गृहपृष्ठ विराटनगर आँखा अस्पतालमा ६८ हजार बिरामीको शल्यक्रिया
विराटनगर आँखा अस्पतालमा ६८ हजार बिरामीको शल्यक्रिया
विराटनगर आँखा अस्पतालले एक वर्षमा ६८ हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले वार्षिक समीक्षात्मक कार्यक्रममा गरी सो विषयमा जानकारी गराइएको हो । अस्पतालका कार्यक्रम निर्देशक डा. सञ्जयकुमार सिंहले २०१७ को जनवरीदेखि डिसेम्बरसम्म अस्पतालले ६८ हजार ५ सय ९८ जनाको शल्यक्रिया गरेको जानकारी दिए ।
एक आर्थिक वर्षमा सो संख्याको शल्यक्रिया गर्ने विराटनगर आँखा अस्पताल नेपालकै पहिलो भएको उनले बताए । सोही अवधिमा चार लाखभन्दा बढी बिरामीको आँखाको सफल उपचार गरिएको जानकारीसमेत उनले दिए । अस्पतालले गरेको समुदायगत कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संयोजक डा. सुधिर ठाकुरले अस्पतालले गएको वर्ष ३ सय निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको बताए ।
शिविरमा आएका बिरामीको निःशुल्क शल्यक्रिया र उपचार गरिएको उनले जनाए । आउँदो एक महिनाभित्र बिरामीले चश्मा लगाउन नपर्ने लैसिक सर्जरी प्रविधि भित्र्याउन लागेको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।
अस्पतालले आँखाको उपचार र शल्यक्रिया गर्नुका साथै पूर्णरुपमा दृष्टिविहीन भएर उपचार सम्भव नभएकाहरुलाई विभिन्न सीपमूलक तालिम दिएर पुनःस्थापनाको कार्यसमेत गरिरहेको छ । सेवा र सुविधाका हिसाबले सो अस्पताल विश्वकै तेस्रो ठूलो अस्पतालको रुपमा स्थापित भइसकेको दाबी अस्पताल प्रशासनको छ ।
प्रकाशित समय : ००:१९ बजे