Nepalese Flag २०७७ फागुन २३ गते आइतबार   |   March 07, 2021

उपचारका लागि विदेसिनु पर्दैन : रिमाल

न्युज कारोबार काठमाडौं असार ८, २०७५       

उपचारका लागि विदेसिनु पर्दैन : रिमाल
मुटु र फोक्सोमा समस्या आएपछि मानव शरीर ‘ब्रेन डेथ’को अवस्थामा पुग्छ र बिरामीलाई बचाउन पनि कठिन हुन्छ । तर ब्रेन डेथ भइनसकेको अवस्थामा कृत्रिम मुटु र फोक्सोबाट समेत बचाउन सकिने संभावना रहन्छ । निजी क्षेत्रमा यस्तो उपचार पद्धतिको सुरुवात ललितपुरको मेडिसिटी अस्पतालले गरेको छ । यसै सन्दर्भमा अस्पतालका महाप्रबन्धक विजय रिमालसँग न्युज कारोबारले गरेको कुराकानी :   अस्पतालहरुको यति ठूलो भीडमा मेडिसिटी किन खाेल्नुभयाे ? नेपालमा धेरै अस्पतालहरु छन् । तर सर्वसुलभ रुपमा गुणस्तरिय सेवा दिने अस्पतालको अभाव महसुस भयो । अन्यले भन्दा छिटो र अन्र्तराष्ट्रियस्तरको सेवा दिनुपर्छ भन्ने लाग्यो र त्यसको अभ्यास सुरु गरिसकेका छौं । एक्स्ट्राकर्पोयिल मेम्ब्रेन अक्सिनेसन (एक्मो) उपचार सेवा पनि सफलतापुर्वक सुरु गरिसकेका छौं । हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीलाई लक्षित गर्दै दुईवटा हेलिप्याड बनाइएको छ । बोनम्यारो, मृगौला तथा कलेजो प्रत्यारोपणसम्मका सेवा दिने लक्ष्य छ । एमआरआई, प्याथोलोजी ल्याब, सिटी स्क्यान, इन्डोस्कोपिक अल्ट्रासाउन्डका साथै अत्याधुनिक मोडुलर अपरेसन थिएटर र ब्लड बैंकको पनि व्यवस्था गरेका छौं । अब उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य भएको हाम्रो विश्वास छ । अन्तराष्ट्रियस्तरका प्रविधि तथा उपकरण र अनुभवी डाक्टरहरुको प्रयाप्त टोली हुनु यसको आधार हो । एक्मो उपचार सेवा शुरु गर्नुभएको छ, यसले उपचारका लागि विदेश जाने क्रमलाई रोक्छ त ? रोकीनुपर्छ । रोकीयोस भन्ने नै हाम्रो उद्देश्य हो । एक जना बिरामी साँझ साँढे ५ बजेतिर आउनुभयो । उहाँ मुटु र फोक्सोले काम नगरेर ‘ब्रेन डेथ’को अवस्थामा हुनुहुन्थ्यो । ब्रेन डेथ पनि २० प्रतिशतमा थियो । तर हामीले तत्काल इमरजेन्सीबाट एक्मो प्रविधिमा लग्यौं । केहि दिनमै उहाँको मुटु र फोक्सोले पुराका पुरा काम गर्न थाल्यो । यो हाम्रो सफल कार्य हो । यसले हामीमा हौसला थपेको छ । हामीले सेवाशुल्क पनि एकदमै न्युनतम लिने नीति लिएका छौं । बिदेशमा जाने आउने खर्च कटाएर होईन, बिदेशको तुलनामा केहि सस्तो दरमै उपचार सेवा दिन्छौं । भारतमा एक्मो प्रविधिबाट उपचार गराउँदा ७ देखि ८ लाख रुपयाँसम्म लाग्छ भने हामी ३ देखि ४ लाख मै सेवा प्रदान गर्न सक्षम छौं । तर रोगका आधारमा रकममा केहि तलमाथि हुन सक्छ । आम नेपालीको पहुँचमा त भएन नी ? यो प्रविधि बढि नै खर्चिलो हुन्छ । न्युनतम शुल्क लिनै पर्यो । टेस्ट्युबहरु लगायतका उपकरण पनि निक्कै महंगो हुन्छन् । उपचार संभव छ तर खर्च गर्न नसक्ने अवस्थामा के गर्ने ? सबैले सहयोग गर्नुपर्छ । सरकारले पनि सहयोग गर्नुपर्छ । हामी त्यो अवस्थामा बिरामीले पैसा छैन भन्यो भन्दैमा सेवा रोक्दैनौं तर सबैलाई सहयोग गरिदिन आव्हान गर्नेछौँ । धेरैलाई एक्मो उपचार पद्धती के हो भन्ने नै थाहा छैन, यसलाई कसरी चिनाउनुहुन्छ ? एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) प्रविधिले विशेष उपचारमा रहेका बिरामीहरुको हृदय र फोक्सोका कार्यहरु आकस्मिक रुपमा अस्थायी सहयोग गर्दछ । यस्तो उपचार पद्दतीका लागि उच्च गुणस्तरीय उपकरण र दक्ष चिकित्सकको उचित प्रबन्ध मिलाइएको हुन्छ । एक्मो प्रविधिले बाहिरी पम्पहरु र ओक्सिजनेटरको सहायताले रगतबाट कार्बन डाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसंचार सही बनाउन मद्दत गर्दछ । यो उपकरणले मुटु, फोक्सो वा दुवै अंगहरुलाई सहयोग पुर्याउँछ । एलुमिनियम फोस्पाइड विषादी भएका बिरामीहरुको मृत्युदर लगभग ९६ प्रतिशत हुनेमा एक्मोको साहायताले उपचार गर्दा मृत्युदर ३६ प्रतिशतमा घटाउन सकिन्छ । सामान्यतया असम्भव जस्तै मानिने जटिल न्युमोनिया, स्वाइन फ्लु र बर्ड फ्लुका साथै पानीमा डुबेकाहरुको आकस्मिक उपचारमा धेरै ठूला राष्ट्रहरुले एक्मो उपचार पद्दतीमार्फत बिरामीहरुको सफल उपचार गर्ने गरेका छन् । मानव शरीरका अंग प्रत्यारोपण गर्ने क्रममा मुटु, फोक्सो वा दुवैलाई चाहिने अक्सिजनयुक्त रक्तसञ्चारमा एक्मोले अस्थायी सहयोग प्रदान गर्दछ । यो सेवा अन्य जिल्लामा पनि विस्तार गर्ने योजना छ कि ? तत्काल छैन । हेलिकप्टरबाट हामी सिधै यहाँ ल्याउन सक्छौं । त्यसका लागि हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीलाई लक्षित गर्दै दुईवटा हेलिप्याड बनाइएको छ । अहिलेको कुरा गर्ने हो भने हाल ३ सय शैया हामीसँग छन् । यसलाई बढाएर ७ सय ५० पुर्याउने लक्ष्य लिइएको छ ।

सम्बन्धित खबरहरु