गृहपृष्ठ शिक्षामा बाजुराभन्दा पनि प्रदेश २ कमजोर : सञ्चारमन्त्री
शिक्षामा बाजुराभन्दा पनि प्रदेश २ कमजोर : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रदेश २ शिक्षाका क्षेत्रमा बाजुरा जिल्लाभन्दा पनि कमजोर रहेको बताएका छन् । जनकपुरमा संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा सोमबार सूचना प्रविधिमैत्री विद्यालय (स्मार्ट स्कुल) को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै बेला शिक्षाको उर्वर भूमि मानिने गार्गी, विद्यापति, माता सीता, भृकुटी, गोपालवंशीहरुको उद्गमस्थल शैक्षिक क्षेत्रमा पछाडि पर्नुको निकै कारण भए पनि यसको पछाडि नलागेर पुनः शैक्षिक जागरण ल्याउनतर्फ लाग्न जरुरी रहेको बताए ।
‘खस्किएको शिक्षालाई कसरी माथि उचाल्ने हो, त्यसका लागि स्थानीय सरकारका जनप्रतिनिधि, प्रदेश सांसद र संघीय सांसदले ध्यान दिनुपर्छ,’ उनले भने, ‘सर्वसाधारण जनतालाई चुनावका बेला दिएको आश्वासन पूरा गर्ने गरी काम गर्न सके यहाँको शैक्षिक अवस्था सुधार्न अरु गुहार्नु पर्दैन ।’
सूचना प्रविधिमैत्री विद्यालय निर्माणमा मन्त्रालयले संकट मोचन विद्यालयमा ८५ लाख रुपैयाँ खर्च गरेको छ । प्रविधिमैत्री विद्यालय निर्माणका लागि मन्त्रालयले विद्यालयमा ६० थान कम्प्युटर, १४ थान प्रोजेक्टर, १४ थान स्मार्ट बोर्ड, ४ थान प्रिन्टरलगायतका सामग्री प्रदान गरेको हो ।
प्रकाशित समय : ०२:३९ बजे