Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

चार लाख सेयर लगानीकर्ताको 'डिम्याट अकाउन्ट दुरुपयोग'

न्युज कारोबार काठमाडौं साउन २८, २०७७       

चार लाख सेयर लगानीकर्ताको 'डिम्याट अकाउन्ट दुरुपयोग'
विश्लेषकहरुले सेयर लगानीकर्ताका गोप्य विवरण निजी कम्पनीहरूलाई दिएर दुरुपयोग नगर्न सचेत गराइरहेका बेला सानिमा क्यापिटलले चार लगानी लगानीकर्ताका अकाउन्ट निजी कम्पनीलाई बाँडेको छ । एनआरएन डेभलपमेन्ट एन्ड इन्फ्रास्टक्टरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको सानिमा क्यापिटलले करिब ४ लाख १८ हजार आवेदकको डिम्याट अकाउन्ट निजी कम्पनीलाई बाँडेको हो । एनआरएनले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ मंगलबार बाँडफाँड गरेको थियो । आइपीओका लागि ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँबराबरको आवेदन परेकोमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाए । ती लगानीकर्ताको विवरण सानिमा क्यापिटलले निजी कम्पनीलाई बाँडेको हो । एनआरएनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उषा खतिवडाले मंगलबार सानिमा क्यापिटलले कुनै पनि हालतमा निजी कम्पनीलाई लगानीकर्ताका गोप्य विवरण नदिने दाबी गरेकी थिइन् । 'डिम्याट अकाउन्ट लगानीकर्ताको अति गोप्य विवरण हुन्, कुनै हालतमा दिन मिल्दैन,' न्युज कारोबारसँगको कुराकानीमा मंगलबार बिहान उनले भनेकी थिइन्, 'मर्चेन्ट बैंकले त्यति गोप्य विवरण अरुलाई वितरण गर्छ भनेर म विश्वास नै गर्न सक्दिन ।' सानिमा क्यापिटलले लगानीकर्ताको डिम्याट अकाउन्ट दिउँसै निजी कम्पनीलाई बाँड्यो, उनीहरूले साँझ आफ्नो वेबसाइटमा अपलोड गरे । बुधबार बिहान यस विषयमा बुझ्न चाहँदा सिईओ खतिवडाले आफूलाई यसबारे त्यति आइडिया नभएको बताइन् । 'म अहिले धेरै व्यस्त छु,' उनले भनिन्, 'अर्को कुरा आफूलाई त्यति आइडिया नभएको विषयमा म टिप्पणी गर्न पनि चाहन्न ।' मंगलबारको कुराकानी स्मरण गराउँदा उनले 'आफू अत्यन्तै व्यस्त भएको' भन्दै फोन काटिन् । सानिमा क्यापिटलका बैंकिङ प्रमुख मन्दीप लुइँटेलले लगानीकर्ताका डिम्याट अकाउन्ट निजी कम्पनीलाई दिँदा दुरुपयोग नहुने तर्क गरे । 'डिम्याट अकाउन्ट निजी कम्पनीलाई दिँदा कसरी दुरुपयोग हुन्छ ?' उनले उल्टै प्रश्न गरे, 'हामीले अकाउन्टमात्र दिएका हुन्छौँ, उनीहरूलाई त्यसबाहेक अरु केही दिइएको हुँदैन ।' प्रमुख लुइँटेलले लगानीकर्ताले आफूले आवेदन गरेको कम्पनीको सेयर पर्‍यो कि परेन भनेर जान्ने अधिकार रहेकाले सञ्चारमाध्यमलाई दिइएको जिकिर गरे । 'लगानीकर्तालाई सूचना त दिनुपर्‍यो नि !' उनले थपे, 'सूचना दिनु हाम्रो दायित्व हो ।' लगानीकर्ताले सूचना पाउने स्रोत स्वयं सानिमा क्यापिटल, मेरो सेयरलगायत रहेको बारेमा जानकारी गराउँदा उनले आफूहरूले नराख्ने गरेको बताए । तर, विगतमा सानिमा क्यापिटलको वेबसाइटमा राख्ने गरिएको थियो । लगानीकर्ताको डिम्याट अकाउन्ट सुरक्षित हुने मर्चेन्ट बैंक स्वयं भए पनि सानिमा क्यापिटलको वेबसाइट बेलाबेलामात्र खुलिरहेको छ भने 'आइपीओ रिजल्ट' क्याटेगोरी हिजोदेखि खुलेको छैन । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भने सानिमा क्यापिटलले लगानीकर्ताका डिम्याट अकाउन्ट निजी कम्पनीलाई दिएर दुरूपयोग गरेको बताउँछन् । 'लगानीकर्ताका अकाउन्ट निजी कम्पनीलाई बाँड्ने अधिकार कुनै पनि मर्चेन्ट बैंकरलाई छैन,' उनले भने, 'यहाँ गलत भइरहेको छ, नियामक धितोपत्र बोर्डले तत्काल यसलाई सच्याउनुपर्छ ।' त्यस्तै केसीएल अस्ट्युट लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई पनि निजी संघ‑संस्थालाई डिम्याट अकाउन्ट दिनु गतल भएको बताउँछन् । ‘विगतमा जस्तो अहिले लगानीकर्ताको डिटेल नै दिने गरेको पाइँदैन,’ उनी भन्छन्, ‘तर लगानीकर्ताको कुनै पनि विवरण निजी संघ‑संस्थालाई दिनु ठिक होइन, यस विषयमा धितोपत्र बोर्डले निर्णय उपयुक्त निर्णय लिनुपर्छ ।’ नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना ‘परम्परा’लाई निरन्तरता दिइएको बताउँछन् । ‘सबै सूचना दिनुहुन्न भनेर अकाउन्ट नम्बर र परे/नपरेको जानकारी मात्र दिने निर्णय गरेका थियौँ, अहिले त्यही भइरहेको छ,' उनी भन्छन्, 'यसबारेमा अझै बुझेर निर्णय लिनेछौँ । लगानीकर्ताका व्यक्तिगत विवरण सुरक्षित राख्नु हाम्रो दायित्व हो, सरोकारवालासँग छलफल चलाएर नियमन गर्न सकिन्छ ।’ यो पनि पढ्नुहोस्

डिम्याट अकाउन्ट दुरुपयोगको आशंका, धितोपत्र बोर्ड भन्छ‑ नियमन गर्छौं

सम्बन्धित खबरहरु