Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

रामसागर क्याम्पसका विद्यार्थी आन्दोलित, क्याम्पस प्रमुखलाई कालोमोसो

न्युज कारोबार काठमाडौं पुस २, २०७५       

रामसागर क्याम्पसका विद्यार्थी आन्दोलित, क्याम्पस प्रमुखलाई कालोमोसो
जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी क्याम्पस प्रशासनकाविरुद्ध सडकमा उत्रिएका छन् । राजपा पार्टीनिकट राष्ट्रिय विद्यार्थी संघ रामसागर रामस्वरुप बहुमुखी इकाइका अध्यक्ष दिनेश यादवको नेतृत्वमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । क्याम्पसको सरसफाइ हुनुपर्ने, नियमित पढाइलेखाइ हुनुपर्ने, कक्षाकोठामा शिक्षक नियमित जानुपर्ने, पुस्तकालयमा पुस्तक हुनुपर्नेलगायतका १९ सूत्रीय माग राख्दै महिनौंदेखि आवाज उठाए पनि क्याम्पस प्रशासनले बेवास्ता गरेकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी कुलदिप साहले जानकारी दिए । ‘आफ्ना जायज मागबारे जानकारी गराउँदा क्याम्पस प्रमुख विजयलाल दासले धम्कीपूर्ण भाषामा ‘पढ्ने भए पढ, नत्र अर्को क्याम्पसमा जाऊ’ भनेकाले विद्यार्थी थप आक्रोशित भएका हुन्,’ उनले भने । आक्रोशित विद्यार्थीले आइतबार क्याम्पस प्रमुख दासलाई कालोमोसो दलेर कार्यकक्षमै थुनेका थिए । विद्यार्थी एकता जिन्दावाद, क्याम्पसको शैक्षिक वातावरण सुधार गर, अब चल्दैन क्याम्पस प्रशासनको मनोमानीलगायतका नारा लगाउँदै जनकपुर नगर परिक्रमा गरेको विद्यार्थीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत क्याम्पसका समस्या र विद्यार्थीको मागबारे त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार क्याम्पस प्रमुखलाई कालोमोसो दलेर थुनेको एक घण्टापछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले ताला फुटाएको थियो । ताला फुटाउने क्रममा समाचार संकलनका लागि घटनास्थल पुगेका जनकपुरका सञ्चारकर्मी प्रमोद साहलाई प्रहरीले दुव्र्यवहार गर्नुका साथै उनको ज्याकेटसमेत च्यातिदिएको थियो । यसैबीच, पत्रकार महासंघ धनुषाले एक विज्ञप्ति जारी गरी समाचार संकलन गर्न घटनास्थल पुगेका पत्रकारमाथि प्रहरी प्रशासनबाटै आक्रमण हुनुले प्रेस स्वतन्त्रतामाथि ठाडो उल्लंघन भएको ठहर गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।   घटनापछि क्याम्पसका प्रमुख र सहायक प्रमुखको राजीनामा आइतबार विद्यार्थीले क्याम्पस प्रमुखलाई कालोमोसो गर्नुको साथै कार्यालयमा थुनेपछि विद्यार्थीको माग सम्बोधन गर्न छलफलमा बस्न लिखित विज्ञप्ति जारी गरेका क्याम्पस प्रमुख विजयलाल दासले एकाएक बेलुका नै राजीनामा दिएका छन् । उनले मंसिर २१ गते क्याम्पसको सहायक प्रमुख पदबाट राजीनामा दिएका रामनरेश ठाकुरको राजीनामा पनि स्वीकृत गरेका छन् । उनले सोमबार त्रिभुवन विश्वविद्यालयमा इमेलमार्फत राजीनामाबारे जानकारी दिएका छन् । क्याम्पसमा अहिले साइन्स फाँटका सहायक प्रमुख वीरेन्द्र यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । निमित्तको जिम्मेवारी पाएका सहायक क्याम्पस प्रमुख यादवले न्युज कारोबारसँगको कुराकानीमा विद्यार्थीको अधिकांश माग सम्बोधन भइसकेको बताए । ‘कति बजेट र समय लाग्ने काम भएकाले विस्तारै समस्या समाधान गरिनेछ,’ उनले भने, ‘सरकारी काम भएकाले ढिलो हुनु स्वाभाविक हो, विद्यार्थीले हतारमा माग सम्बोधन गर्न दबाब दिएका छन् ।’

सम्बन्धित खबरहरु