Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

बिमा विधेयक २०७५ संशोधन गर्न माग

न्युज कारोबार काठमाडौं साउन १४, २०७५       

बिमा विधेयक २०७५ संशोधन गर्न माग
  सरकारले संघीय संसद्मा दर्ता गराएको बिमा विधेयक २०७५ माथि संशोधनको माग उठेको छ । बिमा सर्भेयर संघ नेपालले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधनको माग उठेको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बिमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको परिभाषाबाटै सर्भेयर शब्द हटाउनु अव्यावहारिक रहेको बताए । ऐनमा सर्भेयरले गर्दै आएको कामलाई वास्ता नगरी इजाजतसम्बन्धी व्यवस्था, नवीकरण, निरन्तरता, शुल्क लगाउने, दण्ड जरिवाना सम्बन्धमा भएको व्यवस्था राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासकोविपरीत रहेको उनले बताए । सर्भेयरलाई पेसाबाट विस्थापित गर्नेगरी ल्याइएको विधेयकलाई सम्बन्धित विषयको विज्ञसँग छलफल गरी संशोधन गरिनुपर्नेमा अध्यक्ष जोशीले माग गरे । कार्यक्रममा अधिवक्ता वीरेन्द्रकुमार ठाकुरले संसद्मा दर्ता भएको बिमा विधेयक पूर्वगृहकार्य नगरी ल्याइएकामा आपत्ति जनाए । विधेयकको दफा ९३ को उपदफा ३, ४, दफा ९४ को १, २, दफा ९५ को १, ४, ५, दफा ९७ को ३ ‘ग’, ९९ को ५, १०० को १ र २, १०२ को २, १४० को उपदफा १ र ११, १४२ को १ ‘ङ’, १४३ को ३ तथा १४७ मा रहेको प्रावधान सरकारले छलफल नगरिकनै सर्भेयरलाई विस्थापित गर्ने उद्देश्यले ल्याएको संघले आरोप लगाएको छ । दोषीका सम्बन्धमा छानबिन एवं सजाय गर्न न्यायिक न्यायाधीकरणको व्यवस्था विधेयकमा उल्लेख गर्नुपर्ने, रोजगारी गरिरहेकाको सुरक्षाको पूर्ण ग्यारेन्टी हुनुपर्नेमा संघले जोड दिएको छ ।

सम्बन्धित खबरहरु