Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

न्युज कारोबार काठमाडौं मंसिर २६, २०७७       

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान
राजस्व अनुसन्धान विभागले कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको छ । लामो समयदेखि बोटलर्स नेपालको वित्तीय कारोबारमाथि निगरानी राख्दै आएको विभागले यसै साता कम्पनीमा छापा मारी दस्तावेजहरू नियन्त्रणमा लिएको हो । बोटलर्स नेपालको सेयर स्वामित्व गुपचुप बेचेर नेपाल सरकारलाई तिर्नुपर्ने करोडौँ रूपैयाँबराबरको राजस्व छली गरेको अभियोगमा विभागले छानबिन सुरु गरेको हो । ‘बोटलर्सको सेयर किनबेचमा ठूलै चलखेल भएको पाएका छौं, लामो अनुसन्धानपछि कम्पनीमा छापा मारेर लेखासम्बन्धी दस्तावेजहरू, कम्प्युटरलगायतका उपकरण नियन्त्रणमा लिइएको हो,’ विभागका एक अधिकारीले न्युज कारोबारसँग भने । स्रोतका अनुसार बोटलर्स नेपाल लिमिटेडको मूल स्वामित्व धारक दुबईस्थित कोकाकोला साउथ वेस्ट एसिया होल्डिङ्गसमार्फत स्वामित्व किनबेच भए पनि नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी राजस्व छलेको अभियोगमा छानबिन सुरु गरिएको हो । ‘बोटलर्सका सेयर किनबेच प्रकरणमा एनसेलको भन्दा फरक र चलाख्याइपूर्ण तरिकाले स्वामित्व हस्तान्तरण भएको देखिन्छ,’ स्रोत भन्छ, ‘नेपालको सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को)ले द कोकाकोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई सन् २०१४ मा नै बेचेको भए पनि स्वामित्व हस्तान्तरणबारे नेपालका सरकारी निकायलाई कुनै जानकारी नै दिइएन ।’ विभाग स्रोतका अनुसार यो सेयर किनबेच प्रकरणमा १ अर्ब रूपैयाँका हाराहारीमा राजस्व छली भएको प्रारम्भिक अनुमान छ ।‘ सेयर कतिमा किनबेच गरियो र मूल स्वामित्व हेरफेर कसरी गरियो भन्ने यहाँ (नेपाल)मा दस्तावेज नै नराखेको वा लुकाएको पाइयो, यसबारे हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ । पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता रहेको बोटलर्स नेपाल अन्तर्गत अहिले नेपालमा तीन वटा कम्पनी बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि दर्ता भइ कारोबार गर्दै आएका छन् । बोटलर्स नेपालको वार्षिक प्रतिवेदनअनुसार यसको अधिकृत पुँजी ४३ करोड र चुक्ता पुँजी १९ करोड ४८ लाख रूपैयाँबराबरमात्र छ । कम्पनीले नेपालका ७६.१७ प्रतिशत स्वामित्व कोकाकोला साउथ वेस्ट होल्डिङ्स लिमिटेडको, २२ प्रतिशत सेयर खेतान ग्रुपअन्तर्गत गोर्खा ब्रुअरीको र १.९८ प्रतिशत सेयर सर्वसाधारणको देखाउने गरेको छ । सेयर स्वामित्व हेरफेरपछि विगत ६ वर्षदेखि कम्पनीको व्यवस्थापन भारतीय व्यवस्थापकहरूले हेर्दै आएका छन् । भारतीय व्यवस्थापकले कारोबारको मूल दस्तावेज नै लुकाएर नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरेपछि यसका अनुसन्धान सुरु गरिएको हो । यसले  आर्थिक वर्ष २०७५/७६ मा १३ अर्ब ७३ करोड ५० लाख रूपैयाँबराबरको कारोबार गरी ३ अर्ब रूपैयाँ नाफा कमाएको थियो । सेयर स्वामित्व किनबेच भएको वर्ष सन् २०१४ मा स्टक एक्सचेन्जमा औसत १६६० रूपैयाँमा प्रतिसेयर कारोबार भएको थियो । बजार मूल्यका आधारमा भन्दा पनि कारोबार रकम (कम्पनीको कुल बिक्री तथा नाफा संरचना)का आधारमा स्वामित्व किनबेच भएको विभागको अनुसन्धानले देखाएको छ ।  

सम्बन्धित खबरहरु