गृहपृष्ठ बुटवलमा मुलुकमै पहिलो शैक्षिक संगोष्ठीको तयारी
बुटवलमा मुलुकमै पहिलो शैक्षिक संगोष्ठीको तयारी
बुटवल उपमहानगरपालिकाले मुलुकमै पहिलोपटक बृहत शैक्षिक संगोष्ठी गर्ने भएको छ । देशभरका शिक्षा विज्ञ तथा यस क्षेत्रका सरोकारवालालाई बुटवलमा जुटाएर गर्न लागिएको संगोष्ठी मुलुकमै पहिलो प्रयास हो ।
अबको शैक्षिक पाठ्यक्रमका विषयमा बहस चलाउने र कार्यान्वयन गर्ने तीनै तहका सरकारमा खाका प्रस्तुत गर्ने गरी संगोष्ठी हुनेछ । यसको तयारीका लागि समिति गठन गर्दै तीन महिनाको समय दिइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सीपमूलक विषयसहितको अबको शैक्षिक पाठ्यक्रम कस्तो बनाउने र जनशक्ति उत्पादन तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा खाका तयार पार्न शैक्षिक संगोष्ठी गर्न लागिएको प्रमुख सुवेदीले बताए ।
स्थानीय, प्रादेशिक तथा राष्ट्रियस्तरका पाठ्यक्रममा मौलिकताको शिक्षा जोड्ने र कक्षा ९ देखि १२ सम्मको सीपमूलक विषयलाई समेत कसरी परिमार्जन गर्ने भन्ने विषयमा उपमहानगरले एउटा खाका तयार पारेर प्रस्तुत गर्नेछ । उपमहानगरपालिकाले नगर शिक्षा योजना निर्माण गर्नेदेखि मावि तहको सीपमूलक विषय, स्थानीय तहको पाठ्यक्रम बनाउन विज्ञहरुको समिति पनि गठन भइसकेको प्रमुख सुवेदीको भनाइ छ । आगामी शैक्षिक सत्रअगावै यो संगोष्ठी हुनेछ ।
‘शिक्षक, प्राध्यापक, इन्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, कलाकार, प्रशासक, कृषकलगायतका शैक्षिक जनशक्ति उत्पादन गर्ने भरपर्दो आधार शिक्षा नै हो,’ प्रमुख सुवेदीले भने, ‘विज्ञान, खोज, अनुसन्धान साथै प्राप्त भएका वस्तुको उपयोग, प्रशोधन र व्यवसायीकरणका बाटा र पाटालाई शिक्षाले सम्बोधन गर्नुपर्नेछ ।’ यसका लागि विज्ञहरुको समिति गठन भइसकेको छ ।
शिक्षाविद रामलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिमा विज्ञहरु आनन्दमान सिंह शाक्य, रामकृष्ण पछाईं, तारा पाण्डे, घनश्याम पाठक तथा प्रेमबहादुर बस्नेत छन् । कार्यदलका सदस्य सचिव तथा शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले समितिहरुले काम सुरु गरिसकेको जानकारी दिए ।
जनताको जीवनस्तर र राष्ट्रको सबैस्तर उठाउन सीपशक्ति युक्त जनशक्तिको निर्माण गर्ने उद्देश्यले शैक्षिक संगोष्ठी गर्न लागिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । देशभक्ति भएको सीपसहितको जनशक्ति नै आजको आवश्यकता रहेको उनले बताइन् ।
नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी उपसमिति, सीपसँगसम्बन्धी कार्यपत्र निर्माण उपसमितिहरुसमेत गठन भइसकेको शिक्षा महाशाखा उपसचिव पन्थीले जानकारी दिए । यी समितिहरुले तीन महिनाभित्रमा सबै काम सक्नेछन् । सीपयुक्त र दक्ष शक्तिको जगबाट नै बुटवल समृद्ध हुने ठहर गर्दै गर्न लागिएको शैक्षिक संगोष्ठी प्रभावकारी हुने बुटवलका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलको भनाइ छ ।
नगर शिक्षा योजना बनाउन कार्यदल
बुटवल उपमहानगरपालिकाले नगर शिक्षा योजना बनाउनका लागि कार्यदल गठन गरेको छ । विज्ञ छवि नेपालको संयोजकत्वमा गठन भएको समितिमा डबल वीसी, कृष्ण मल्ल, हेमबहादुर क्षेत्री, कुलराज शर्मा र गोविन्द ज्ञवाली रहेको शिक्षा महाशाखा प्रमुख पन्थीले बताए । उपसमितिले कान्ति माविमा रहेको स्रोतकेन्द्रको भवनमा कार्यालयसमेत स्थापना गरेर काम सुरु गरिसकेको छ । सामुदायिक र संस्थागत दुबै विद्यालयलाई यो समितिमा समेटिएको छ ।
स्थानीय पाठ्यक्रम निर्माणका लागि अर्को कार्यदल
यसैगरी बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यदल बनेको छ ।समितिमा बुद्धिसागर भट्टराई, राजेन्द्रकुमार आचार्य, टिकाराम न्यौपाने, धनिश्वर गौतम, रुद्रलाल उपाध्याय र मोतिराज पौडेल छन् ।
नगरभर एउटै पोसाकको तयारी
बुटवल उपमहानगरपालिकाले नगरपालिकाभरमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयमा एउटै पोसाक बनाउने तयारी गरेको छ । शैक्षित स्तरको न्यूनतम मापदण्डसमेत तोकेर सबै विद्यालयमा शिक्षक र विद्यार्थीको पोसाक एकैखालको बनाउने गरी तयारी गरिएको प्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरपालिकामा सामुदायिक विद्यायलको संख्या ३८ छ । यहाँ बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र, मदरसा, गुरुकुलसमेत सञ्चालित छन् । यस्तै विभिन्न तहका कक्षा सञ्चालन गर्ने संस्थागत विद्यालयको संख्या ५८ छ । सामुदायिक र संस्थागत विद्यालयमा सिकाइ केन्द्रदेखि कक्षा १२ सम्मका कुल विद्यार्थीको संख्या ५७ हजार पाँच सय सात छ ।
प्रकाशित समय : २२:३३ बजे