fbpx
Nepal Mediciti

गृहपृष्ठ राजपाको अवरोधपछि आजको संसद् बैठक स्थगित

राजपाको अवरोधपछि आजको संसद् बैठक स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै अवरोध गरेपछि आइतबारको संसद् बैठक स्थगित भएको छ ।

बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ । संघीय संसद्, प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाउँदै सांसदहरुले उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म संसद् चल्ने नदिने बताएका थिए । बैठक सुरु हुने बित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय मागेर बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्णले आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि पनि सरकारले सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरेको भन्दै विरोध जनाए ।

सांसद कर्णले भने, ‘मधेसमा विभिन्न चरणमा भएका आन्दोलन, मानवअधिकारलगायतको विषयमा अध्ययन गरिएको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै रेशम चौधरीलाई थुनामा राखिएको छ ।’

मधेस आन्दोलनको विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । उक्त आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाले कडा आपत्ति जनाएको छ ।

सभामुख महराले उक्त विषयलाई सरकारको ध्यानाकर्षण गराएको र त्यसबारे सरकार गम्भीर भएको बताएका थिए ।

प्रकाशित समय १८:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु