गृहपृष्ठ प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् । सभापति देउवाले भने, ‘सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।’ सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएर विसं २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहनुभएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनले योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए ।

पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरेका थिए ।  (रासस)

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु