गृहपृष्ठ भोकाहरूको भर : आशाराम र अंशु
भोकाहरूको भर : आशाराम र अंशु
बुधबार दिउँसो ३ बजेर १० मिनेट गएको थियो । काठमाडौँको खुलामञ्च, जहाँ अहिले बसपार्क बनाइएको छ, त्यहाँ केही मानिस बसिरहेका थिए, केही भौँतारिइरहेका थिए । मोटर रोकेर उत्रनेबित्तिकै एकजनाले भनिहाले, 'हामीलाई नसोधी एउटै फोटो नखिच्नुहोला, हामीले खाको फोटो खिचेको हामीलाई मन पर्दैन ।' म चुपचाप उभिएँ । उनी बसेको ठाउँबाट उठे । सोधेँ, 'मदिरा सेवन गर्नुभा'छ ?' 'हो खाछु ।' अघि क्यामेराबाट तर्किन खोजेका उनलाई सोध्न चाहेको थिएँ, 'मदिरा खाने पैसा कहाँबाट आयो ?' भनेर तर पहिल्यै झ्वाँकिएको भएर सोधिनँ । तर, सम्झिएँ 'भातका लागि यिनले यति कष्ट उठाइरहेका छन्, रक्सी कहाँबाट जुट्यो होला त !' सबैलाई लक्षित गरी सोधेँ, 'यहाँ किन बस्नुभएको ?' एक जनाले भने, 'भात खान बसेको ।' उनैतिर केन्द्रित भएँ । उनी हाँडीगाउँका सानुभाइ महर्जन रहेछन् । 'त्यति टाढाबाट ?' 'के गर्ने हजुर भोक लागेपछि टाढा‑नजिक भन्ने हुँदैन रहेछ ।' 'वडाले राहत बाँडेन ?' 'वडाले लकडाउन भएको केही दिनभित्रै आठ किलो चामल दिएको थियो, त्यसपछि केही छैन । माग्न गयो भने 'सरकारले दिएको भए पो दिनु, अहिले छैन' भनेर पठाउँछन् । कति धाएँ, धाएँ । लौन हजुरले केही गर्न सक्नुहुन्छ कि !' 'के गर्नुहुन्थ्यो तपाईं ?' घरमै मेसिन छ, कटिङ गरेका कपडा ल्याएर सिलाउँथेँ, अहिले त सबै बन्द छ, लकडाउनको एक महिना त जसोतसो थेगियो, त्यसपछि गाह्रो भो ।' सुकुम्बासी रहेछन् । मलाई निकै सकस भयो । डायरीमा उनको नाम र नम्बर नोट गरेँ । तर, लगत्तै अरुले पनि सहयोग अपेक्षा गर्न थाले । उनी एक जनालाई १६‑१७ सय रूपैयाँमा एक बोरा चामल किनेर दिने विचार गरेको थिएँ । अरुले पनि नम्बर टिपाउन थालेपछि सोच्नुपर्ने स्थिति आयो । तर पनि टिपेँ‑ असन बस्ने प्रदीप कटवाल, खुलामञ्च बस्ने प्रकाश तामाङ, त्रिपुरेश्वर बस्ने दिनेश लकाई र अरु केही । अब मात्र म तामाङ भाइतिर फर्किएँ । 'यहाँ धेरै आउँछन् फोटो खिच्न ?' 'ए ! कति हो कति ? मुख‑मुखमा क्यामेरा जोड्न खोज्छन् । अनि युट्युबमा हाल्छन् रे ! हाम्रो मुख बेचेर कति कमाउँछन् ?' रक्सीको नसासँगै बाहिरिएको उनको आवेगलाई मैले बेवास्ता गर्न सकिन । सवाल‑जवाफ गर्नुको औचित्य पनि थिएन । म सानुभाइतिर फर्किएँ र भनेँ, 'पत्रकारहरू कहिल्यै त्यसो गर्दैनन्, पत्रकारिता तपाईंको समस्या होइन, समाधान हो । पत्रकारले तपाईंले दैनिक भातका लागि रत्नपार्क आउनुपर्नाको कारण खोज्छ, तपाईंको गरिबीमाथि मजाक उडाउँदैन ।' मैले त्यसो भनिरहँदा तामाङले के‑कति बुझे थाहा छैन तर भनिहाले, 'मैले खाएको भएर भनिहालेँ, तपाईंचाहिँ नरिसाउनुहोला है सर !' म हाँसेँ मात्र । बिहीबार बिहान हाँडीगाउँकै नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ता लक्ष्मण शर्मालाई फोन गरेँ । महर्जनको जिम्मा उनले लिए । अरुको बारेमा सोचिरहेको छु । ००० त्यतिबेलासम्म खुलामञ्चमा करिब २० जना थिए होलान् । मैले करिब १० मिनेट प्रतीक्षा गर्दा पनि नआएपछि बाल सचेतना केन्द्रका सदस्य अमृत कार्कीलाई फोन गरेँ । फोन गर्दागर्दै उनी म नजिकै आइपुगे । 'यहाँ त २० जनाजति मात्र छन्, यति हुन् र खाना खाने ?' उनलाई सोधेँ । 'उता हेर्नुस् न !' उनले वीर अस्पतालतिर देखाए । 'हन्ड्रेस' लेखेको एउटा ट्याम्पु भित्रिरहेको थियो । ट्याम्पुपछि‑पछि मानिसहरू आइरहेका थिए । एकैछिनमा करिब सयजना भेला भए । आकाशबाट टप्प‑टप्प खसेका ठूला पानीका थोपाले डायरीका पानाहरू ओसिलो बनाउन थाल्यो । बन्द गरेँ र झोलामा राखेँ । अरु केही महिला स्कुटरमा आए । म उनीहरूतिर सोझिएँ । परिचय लिएँ । उनीहरू विभिन्न क्षेत्रका समाजसेवी महिला रहेछन् । 'सडकबाट घर' र 'छोरीका लागि छोरी' अभियानका रिमा सुब्बा, शोभा थापा र सम्झना लामा राजवंशीहरू लामो समयदेखि हन्ड्रेस ग्रुपलाई भौतिक र आर्थिक सहयोग गरिरहेका रहेछन् । लकडाउनका कारण रोजीरोटी गुमाएकाहरूलाई खान खुवाउन पशुपतिनाथ नित्य आरति परिवारका प्रशासन सचिव मीरा शाह, सम्पदा संरक्षण समाज नेपालका अञ्जु रायमाझी, शिक्षक सोना वैद्यलगायत पनि लागेका रहेछन् । मैले अलि पालो मिलाएर उनीहरूसँग कुरा गरेँ । सबै मिलेर भोकाहरूलाई पेटभर खाना खुवाए । अब मलाई हन्ड्रेस ग्रुपका संस्थापक भेट्नु थियो । ००० नाम : आशाराम यादव । वर्ष : २४ । घर : जनकपुर र काठमाडौँ । शिक्षा : सिभिल इन्जिनियरिङ अध्ययनरत (बिई) । रुची : समाजसेवा । उनको बायोडाटा यति नै हो । अरु सबै कुरा उनले पछि हासिल गरे या कसैले दिए । तर, समाजसेवा जन्मजात आएको जस्तो लाग्छ, जुन उनको जीवनकै अभिन्न अंग बनेको छ । हन्ड्रेस ग्रुप केही वर्षअघि आशारामसहित तराईका तीन जना भएर खोलेको संस्था हो । सुरुमा यसले 'कपडा बैंक' स्थापना गरेर गरिबको सेवा गर्यो । अहिले लकडाउनमा रोजीरोटी गुमाएकालाई खाना खुवाइरहेको छ । ००० आशाराम लकडाउनको भोलिपल्ट खुलामञ्च पुगेका थिए । त्यहाँ धेरै मानिसलाई उनले चिन्तित मुद्रामा देखे । कोही बोरा ओछ्याएर नाम्लोको सिरानी लाएर सुतेका थिए । कोही टुक्रुक्क बसेर छेस्कोले जमिन कोरिरहेका थिए । उनलाई दुःख लाग्यो । सोधे, 'म खानाको व्यवस्था गर्छु, खानुहुन्छ ?' एकाएक उनीहरूको अनुहारमा चमक आयो । उनले त्यसको भोलिपल्टैदेखि खानाको व्यवस्था गरिहाले । लकडाउनका ७३ दिन (बिहीबार)मा उनले ६८ दिन खाना खुवाइसकेका छन् । दैनिक कम्तीमा ४०० जनाको हिसाब गर्ने हो भने २७ हजार छाकको हिसाब निस्किन्छ । तर, यो सबै उनले एक्लै गर्नुपरेन । उनले सामाजिक सञ्जालको भरपुर उपयोग गरे । सहयोगी हातहरू उनीसँग जोडिन यसले ठूलो सहयोग भयो । अहिले तरकारी किन्नु पर्दैन । अञ्जु रायमाझीका पिताश्री कृष्णबहादुर कुँवरले सबै जिम्मा लिनुभा'छ । चामल र दाल पनि बाहिरबाटै आउँछ । नपुग किनेर चलाउँछन् । दैनिक तीन बोरा चामल र सात किलो दाल पाक्छ । आशारामसँग छोटो अवधिमा अभियन्ताहरू नजिक भए । अहिले आशाराम 'अंशु' भएका छन् । अभियन्ताहरू 'अंशुका अंश' बनेका छन् । फुर्तिला अंशु 'दिदीहरू'को साथ पाएर दंग छन् । भन्छन्, 'अब त जति दिन पनि खुवाउन सकिन्छ ।' ००० बानेश्वरमा अंशुको न्यु जानकी गर्ल्स होस्टल छ । खाना त्यहीँ पाक्छ । खाना पकाउन बिहानैदेखि विभिन्न अभियानका दिदीबहिनी र अंशु खट्छन् । खाना लिएर ट्याम्पु रत्नपार्क, टंकेश्वरी (ताहाचल) र त्रिपुरेश्वर पुग्छ । भोका पेटहरू बौद्ध, जोरपाटी, कीर्तिपुर र साँखुदेखि आइपुग्छन् । बुधबार पनि रिमा, शोभा, मीरा, सम्झना र अञ्जुहरू बिहानैदेखि खाना पकाउन जुटे । ३ बजेसम्म एक‑एक कप कफी खाने समयमात्र जुट्यो । उनीहरू अरूलाई खाना खुवाइसकेपछि सडकमै बसेर खाना खान थाले । 'आज धेरै व्यस्त भइयो, कफीबाहेक केही खान पाइएन, धेरै भोक लाग्यो, खाएर मात्र टंकेश्वरी र त्रिपुरेश्वर जान्छौँ भनेर खान थालेको,' शोभाले भनिन्, 'अरुलाई खुवाएको खाना आफूले खान सक्ने खालको सफा र मिठो हुनुपर्छ भन्ने सन्देश पनि दिन खोजेका हौँ ।' हन्ड्रेस् ग्रुपलाई सहयोग गरिरहेका करिब १०‑१२ जनाले 'नेवारी भोज' भन्दै मजासँग पेटभर खाना खाए । ००० अमृत कार्कीले हन्ड्रेस् ग्रुपलाई सहयोग गरेको धेरै दिन भएको छैन । उनी खाद्य सामग्री जुटाउन, खाना पकाउन र बाँड्न सहयोग गर्छन् । उनको खास उद्देश्य भने अलि भिन्न छ । लकडाउन जारी रहँदा या खुलेपछि पनि भातका लागि सधैँ दुःख पाइरहेकाहरूलाई उनी अलि दिगो र भरपर्दो रोजगारीमा आबद्ध गराउन चाहन्छन् । बुधबार खाना खाइसकेर उभिएका केहीलाई उनी सोध्दै थिए, 'तपाईं के गर्न जान्नुहुन्छ ? कतै काम भेट्नुभयो गर्नुहुन्छ ? लकडाउनकै बीच पनि त कामका केही अवसर भेटिन्छन्, तपाईंसँग कुनै सीप छ ? यस्तै यस्तै… भातका लागि भौँतारिइरहेका मानिसको नाम, नम्बर र जानेको या रुचीका कुरा टिपेर उनीहरूका लागि रोजगारीको अवसर खोज्ने कार्कीको तयारी छ ।
प्रकाशित समय : २०:१७ बजे