेको छ तर त्यो केवल तालिमको लागि तालिममात्र भएको छ । त्यसले कुनै उपलब्धि हासिल हुँदैन किनकि त्यो तालिम छोटो अवधिको हुन्छ । यो काम सिक्नलाइ कम्तीमा पनि ६ महिनादेखि एक वर्ष लाग्छ । त्यसैले सरकारले लगानी गरेर तालिम सञ्चालन गर्छ भने हामीसँग समन्वय गरोस्, त्यसले नतिजा ल्याउनेछ र बेरोजगारी समस्या पनि न्यूनीकरण हुन्छ । सरकारले घरेलु उद्योगको विकास र संरक्षणका लागि के गरेको छ ? मेरो बुझाइमा त सरकारले केही पनि गर्न सकेको छैन । सरकारले करमाथि कर लगाएको छ । लक्षित वर्गलाई उपलब्धिमूलक तालिम दिन सकेको छैन । सरकारले हामीलाई भन्सार महसुलमा निश्चित समयसम्मका लागि छुट दिनुपर्छ । नेपाली घरेलु तथा साना उद्योगको संरक्षण र बेरोजगारी समस्या न्यूनीकरण गर्न सोहीअनुसारको नीति बन्नुपर्छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ । उद्योगीले भोगिरहेका खास समस्या के–के हुन् ? मुख्य कुरो त उद्योग दर्ता प्रक्रिया नै झन्झटिलो छ । त्यसमा पनि दोहोरो–तेहोरो दर्ता गर्नुपर्ने नियम छ । दक्ष जनशक्ति अभाव छ । देशलाई लोडसेडिङमुक्त भनिए पनि लोडसेडिङ भइरहेकै छ । बैंकहरुले घरेलु तथा साना उद्योगलाई ऋण दिन आनाकानी गर्ने गरेका छन् । ढुवानी गर्ने ठाउँमा सडकको अवस्था जीर्ण छ । ट्रेड मार्क र लोगो लिनसमेत समस्या छ । खुला सिमानाका कारण प्रतिस्पर्धामा समस्या छ । केही ठूला उद्योगले भारतीय र चिनियाँ उत्पादन ल्याएर आफूले उत्पादन गरेको भनेर ट्रेडमार्क लगाएर बिक्री–वितरण गर्ने गरेका छन् । जसका कारण उनीहरुले ठूलै नाफा आर्जन गर्छन् । हामीले उत्पादन गरेका जुत्ता–चप्पल गुणस्तरीय भए पनि प्रतिस्पर्धा गर्न गाह्रो छ ।
ट्रेड मार्क र लोगो लिनसमेत समस्या छ । खुला सिमानाका कारण प्रतिस्पर्धामा समस्या छ । केही ठूला उद्योगले भारतीय र चिनियाँ उत्पादन ल्याएर आफूले उत्पादन गरेको भनेर ट्रेडमार्क लगाएर बिक्री–वितरण गर्ने गरेका छन् ।
मुलुकले स्थिर सरकार पाएको छ । सरकारबाट कस्तो अपेक्षा गर्नुभएको छ ? हामीले सधैं चाहेको स्थिर सरकार हो । स्थिर सरकारले धेरै समयसम्म काम गर्न सक्ने भएकाले सबै क्षेत्रका समस्या विस्तारै समाधान हुँदै जानेछन् । लोडसेडिङलगायतका समस्यासमेत समाधान हुँदै जाने हाम्रो अपेक्षा छ । अहिले स्थानीय, प्रदेश तथा संघीय सरकारले स्वदेशी उद्योग, कलकारखानालाई प्रोत्साहन गर्ने विशेष नीति ल्याउने आशा छ । स्वदेशी उद्योग–व्यवसाय फस्टाउन राज्यले के गर्नुपर्ला ? पहिलो कुरा उद्योग दर्ता प्रक्रिया सहज बनाइनुपर्छ । दक्ष जनशक्ति उत्पादन गरिनुपर्छ । स्वदेशी उद्योग फस्टाउन सरकारले नीति चुस्त बनाउनुपर्छ । विदेशी उत्पादनमा भन्सार शुल्क अधिक लिनुपर्छ । चोरी निकासी–पैठारी निर्मुल हुनुपर्छ । उद्योग–व्यवसायका क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ । स्थानीय उत्पादनलाई सबै तह–तप्का र निकायले खरिद गर्नुपर्ने व्यवस्था सरकारी नीतिमा सामेल गर्नुपर्छ । उद्योगमा गरिएको पुँजी लगानीलाई आधार मानेर उद्योग वर्गीकरण गर्नुपर्छ । कर शुल्क निर्धारण, स्थापनाको निश्चित वर्षसम्म सबैखाले करमा छुट र उद्योगका लागि आयात हुने सवैखाले कच्चा पदार्थमा छुट गरिनुपर्छ । घरेलु तथा साना उद्योगले मुलुकमा राजगारीको ठूलो अवसर सिर्जना गरेका छन् । यी उद्योगको विकास र संरक्षण राज्यबाट हुनुपर्छ । उद्योग–व्यवसाय क्षेत्रमा गरिने सरकारी काम सम्पूर्ण जिल्ला वा प्रदेशस्तरीय कार्यालयबाट हुने व्यवस्था मिलाइनुपर्छ ।

सम्बन्धित खबरहरु