Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

कांग्रेसमा सामन्ती संस्कार कायमै छ : खड्का

न्युज कारोबार काठमाडौं असार ४, २०७५       

कांग्रेसमा सामन्ती संस्कार कायमै छ : खड्का
निर्वाचनमा व्यहोरेको पराजयसँगै नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारोप चलिरहेको छ । स्थानीय तह, प्रदेश र संघ तीनै तहमा कमजोर बन्दै गएको कांग्रेसले छलफलका लागि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । हेटौंडामा हुन गइरहेको भेलामा के विषयमा छलफल हुन्छ ? भेलाबाट कांग्रेसले पुनर्ताजगी पाउला ? यिनै विषयमा केन्द्रित रही नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कासँग रघुनाथ बजगाँईले गरेको कुराकानी :   नेपाली कांग्रेस अहिले के गरिरहेको छ ? गएको निर्वाचनमा हामीले नराम्रो परिणाम व्यहाेर्नुपर्यो । यसैको समीक्षामा छौं । सदनमा आफ्नो उपस्थितिलाई सकारात्मक र प्रभाबकारी बनाउने, सभापतिहरुको भेला, सँगठन सुदृढीकरण, महासमिति बैठकको तयारी यस्तै–यस्तै पार्टीको प्राथमिकतामा छन् । कार्यकर्तामा चुनावी परिणामले केहि निराशा छाएको छ । कांग्रेसमा आस्था राख्नेहरुलाई कसरी उत्साही बनाउन सकिन्छ भन्नेमा केन्द्रित छौं । हेटौंडामा हुने जिल्ला सभापतिहरुको भेलामा गुट/उपगुटका अनेक दृष्य देखिने भए होइन ? केन्द्रमा गुट भएपछि त्यहाँ पनि देखिनु स्वभाविक हो । माथिबाटै निराकरण भए मात्रै तल गुट-उपगुटको प्रभाव देखिदैन । हार्नेहरुको गुट स्वतः खडा हुन्छ । जिल्ला सभापतिहरुको भेला मुख्यतः विधान संशोधनका लागि हो, महासमिति बैठकलाई सल्लाह सुझाव दिने हो । केही साथीहरुले चुनावी समीक्षाका विषयमा कुराहरु राख्नुहुन्छ । जिल्लागत अनुभवहरु आदान–प्रदान हुन्छ । अन्य विषयमा त्यस्तो गहन छलफल हुँदैन । चुनावी हारको विषय उठाउनुभयो, कसको कमजोरीले यस्तो परिणाम व्यहाेर्नु परेकाे हाे  ? कमजोरी सबैको रह्यो । सभापति शेरबहादुर देउवाले नेतृत्वको हिसाबले हारको जिम्मेवारी लिनुपर्छ । केहि कमजोरी रह्यो भनेर उहाँले सार्वजनिक रुपमै भनिसक्नुभयो । केन्द्रीय समितिले जिम्मेवारी लिइसकेको छ । अब यसको कारण फलानो हो भनेर भन्न मिल्दैन । मुख्य कारण दुई ठूला कम्युनिस्टहरू एक भए । दोस्रो उम्मेदवार छनोटमा केहि कमजोरी भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले पनि धेरथोर कमजोरी स्वीकार गर्नुभएकै छ । उम्मेदवारहरुकै केहि कमजोरी रहे । चुनावी परिणामलाई लिएर आरोप–प्रत्यारोप भएको छ, किन त्यस्तो भयो ? भावनात्मक रुपमा पार्टी एक नभएसम्म यस्तो चलिरहन्छ । हारेपछि हार स्वीकार गर्नु लोकतान्त्रिक मान्यता हो । जिते मेरो कारण हारे तेरो कारण भन्ने हुनुहुँदैन । पार्टीभित्र आरोप-प्रत्यारोप भइरहेको सत्य हो, गुट/उपगुट नै यसको कारण हो । टिकट वितरणमा आफ्नै गुटकालाई मात्र प्राथमिकतामा दिन खोज्दा परिणाम उल्टो आउनमा मद्दत पुगेको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायतका नेताहरु बसेर उम्मेदवार छनौट गर्नुभएको हो । कस्ता उम्मेदवार उठाइयो, परिस्थिति कस्तो थियो भन्ने बुझेपछि यो विवादको मुख्य कुरो थाहा भइहाल्छ । एक ढिक्का नहुँदा समस्या भएको भन्ने तपाईंको भनार्इ पदाधिकारी नियुक्तिमा पनि देखियो, के भन्नुहुन्छ ? कम्तिमा सहमहामन्त्रीमा भएपनि अर्को पक्षलाई समेट्नुपर्छ भन्ने सुझाव सभापतिलाई दिएको थिएँ । मेरो सुझाव मान्नु भएन । त्यसका पनि कारणहरु होलान् । कांग्रेसमा एक खालको सामन्ती परम्परा, संस्कार छ । सभापतिले अर्को पक्षलाई वास्तै नगर्ने प्रवृत्ति विगतमा पनि देखिन्थे । यसपटक पनि त्यो आरोप लाग्दै आएको छ । सांगठनिक रुपमा एक भएको सन्देश दिने जिम्मेवारी सभापतिको हो । यसमा रामचन्द्र जीले पनि आफुलाई जिम्मेवार ठान्नुपर्छ । सदनमा कांग्रेसको संख्यात्मक उपस्थिति कमजोर भए पनि संसदमा सन्तुलन कायम राख्न जे पहल गर्नसक्थ्यो त्यो देखिएन । यो बिषयमा तपार्इंको धारणा के हो ? सदनमा संख्यात्मक हिसाबले हाम्रो उपस्थिति कमजोर छ । तर, हामीले संसदीय अभ्यास विपरित कार्य हुन दिएका छैनौं । सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पार्टीका संसदीय दलका नेताले निर्देशन नदिँदा मौन सर्मथन गरेजस्तो भयो । म स्वयं त त्यसबेला उपस्थित थिइँन, तर त्यो गलत भयो । सरकारको नीति तथा कार्यक्रम समय र परिस्थितिसँग मेल खाएन भनेर विरोध हुदाहुँदै भुलबस त्यस्तो हुन गएको हो । हामी सशक्त भएर संसदीय व्यवस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेतिर लागेका छौं । प्रतिपक्षीले सरकारका जस्ता कार्यको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता राख्दैनौं । तर, कम्युनिस्टहरु सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेका छन् । त्यो रोक्न सक्ने तागत हामीसँग छ । नीति तथा कार्यक्रम र बजेटको स्वस्थ आलोचना भन्दा पुरानै ढर्राबाट ठीक भएन भन्ने काम मात्रै भएको तर्क गर्नेहरुलाई के भन्नुहुन्छ ? हामीले तर्क र तथ्यका आधारमा आलोचना गर्ने हो । गाली गरेर मात्रै पनि विकास हुदैन । देश बल्ल राजनीतिक स्थिरतातर्फ जान आँटेको छ । सरकारले राम्रो काम गरेको छ भने स्वागत गर्नुपर्छ । त्यसमा हामी कुनै प्रकारले कन्जुस हुदैनौं । सरकारको नीति तथा कार्यक्रममा कमजोरीहरु छन् । आर्थिक वृद्धिको लक्ष्य र बजेटको आकार, राजश्व अशुलीसँग मेल खाएको छैन । केही महत्वकांक्षी योजनाहरु पनि छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा छ, त्यसको स्रोतको प्रष्ट आधार देखिँदैन । २० लाख पर्यटक भित्र्याउने भनिएको छ । ऊर्जामा अघिल्लो सरकारले एक खालको लक्ष्य निर्धारण गरेकोमा फेरि नयाँ आएको छ । यी सबै विषय हेर्दा बजेट महत्वकांक्षी देखिन्छ । पाँच लाखलाई नयाँ रोजगारी दिने आधार के हो ? विगतका सरकारले ल्याएका सबै योजनाहरु गलत नै थिए त ? यी प्रश्नहरुको जवाफ खोजीरहेका छौँ । दुई तिहाई सदनमा हुँदैमा राजनीतिक स्थिरता हुदैन । बलियो सरकार हुँदैमा आर्थिक समृद्धि आउँदैन । त्यसका लागि जनताको जीवनयापनमा देखाउन सक्नुपर्छ । प्रतिपक्षमा रहेर कांग्रेसले हेरिरहेको छ । आवश्यक पर्दा सहयोग र विरोध दुबै गर्छ । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संविधानमा प्रष्ट छ, तर त्यो उम्मेदवारी दिने समयको विषय हो । अहिले आएर कांग्रेसलाई यसमा किन टाउको दुखाइ ? हामीलाई टाउको दुखाइको बिषय भयो भनेर कहाँ भनेका छौं ? यो प्राबधान हामी आफैँले राखेको हो । यसमा कुनै आपत्ती रहेन । फरक–फरक दलको हुनुपर्छ भन्ने संवैधानिक प्राबधान अनुसार दुई पार्टी एक भइसकेको आबस्थामा सभामुख र उपसभामुख मध्ये एक छोड्नुपर्छ भनेर आवाज उठाएका हौं । सभामुख र उपसभामुख अहिले कुनै दलको सदस्य होईनन् अनि किन परिवर्तन गर्ने ? यसलाई तर्क नै भनिँदैन । उम्मेदवारी दिँदा दलको प्रतिनिधि भएर दिने अहिले आएर म छैन वा रहिन भन्ने हुन्छ ? यो विषयलाई शसक्त ढङ्गले सदनमा उठाउँछौं । सहज रुपमा सत्तारुढ दलहरु यसमा तयार हुन्छन् भन्ने विश्वास छ । सडक संघर्ष गर्दैनौं संसदीय अभ्यास अनुरुप नै सदनमा संघर्ष गछौं । संविधान अनुरुप समाजवाद उन्मुख नेपालको यात्राको कुरा गरौं, कांग्रेस र कम्युनिष्टबीचमा समाज के हो भन्नेमै फरक मत किन ? फरक मत, फरक बुझाई नहुँदो हो त किन कांग्रेस र कम्युनिष्ट भन्नुपर्या ? उहाँ (कम्युनिस्ट)हरु समाजवाद भनेको सबै सरकारले गर्ने हो, उद्योगधन्दा आफैँ खोल्ने हो, एकतन्त्रात्मक शासन पद्दती जस्तो ठान्नुहुन्छ । हाम्रो अली उदार, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समाजवादको यात्रा हो । यसमा जनताले प्राप्त अधिकार कसरी प्रयोग गर्न सक्छन भन्ने मात्र फरक छ । हामी अली बढी स्वत्रन्तालाई जोड दिन्छौं भने कम्युनिस्टहरू त्यसलाई संकुचन गर्नुपर्छ र सबै क्षेत्रमा सरकारको मात्रै हालीमुहाली हुनुपर्छ भन्ने सोच राख्छन् । आफु ठीक र अरु बेठीक त जसले पनि भन्छ, वास्तवमै के फरक छ ? त्यसो होईन । अहिले सरकारले कर बढाएको छ । अन्तःशुल्क बढाएको छ । त्यो निजि क्षेत्रलाई खुम्च्याउन हो । बजेटमा कहाँ कहाँ उद्योग खोल्ने, डिपिआर तयार गर्ने भनिएको छ । सरकारले नै उद्योग खोल्ने, आफैँ कृषि उत्पादन गर्ने, आफैँ निर्यात गर्ने हो भने निजी क्षेत्रले के गर्छन् ? यही हो हामी र कम्युनिस्टमा फरक । कांग्रेसभित्र अन्तरविरोध छ, संगठन सुदृढीकरणका कुरा पनि छन्, स्पष्ट खाका कहिलेसम्म आउँछ ? निर्वाचनबाट पाठ सिकेर अर्को निर्वाचन सम्म पहिलो पार्टी कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छौं । कार्यकर्तामा केहि निराशा छन्, त्यसलाई पुर्नताजकी गर्न प्रशिक्षण लागायतका कार्यक्रमहरु गर्दैछौं । कोईरालाको विरासत दोहोरिँदैछ भन्ने सुन्न पाइन्छ, त्यस्तै हुन लागेको हो ? म प्रष्ट भन्छु कांग्रेसमा अब कोईराला विरासत दोहोरिँदैन । विरासतको राजनीति अब चल्दैन र चल्नुहुँदैन । यो मेरो व्यक्तिगत विचार हो । केहि अभ्यास त भएका छन् र होलान् तर विरासत नै खोज्ने हो भने गणेशमानको विरासत खै ? बेकारको विरासतको हौवा पिट्ने काम भएको छ । यो ठीक भइराखेको छैन । आगामी महाधिवेशनबाट सभापति दोहोरिने सम्भावना कत्तिको छ ? अहिल्यै कसरी भन्नु ? त्यतिबेला परिस्थिति कस्तो बन्छ ! संभावनाका कुरा गर्नुहुन्छ भने नयाँ आउने, दोहोरिने, तेहेरिने सबै हुन सक्छन् । त्यो बेला अहिलेको छाडेर नयाँ गुट नै पनि बन्न सक्छ, के भर हुन्छ र ? यसै भन्न सकिने विषय होईन ।  

सम्बन्धित खबरहरु