Nepalese Flag २०७७ चैत २९ गते आइतबार   |   April 11, 2021

आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम

न्युज कारोबार काठमाडौं माघ २६, २०७७       

आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम
आर्थिक विकासका लागि कुनै पनि देशले धेरै क्षेत्रमा एकसाथ मेहनत गर्नुपर्ने हुन्छ । कुनै एक पाटोलाई मात्रै हेरेर स्थायी किसिमको विकास गर्न सम्भव हुँदैन । जस्तैः सरकारले करको दर र दायरा बढाएर छोटो अवधिमै धेरै कर उठाउन सक्छ र उक्त करले छोटो समयमा धेरै सार्वजनिक भौतिक संरचना निर्माण गर्न पनि सक्छ । त्यसबाट एकैपटकमा धेरै संख्यामा रोजगारी त सिर्जना हुन्छ तर त्यति नै बेला वस्तुको माग एक्कासि निकै बढेर महँगी बढ्ने हुँदा धेरै मानिसलाई यस्तो महँगीले ठूलो असर गर्छ । आवश्यक भौतिक संरचना बन्नु राम्रो हो, रोजगारी सिर्जना हुनु पनि राम्रो हो, साथै अलि‑अलि महँगी बढ्नु स्वाभाविक र आवश्यक पनि हुन्छ तर एक्कासि धेरै मात्रामा बढ्ने महँगीले चाहिँ अर्थतन्त्रलाई ठूलो हानी पुग्न सक्छ । त्यसैले आर्थिक विकासका लागि यस्तो जटिल बाटो हिँड्नुपर्छ, जसका विभिन्न आयाम हुन्छन तीमध्ये यहाँ तल्लो तहमा रहेर काम गर्ने मजदुरको काम र मामको बारेमा विशेष चर्चा गर्नेछु । विकास भन्नेबित्तिकै मानिसले आवश्यक काम गरेर भौतिक रुपले सुविधाजनक जीवन बिताउन सक्ने अवस्था हुनु हो । अब यो भौतिक रुपले सुविधाजनक जीवन बिताउन के‑के चाहिन्छ, त्यो‑त्यो बनाउ नुनै विकास हो । प्रकृतिमा हरेक कुरा निःशुल्क उपलब्ध हुन्छन्, जंगलबाट काठ निकाल्दा होस् वा जडिबुटी निकाल्दा होस्, जंगलले हामीसँग पैसा माग्दैन । साथै, खोलाकिनारबाट गिट्टी, बालुवा, ढुंगा निकाल्दा खोलाले हामीसँग कहिल्यै पैसा माग्दैन । खेतबारीमा लगाएको बालीनाली घर ल्याउँदा खेतबारीले पैसा माग्दैन । यसरी के बुझ्न सकिन्छ भने प्रकृतिमा निःशुल्क रुपमा उपलब्ध अनेकौँ स्रोत र साधन छन् । ती निःशुल्क रुपमा उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरी त्यसलाई प्रयोग योग्य सामग्री बनाउन मानिसको सीप र कामको आवश्यकता पर्छ । तिनै मानिसको सीप र कामको  प्रयोग भएपछि मात्रै कुनै पनि वस्तुको मूल्य निर्धारण हुने हो । जंगलमा लडिरहेको काठको कुनै मूल्य हुँदैन, जब त्यो काठलाई श्रम प्रयोग गरेर बजारसम्म ल्याइन्छ, तब त्यसको मूल्य पर्ने हो । त्यो मूल्य भनेको मुख्यतः त्यहाँसम्म ल्याउन कति श्रम प्रयोग भएको छ, त्यो आधारमा नै मूल्य तय हुने हो । अनि हरेक सामाजमा श्रमको मूल्य चाहिँ प्रतिस्पर्धाको आधारमा तय हुन्छ र त्यसमा आजकाल प्रायः देशले श्रमको न्यूनतम् मूल्य तोकेको हुँदा त्यसको वरिपरि नै श्रमको मूल्य तय भइरहेको हुन्छ । मुख्यतः त्यही श्रमको मूल्यको आधारमा सामानको मूल्य तय हुन्छ । अर्थशास्त्रको सुरुवात मानिसको आवश्यकताबाट हुन्छ । उदाहरणका लागि भोक लाग्छ, खानुपर्छ, शरीर छोप्नुपर्छ, कपडा चाहिन्छ, बस्नुपर्छ, घर चाहिन्छ, हिँड्नुपर्छ, साधन चाहिन्छ आदि । मानिसका अनेकौँ आवश्यकता छन्, ती आवश्यकता पूरा गर्न अनेकौँ सामान बनाउनुपर्छ । ती सामान बनाउन तिनै मानिसले काम गर्नुपर्छ । बल्ल चाहिएको सामान बन्छ र आवश्यकता पूरा हुन्छ । त्यसैले भनिन्छ, अर्थशास्त्रको सुरुवात मानिसको आवश्यकता, इच्छा र चाहनाबाट हुन्छ । जसलाई पूरा गर्न तिनै मानिसले विभिन्न वस्तुको उत्पादन र वितरण गर्नुपर्ने हुन्छ । विभिन्न वस्तु उत्पादन गर्ने भनेको तिनै मानिसको सीप र कामका साथै प्रकृतिमा उपलब्ध कच्चा पदार्थ जस्तैः माटो, पानी, ढुंगा, गिट्टी, बालुवा, फलाम, रुख, जडिबुटी आदिको समुचित प्रयोगले हो । त्यसका लागि सीप तथा क्षमताको विकास गर्नुपर्ने हुन्छ । सुरुमा मानिसले हातले काम गर्दै जाँदा सोच्दै पनि गए, यो कामलाई कसरी छिटो गर्न सकिएला भनेर । परिणामतः अहिलेको नयाँ प्रविधिको विकास भएको हो । प्रविधिको प्रयोगले सामान निकै छोटो समयमा धेरै बनाउन सक्ने हुँदा मानिसले  पहिलेभन्दा बढी सामान प्रयोग गर्ने अवसर पाएका छन् । त्यसैले आफूसँग जे‑जे छ, त्यो‑त्यो प्रयोग गरेर जीवन उपयोगी सामान छिटोछिटो बनाउने र आफूलाई बढी भएको सामान अर्को देशलाई दिने र त्यहाँबाट आफ्नो देशमा नभएको सामान ल्याउनु नै छिटो विकास गर्नु हो । गणितको अंक १, २, ३, ४, ५ गन्ने कुरा केवल मानेको मात्रै हो । १ देखि २ सम्म जति फरक छ, त्यति नै फरक २ देखि ३ सम्म पनि हुन्छ । त्यो फरक हरेक नजिकको अंकसँग समान हुन्छ भन्ने कुरा मानेको आधारमा आज जति पनि विज्ञानको चामत्कारिक आविष्कार भएको छ, त्यो सबै यही मानेको अंकको आधारमा भएको हो । तर, वास्तवमा अंक केवल काल्पनिक मान्यतामात्रै हो । ठ्याक्कै त्यस्तै जस्तो अर्थशास्त्रको सुरुवात मान्छेको आवश्यकताबाट सुरु भयो र कामबाट सामान बन्यो, अब त्यो बनेको सामान काम गर्ने मान्छेका बीचमा भागबण्डा लगाउन पहिले ढुंगा, सिपी, छाला, तामा, चाँदी, सुनलाई आदि अनेकौँ कुरालाई प्रयोग गरियो । अहिले आएर सुन, चाँदी, नोट, सिक्का र कम्प्युटरको अंकलाई पैसा मानिएको छ । जब सामान बनाएपछि मान्छेहरु बीच भागबण्डा लगाउन पैसाको प्रयोग गरियो, त्यसपछि अर्थशास्त्र सबैभन्दा जटिल विषय बन्न पुगेको हो । कुनै पनि देशभित्र बसोबास गर्ने मानिसलाई मिलाएर राख्न एउटा सरकार आवश्यक पर्छ । सरकारले जनताका आवश्यकता पूरा गर्न, तिनै जनतालाई मिलाएर राख्ने साथै आवश्यक काम गर्न उपयुक्त नीति, नियम र कानुन बनाएको हुन्छ । यी आवश्यक नीति, नियम र कानुन जुन देशले राम्रोसँग बनाएर काम पनि प्रविधिको विकास गरि छिटो‑छिटो आवश्यक वस्तु बनाए, ती देश धनी भए, जुन देश अनेक राजनीतिक खिचातानीमा अल्झिए, विकास भनेको नै पैसा हुनु हो भन्ने भ्रममा परे ती देशहरु गरिब भए । पैसा त यहाँ केवल भागबण्डा मिलाउने कामका लागि मात्रै प्रयोग गरिएको हो । खासमा चाहिएको त प्रयोग गर्ने वस्तुहरु पो हो भनेर जुन देशले छिटो बुझे, ती देशले छिटो‑छिटो सामान बनाउन के‑के गर्दा हुन्छ, त्यो‑त्यो गरेर विकास गरे । चीनले मानिसलाई सीप सिकायो, आवश्यक कच्चा सामग्री देशभित्र भएको आफ्नै प्रयोग ग‑यो र मानिसलाई जे चाहिने हो, त्यो छिटो बनायो। आफूले बनाउन सकेको सामान धेरै बनायो र संसारभरि बेचिरहेको छ । संसारबाट आफूलाई चाहिएको सामान खरिद गरिरहेको छ । यसरी चीनले आर्थिक विकासको लय र तरिका बुझेर छोटो समयमै चामत्कारिक विकास गर्न सकिरहेको छ ।
चीनले मानिसलाई सीप सिकायो, आवश्यक कच्चा सामग्री देशभित्र भएको आफ्नै प्रयोग ग‑यो र मानिसलाई जे चाहिने हो, त्यो छिटो बनायो। आफूले बनाउन सकेको सामान धेरै बनायो र संसारभरि बेचिरहेको छ ।
चाहे पुँजीवाद होस्, चाहे साम्यवाद होस्, चाहे समाजवाद होस्, खासमा आर्थिक रुपले केही फरक पर्ने कुरा होइन, जुन वाद भए पनि तिनै जनताले आफ्ना लागि आफैँ काम गरेर छिटो‑छिटो आवश्यक वस्तु उत्पादन र वितरण गर्नु नै धनी बन्नु र विकास हुनु हो । जुन देशमा अनेक कुरामा अल्झेर आवश्यक पर्ने सामानको निर्माणमा ढिला हुन्छ, त्यो देश गरिब हुने हो । हाम्रो देशमा भएको पनि त्यही हो । कहिले यो वादले हुन्छ कि भन्यो, कहिले अर्को वादले होला कि भन्यो भएन । किन भएन त भन्दा आवश्यक सामान उत्पादन गर्ने ठाउँमा काम गरिएन । चाहिएको सामान कुनै पनि हालतमा आफ्नै देशमा आफैँले बनाउनुपर्ने थियो तर त्यसो गर्नका लागि आवश्यक नीति निर्माण गर्ने योग्य मान्छे देशले पाएन । अर्थशास्त्र पढेको मान्छे त देशले पायो तर बुझेको मान्छे पाएन । राजनीति बुझेको मान्छे पायो र राजनीतिक व्यवस्था परिवर्तन भइरहे । गलत नीतिका कारण देशभित्रका उद्योग, कलकारखाना बन्द हुँदा युवा बिदेसिन बाध्य भए । पुँजीवादमा केही सीमित मानिसले लगानी गर्छन् । सामान उत्पादन गर्छन् । उत्पादित सामान बजारमा लगेर बिक्री गर्दासम्म धेरै मानिसले काम गरिरहेका हुन्छन् । सरकारले पनि तिनै सामानबाट कर लिन्छ र कर्मचारीलाई तलब दिनुका साथै आवश्यक सार्वजनिक भौतिक संरचना बनाउँदै जान्छ । अब यहाँ ती सामान बनाउन र वितरण गर्न काम गरिरहेका कामदार, सबै सरकारी कर्मचारीका साथै ती सामान बनाउन कच्चा सामग्री दिएका व्यक्ति सबैले त्यो व्यापारीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले पैसा पाएका हुन्छन् । ती सारा पैसा पाएका मान्छेहरु बजारमा गएर त्यही व्यापारीले दिएको पैसाले सामान किन्छन् । त्यो पैसा पुनः व्यापारीको हातनै पुग्ने हो । व्यापारीले पैसा बैँकबाट लिएका हुन्छन् । व्यापारीले त्यो पैसा फेरि बैंकलाई ब्याज र किस्ताको रुपमा तिर्दै जान्छन् । फेरि थप सामान उत्पादन गर्न नयाँ ऋण लिँदै जान्छन् । अब यो चक्र जति छिटो चल्छ, त्यति व्यापारी, बैंक, सरकार र काम गर्ने कर्मचारी सबैलाई फाइदा हुन्छ । जुन देशका जनताले काम गरेको पैसाले छोटो समयमा धेरै सामान खरिद गर्न सक्छन्, त्यो देशका जनता र देश पनि धनी र विकसित हुन्छ । पुँजीवाद व्यवस्थामा के सोचिएको हुन्छ भने बजार स्वतन्त्र हुन्छ, सबै व्यापारीले आफ्ना वस्तु बेच्न प्रतिस्पर्धा गरेका हुन्छन्, जसले गर्दा सामानको मूल्य कम हुन्छ, त्यसैले मानिसले काम गरेर छिटोछिटो सामान खरिद गर्छन् र विकास छिटो हुन्छ । तर, यहाँ के भयो भने व्यापारीले प्रतिस्पर्धा विज्ञापनमा गरी ठूलो खर्च गरे । बैंकहरुले पनि छोटो समयमा धेरै कमाउने लोभले ब्याज धेरै महँगो गर्ने गर्छन् । बैंकमा धेरै पैसा र लगानी सीमित मान्छेहरुको हुने हुँदा धेरै पैसा त्यतामात्रै जान्छ । अनि विज्ञापन गर्ने संस्थाका मालिक पनि पनि थोरै हुने हुँदा ठूलो पैसा त्यहाँ जान्छ । त्यसमाथि कर पनि छली हुन्छ । यी सबै कारणले उत्पादित सामानको मूल्य बढ्न जान्छ । जब सामानको मूल्य बढ्छ तब केही माथिल्लो तहमा काम गर्ने कर्मचारीले त किन्न सक्छन् तर तल्लो तहमा बसेर काम गर्ने र मजदुरहरुको संख्या निकै धेरै हुन्छ । त्यही ठूलो समूहले काम गरेर पनि सामान किन्न नसक्ने अवस्था आउनु नै गरिबीको मूल कारण हो । मजदुरले आफूले पाएको तलबबाट आवश्यक सामान सरासर खरिद गर्न सकेको भए व्यापारीले पनि उत्पादन बढाउँदै जान्थे र व्यापारीले पनि धेरै कमाउन सक्थे । तल्लो तहको मजदुरको सुविधा बढ्दै जान्थ्यो । अनि सरकारको राजस्वमा पनि वृद्धि भई ठूला भौतिक संरचना बन्ने थियो । तर, सबैलाई छोटो समयमा धेरै कमाउनुपर्ने लोभले अन्त्यमा सबैलाई घाटा भयो । कुनै पनि देशमा मजदुरको संख्या अधिक हुन्छ । प्रायः अति आवश्यक तथा महत्वपूर्ण काम पनि उनीहरुबाट नै हुने गर्छ । जतिसुकै राम्रो डिजाइनको भवनको नक्सा बनाए पनि त्यो नक्सालाई वास्तविक रुपले भवन बनाउन मजदुरबिना सम्भव हुँदैन । जतिसुकै राम्रो होटेल होस्, त्यसलाई सरसफाइ गर्न मजदुरले काम नगरी हुँदैन । कुनै पनि उत्पादन कार्य होस् वा त्यसको वितरणका लागि होस्, मजदुरको काम अपरिहार्य हुन्छ । यसरी महत्वपूर्ण काम गर्ने मजदुरलाई मानवीय रुपले पनि उच्च सम्मान र आर्थिक रुपले पनि सुविधाजनक जीवन जिउन सक्ने गरी जुन देशले आर्थिक नीति बनायो र त्यहीअनुसार काम गरे ती देशहरु विकसित र धनी बन्न सकेका छन् । हामी देख्न सक्छौँ, अमेरिका, युरोप, जापान, कोरिया आदि विकसित देशमा मानवीय रुपले पनि श्रमिकलाई राम्रो व्यवहार गरिरहेका हुन्छन् र आर्थिक रुपले पनि उनीहरुको जीवन सहज हुने तरिकाले न्यूनतम पारिश्रमिक तोकिएको हुन्छ । कुनै पनि देश र जनताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने मजदुरको हितमा आर्थिक नीति बनाएर काम गरियो भने त्योभन्दा माथिका कामदारलाई स्वतः नै बढी लाभ प्राप्त हुने नै भयो । व्यापारी, सरकार र अन्य सरोकारवालालाई पनि बढी लाभ प्राप्त हुन्छ । त्यसैले मजदुरको काम र माम नै विकासको मूल मन्त्र हो भन्न सकिन्छ । जब आर्थिक नीति बनाउँदा तल्लो तहको कामदारले काम गरेर धेरै सामान बनाउन सक्ने र फेरि तिनै कामदारले बजारबाट आफ्नो तलबबाट धेरै सामान खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ, तब मात्रै देशले छोटो समयमा ठूलो आर्थिक फड्को मार्न सक्छ ।

सम्बन्धित खबरहरु