गृहपृष्ठ चिसो भुइँमा कलिला बालबालिका
चिसो भुइँमा कलिला बालबालिका
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ का तीनवटा विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्ने गरेका छन् । फर्निचर अभावमा साविकको सपही गाविसको बनिगामास्थित जनता निम्नमावि, ज्ञानोदय आधारभूत विद्यालय कञ्चनवन र नवदुर्गा गणेमानमान राष्ट्रिय प्राविका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य भएका हुन् ।
कक्षा ८ सम्म पढाइ हुने जनता र ज्ञानोदय विद्यालयमा दुई सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ज्ञानोदय निमाविमा कक्षा ४ मा अध्ययनरत पिंकी महराले भुइँमा बसेर पढ्नुपर्दा कपडा फोहोर हुने गरेको गुनासो गरिन् ।
फर्निचरका लागि बजेट नै नआएका कारण विद्यार्थीलाई भुँइमै बसाएर पढाउनुपरेको ज्ञानोदय निमाविका प्रधानाध्यापक प्रमोद कर्णले बताए । पाँच महिनाअघि प्रधानाध्यापकको जिम्मेवारी पाएका कर्णले विद्यार्थीको चाप बढेकाले कक्षाकोठामा डेस्क–बेन्च अभाव भएका कारण भुँइमै बसाएर पढाउनुपरेको बताए । ‘फर्निचरका लागि गाउँपालिकालाई बजेट दिन आग्रह गरेका छौं,’ उनले भने ।
ज्ञानोदय निमाविमा कक्षा ५ भन्दा माथिका विद्यार्थीका लागि मात्र डेस्क–बेन्चको व्यवस्था छ । ठूला कक्षाका विद्यार्थी पनि एउटै डेस्क–बेन्चमा ६–७ जनासम्म बसेर पढ्न बाध्य छन् । फर्निचर र कक्षाकोठा अभावमा दुई–तीनवटा कक्षा विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउने गरेको शिक्षक ब्रहमदेव यादव बताउँछन् ।
जनता निमाविका प्रधानाध्यापक सुनिता यादवले माथिल्लो निकायमा पटक–पटक जानकारी गराउँदासमेत कुनै चासो नदिइएकाले बाध्य भएर विद्यार्थीलाई भुइँमै पढाउनुपरेको बताइन् । सरकारले विद्यालयमा पक्की भवन निर्माण गर्न र फर्निचन किन्न एकैपटक बजेट पठाउने गरेको छ । टुटफुट भएमा या विद्यार्थी संख्या बढेमा फर्निचर किन्न नसक्ने विद्यालय प्रशासनले जनाएको छ ।
कक्षाकोठा अभावमा कतिपय विद्यालयले खुला भुइँमा राखेर विद्यार्थीलाई पढाउने गरेका छन् । खुला भुइँमा बसेर पढ्नुपर्दा प्रचण्ड गर्मी र अत्यधिक चिसोको समयमा विद्यार्थी बिरामी हुने गरेका छन् ।
लक्ष्मीनिया गाउँपालिका कार्यालयले भने विद्यालयहरुमा यथाशीघ्र फर्निचर व्यवस्था गर्ने जनाएको छ । ‘गाउँपालिकाकाले शिक्षालाई विशेष प्राथमिकता दिएको छ,’ अध्यक्ष विन्देश्वर यादवले भने, ‘फर्निचरकै कारण विद्यार्थीको पढाइलेखाइ प्रभावित हुन दिन्नौं, चाँडै प्रबन्ध गर्छौं ।’
प्रकाशित समय : २०:२३ बजे