गृहपृष्ठ सिकाइ उपलब्धिको एक चुनौती : शिक्षक उपस्थिति
सिकाइ उपलब्धिको एक चुनौती : शिक्षक उपस्थिति
धनुषाका सामुदायिक विद्यालयको शैक्षिक अवस्था दिन प्रतिदिन खस्किदै जानुमा कक्षाकोठामा शिक्षकहरुको नियमित उपस्थिती पनि एक प्रमुख कारण हो । धनुषाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षकहरु नियमित रुपमा कक्षाकोठामा उपस्थित हुने गरेको छैनन् ।
केही समयअघिसम्म विद्यालयमा समेत महिनौंसम्म नजाने शिक्षकहरु अहिले विद्यालयमा उपस्थित हुने गरेको भए तापनि कक्षाकोठामा नजाने गरेको अनुगमनको क्रममा देखिएको धनुषाका लक्ष्मीनियाँ गाउँपालिकाका वाडा अध्यक्ष गंगा साहले बताएका छन् । विद्यालयमा वर्षौंदेखि एउटै शिक्षकहरु अध्यापनरत रहेकाले गर्दा शिक्षकहरुले समाजमा आफनो वर्चस्व कायम गर्दै विद्यालयमा अनुपस्थित हुने गरेको थियो । तर अहिले स्थानीय जनप्रतिनिधिहरुको अनुगमन बढेपछि विद्यालयमा उपस्थित हुने गरेको भएता पनि कक्षाकोठामा नियमित जान आनकानी गरिरहेको अध्यक्ष साहले बताए ।
धनुषाधाम नगरपालिका–४ का अध्यक्ष रामपरीक्षण यादवले विद्यालयमा शिक्षकहरु नपढाएर कुराकानी गर्दै समय विताउने गरेको र विद्यार्थीहरुको सिकाई उपलब्धी शुन्य भएकाले यसको जिम्मेवारीबोध गरिनुपर्ने समय आएको बताए । विद्यालयमा वर्षौंदेखि बालबालिकालाई पढाउने गरेको भन्दै सरकारी रकम बुझ्ने तर विद्यार्थीलाई नपढाउने शिक्षकहरुको भविष्य नरहेको बताएका छन् ।
अध्यक्ष यादवले भने अब जनप्रतिनिधीहरु जसरी भएपनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आमूल परिर्वतनका लागि अग्रसर हुने उल्लेख गरेका छन् । उनले शिक्षाको जिम्मेवारी स्थानिय तहमै आएकाले पनि सुधार गर्नै पर्ने दायित्वबोध भएको बताए ।
विद्यालयमा अनुगमन गर्न जाँदा अनुपस्थित हुने शिक्षकहरुलाई स्पष्टिकरण सोध्दै सचेत गराउँदै आएको बताउँदै अध्यक्ष यादवले शिक्षकहरु कक्षाकोठामा नियमित उपस्थित नहुदाँ विद्यार्थीहरुले पढ्ने वातावरण पाउन नसकेको बताए । यता, शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेकाले कमजोर भएको बताउने गरेका छन् । तर शिक्षकहरु कक्षाकोठामा नियमित नजाने प्रवृतिले विद्यार्थीहरु कमजोर हुनुको साथै विद्यालयमा अनुपस्थित हुने गरेको धनुषाको नगराइन नगरपालिका गंगुली पुर्वारी टोलास्थित राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तृपित महराको बुझाई छ ।
यसैबीच, धनुषाका ५० सामूदायिक विद्यालयमा नर्वेजियन राजदूतावासको आर्थिक सहयोगमा निक शिक्षा दिअ परियोजनाले विद्यालयमा विद्यार्थीहरुको नियमितता बढाउनुको साथै कक्षाकोठाको पढाई लेखाई गुणस्तरीय बनाउने अभियानमा केन्द्रित रहेको छ । २ वर्षको अभियानमा न्युन विद्यार्थी उपस्थितीलाई केही हदसम्म कम गर्दै विद्यार्थी उपस्थिती बढाएको छ ।
विद्यालयमा विद्यार्थीहरुको नियमितता बढाएको छ । विद्यार्थीहरुको कक्षाकोठा भित्रको सिकाई उपलब्धिमा लागि समेत विभिन्न प्रयासहरु समेत गरिदै आएको छ । कक्षाकोठा भित्र सिकाई उपलब्धि हासिल गराउनका लागि शिक्षकहकै सक्रिय सहभागितामा चुनौती देखिएको परियोजनाका लिडर राधा कोइरालाले बताउँछिन । कोइरालाका अनुसार अहिले विद्यालयमा शिक्षकहरुको उपस्थित बढेको देखिन्छ भने कक्षाकोठामा समेत गएका छन, तर विषयवस्तुअनुसारको शिक्षण सिकाई गर्नमा शिक्षकहरु पछाडि परि रहेका छन ।
प्रकाशित समय : २३:१० बजे