Nepalese Flag २०७७ फागुन १५ गते शनिबार   |   February 27, 2021

केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल

न्युज कारोबार काठमाडौं साउन १, २०७५       

केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल
जुम्लामा १७ दिनदेखि अनसनमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । उक्त टोलीले सोमबार एकचरणमा केसीका प्रतिनिधिमण्डलसँग वार्ता पनि गरेको छ । तर, वार्ता बिना निष्कर्ष टुंगिएको छ र मंगलबार पुनः वार्ता गर्ने तयारी छ । यसै सन्दर्भमा सोमबार राति भएको छलफल र सहमतिको सम्भावनाबारे डा. केसी प्रतिनिधिमण्डलका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालसँग न्युज कारोबारका लागि गरिएको संक्षिप्त कुराकानी । सोमबार सरकारले गठन गरेको वार्ता टोलीसँग कहाँ कुरा मिलेन ? राति अबेर नै वार्ता सुरु भयो । उहाँहरुले डा. गोविन्द केसीलाई काठमाडौँ ल्याऔँ भन्ने कुरा गर्नुभयो । हामीले चाहिँ केसीको अडान सुनायौँ । तोडमोड गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर वातावरण बनाउनुपर्ने कुरा गर्यौँ । त्यसपछि उहाँहरुले यो राजनीतिक तहमा एकपटक छलफल गर्नुपर्ने विषय भन्दै समय माग्नुभयो । प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर के गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्नुपर्ने उहाँहरुको कुरा आएपछि हामीले हुन्छ भन्यौँ । कुरा मिल्छजस्तो कि छैन ? यो एकैपटक मिलिहाल्ने विषय होइन । तर, सरकार गम्भीर हुने हो भने असम्भव छैन । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । हामीलाई लाग्छ, सरकारले अब बिलकुल ढिला गर्न हुँदैन । आज पनि वार्ता हुने हो ? साढे ९ बजे शिक्षा मन्त्रालयमा बस्ने कुरा छ । त्यसअघि उहाँहरुले प्रधानमन्त्रीसँग छलफल गर्ने कुरा गर्नुभएको छ । केही ढिला पनि हुन सक्छ तर आज वार्ता चाहिँ हुन्छ । डा. केसीलाई काठमाडौँ ल्याउन सकिँदैन ? डा. केसीलाई काठमाडौँ ल्याउने वातावरण सरकारले बनाउने हो । पछिल्लो पटक सरकारले संसदमा लगेको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता नलिएसम्म त्यो वातावरण बन्छ भन्ने मलाई लाग्दैन । तर, यति हुँदैमा पनि केसीको मुख्य अडान भनेको आफूसँग विगतमा भएको सहमतिअनुसार विधेयक ल्याइनुपर्छ भन्ने नै हो ।

सम्बन्धित खबरहरु