Nepalese Flag २०७८ असार ८ गते मंगलबार   |   June 22, 2021

प्रसूति गृह थापाथलीमा वार्षिक २० हजार बच्चा जन्मिन्छन्

न्युज कारोबार काठमाडौं पुस ७, २०७५       

प्रसूति गृह थापाथलीमा वार्षिक २० हजार बच्चा जन्मिन्छन्
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा बर्सेनि २० हजारभन्दा बढी बच्चा जन्मिने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार यो संख्या बर्सेनि बढ्दो छ । अघिल्लो आर्थिक वर्षभरिमा १९ हजार महिलाले प्रसूतिगृहमा बच्चा जन्माएकोमा गत वर्ष २०७४/७५ मा २० हजारभन्दा महिला प्रसूतिगृहमा डेलिभरी भएका छन् । ‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा डेलिभरी गराउनेको संख्या बर्सेनि बढ्दो छ,’ अस्पतालका उपनिर्देक डा. गेहनाथ बरालले भने, ‘अन्य अस्पतालभन्दा यो अस्पताल महिलाका लागि विशेष भएकाले डेलिभरी हुन आउनेको संख्या बढ्दै गएको हो ।’   प्रसूतिगृहमा ३० प्रतिशत शल्यक्रिया प्रसूतिगृहमा डेलिभरी हुनेमध्ये ३० प्रतिशतको मात्र शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । डा. बरालका अनुसार थापाथली अस्पतालमा गत वर्ष ६ हजार ८२ जनाको शल्यक्रियापछि बच्चाको जन्म भएको छ । ‘७० प्रतिशत बच्चा सामान्य रुपमा जन्मन्छन्,’ उनले भने, ‘साधारणरुपमा बच्चा जन्माउन नसकेको अवस्थामा आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।’ शल्यक्रिया गर्नु जोखिम हुने र दीर्घकालका लागि समेत राम्रो नहुने भए पनि आमा र बच्चाको स्वास्थ्य कुशलताको लागि कहिलेकाहीँ गर्नैपर्ने बाध्यता आउने उनले प्रस्ट पारे । अस्पताल लैजाँदा–लैजाँदै बाटैमा बच्चा जन्मिए पनि महिलाहरु भर्ना हुने गरेका छन् । यसले बच्चा जन्मिएपछिको अवस्थामा समस्या जोखिम नहुने अस्पतालले जनाएको छ ।   जटिल अवस्थामा रिफर कतिपय अस्पतालहरुले बिरामी भर्ना गर्ने अनि डेलिभरी गराउन नसकेपछि प्रसूतिगृहमा रिफर गर्ने गरेका छन् । डा. बरालका अनुसार २०७४÷७५ मा ५ सय ८२ गर्भवती महिला अन्य अस्पतालबाट रिफर भएर आएका छन् । यसरी रिफर गर्ने अस्पतालहरुमा उपत्यका र बाहिर दुवैतिरका हुने गरका छन् ।   मंसिर-पुसमा बढी गर्भधारण विशेष गरी हिन्दू संस्कारअनुसार मंसिरमा विवाहको लगन धेरै हुन्छ । सोही महिनामा बढी गर्भधारण हुने गरेको तथ्यांकले देखाएको छ । जाडो महिना भएकाले कतिपय आकस्मिक गर्भ रहेको पनि हुनसक्ने बताइन्छ । प्रसूति गृहका अनुसार अन्य महिनाको तुलनामा भदौमा बढी डेलिभरी हुने गरेका छन् । गत वर्ष भदौमा मात्र एक हजार नौ सय १४ बच्चा प्रसूतिगृहमा जन्मिएका छन् ।   उमेर समूहको तथ्यांक छैन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नेपालकै सबैभन्दा ठूलो र धेरै डेलिभरी हुने अस्पताल हो । तर, अस्पतालले सबै किसिमका तथ्यांक अद्यावधिकमा गरेको पाइँदैन । कुन उमेर समूहमा बढी महिला गर्भवती हुन्छन् भन्ने सामान्य तथ्यांक पनि अस्पतालसँग छैन । अस्पतालका उपनिर्देशक डा. बरालले डेलिभरी हुन आउने महिलाको उमेरसम्बन्धी तथ्यांक अस्पतालसँग नरहेको जानकारी दिए ।

सम्बन्धित खबरहरु