Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

बैतडीका १० मध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन

न्युज कारोबार काठमाडौं पुस ३, २०७५       

बैतडीका १० मध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन
आधारभूत स्वास्थ्य सेवा सुनिश्चत गर्ने उद्घोष गर्दै चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सरकारको बागडोर सम्हालेको डेढ वर्षसम्म पनि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् । कतिपय स्थानीय तहले भने सडक सञ्जाल नभएका कारण एम्बुलेन्स खरिद गर्न नसकिएको बताएका छन् । बैतडीका १० मध्ये सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिका एम्बुलेन्सविहीन छन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भने एम्बुलेन्स सेवा सञ्चालनमा छ । मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताए । सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । चाँडै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । दोगडाकेदार गाउँपालिकाले चालू आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैंले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए । यस्तै, शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ । पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मंगोलाले जानकारी दिए । सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडामा सडक सुविधा नपुगेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरिद गरिने जनाएका छन् । सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ । एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्य संस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता छ । विशेषज्ञ चिकित्सकको सेवा लिन र गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम तथा रिफर गर्नुपरेमा एम्बुलेन्सको अभावले झन् समस्या हुने गरेको छ । उता, दशरथचन्द नगरपालिकामा रहेको जिल्ला स्वास्थ्य कार्यालय र वडा नम्बर २ मा रहेको देहीमाडौं स्वास्थ्य चौकीमा एम्बुलेन्स सञ्चालनमा रहेको प्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिए । पाटनमा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि एम्बुलेन्स सेवा छ । पुर्चौडी नगरपालिकाले केही दिन अघिदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए ।

सम्बन्धित खबरहरु