Nepalese Flag २०७७ फागुन २५ गते मंगलबार   |   March 09, 2021

वालिङका महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन

न्युज कारोबार काठमाडौं फागुन १, २०७७       

वालिङका महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन
बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत व्यावसायिक रुपमा दुनाटपरी उत्पादन सुरु गरिएको हो । वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङ ८ छेउडाँडामा रहेको ‘छेउडाँडा शिल्पकला समूह’ लाई दुनाटपरी बनाउने तालिम तथा मेसिन हस्तान्तरण गरेको जानकारी दिए । 'मेसिनको प्रयोगले छोटो समयमै धेरै दुनाटपरी बनाउन सकिने भएको छ,' उनले भने । प्लास्टिकजन्य वस्तुको प्रयोगका कारण परम्परादेखि चल्दै आएको दुनाटपरी हराउँदै गएकाले यसको प्रयोग र संरक्षणमा जोड दिने गरी उद्योग स्थापना गरी व्यावसायिक उत्पादन थालिएको उनले बताए । 'हाम्रो समाजमा विवाह, व्रतबन्ध र पूजाआजामा दुनाटपरीको प्रयोग गर्ने गरिन्थ्यो,' उनले भने, 'तर प्रयोग हराउँदै गएको छ, यसलाई पुनः प्रयोग गर्नसकेमा जंगलमा त्यसै खेर गइरहेका पातबाट लाखौँ आम्दानी गर्न सकिन्छ ।' कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेका बेला यहाँ उत्पादन भएका दुनाटपरीको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनले जानकारी दिए ।   स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी सामूहिक रुपमा सीप सिकेर उद्योग स्थापनासँगै दुनाटपरी उत्पादन थालिएको स्थानीय गीता रनपालले बताइन् । सामूहिक रुपमा व्यवसाय थाल्दा काम गर्न पनि सहज र आम्दानी पनि लिन सकिने भएकाले महिला दिदीबहिनीको आर्थिक स्तर उकास्न सघाउ पुग्ने उनी बताउँछिन् । 'जन्म, मृत्यु तथा अन्य शुभ कार्यमा प्रयोग गरिने दुनाटपरी बनाउने सीपलाई थप व्यवस्थित बनाउँदै व्यावसायिक रुपमा विस्तार गर्ने उद्देश्य हाम्रो छ,' उनले भनिन्, 'तालिमपश्चात उद्योग स्थापना भएकाले यहाँका महिला दिदीबहिनी व्यावसायिक उत्पादनका लागि उत्साहित र आकर्षित हुनुभएको छ ।' दुनाटपरीलाई प्लाष्टिकका पुनः प्रयोग गर्न नमिल्ने भाँडाकुँडाले विस्थापित गर्दै गइरहेका बेला प्रविधिको प्रयोगका कारण निकै प्रभावकारी देखिएको छ । मेसिनको प्रयोगबाट छोटो समयमा धेरै दुनाटपरी बनाउन सकिने हुँदा यसलाई व्यवसायीकरण गरी यहाँका स्थानीयको जीवनस्तरमाथि उकास्न सकिने स्थानीय रनपालको भनाइ थियो । साना‑साना पात भए सिन्काले जोड्ने र मेसिनमा राखेपछि टपरीको आकार दिने र विभिन्न प्रकारका दुनाटपरी बनाउन सकिने भएकाले समयको वचतसँगै वातावरणीय प्रदूषणलाई समेत कम गर्ने उनले बताइन् । यहाँका ३० महिलाले सामूहिक रुपमा दुनाटपरी उत्पादनमा सक्रिय सहभागिता जनाएका छन् । (रासस)

सम्बन्धित खबरहरु