fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ महिला दिवस मनाउन उमेर कति चाहिन्छ म्याम ?

महिला दिवस मनाउन उमेर कति चाहिन्छ म्याम ?

sitaoli_badibasti_newskarobar

‘भोली विहानै जानुपर्छ है सीता जी झुप्रा खोलाको वादी बस्तीमा’ । मैले पनि वादी बस्तीमा जाने भनेपछि हुन्छ भनिहालें । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक सुर्खेतका प्रतिनिधि बिन्दुलाल रेग्मीले कार्यक्रमको रिपोर्टिङका लागि भनेपछि मैले पनि जाने सुरसार गरेँ ।

बिहान करिब सवा सात बजेतिर म र केड नेपालकी वकालत अधिकृत लक्ष्मी चन्दको स्कुटीमा बसेँ र हामी दुई जनता त्यतातिर लाग्यौं । बिन्दु सर, ईन्सेककी कर्णाली प्रदेश अधिकृत लक्ष्मी भट्टराई र मानव अधिकारकर्मी लक्ष्मी शर्मा केही ढिला गरी वादी बस्ती पुग्नुभयो ।

वीरेन्द्रनगर नगरपालीका-११ झुप्राखोलामा रहेको उक्त बस्तीमा पुग्न रत्नराजमार्गबाट करिब एक किलोमिटर तल झर्नुपर्छ ।

हामी पुग्दा बस्तीमा माहोल अर्कै थियो । कसैले आज यहाँ के कार्यक्रम रहेछ भनेको सुनिन्थ्यो, भने कोही बेल्चा बोकेर खोलातिर झरेको पनि देखिन्थ्यो । खोलाको किनारमा साना-साना झुप्रा । शौचालय खासै देखिँन । साना-साना नानीहरुको आङमा कपडा थिएन । खाली खुट्टै कोही बालुवा सोहोर्नमा व्यस्त देखिन्थे ।

म नजिकैको विद्यालयको चौरमा बसेँ । बिन्दुसर कार्यक्रमका सहभागी हुनेहरूको खोजीमा गाउँ पस्नुभयो । कार्यक्रमका लागि विहान ८ बजेको समय तय भए पनि बस्तीमा भने ११ बजेको लागि खबर गरिएको रहेछ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अघिल्लो दिन भएर होला वीरेन्द्रनगरमा धेरै कार्यक्रम थिए । त्यसैले कार्यक्रमको समय परिवर्तन गरिएको रहेछ । बिन्दु सर गाउँमा पसेर १५-२० जना साथमा लिएर आउनुभयो । त्यसपछि बस्तीकै एकजना बालकुमारी वादी र स्वयम्सेविका तारा वादीको पहलमा कार्यक्रममा करिब ७० जनाको उपस्थिती भयो ।

सुरुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा जानकारी दिइयो । तर, एकदुईजनाबाहेक कसैलाई पनी दिवसको बारेमा जानकारी रहेनछ । दिवसको सुरूवात र महत्व लगायतका विषयमा जानकारी गराउँदा गराउँदै  एकजना दिदी उठेर सोध्नुभयो- ‘यो दिवस मनाउनका लागि उमेर कति चाहिन्छ ?’

झुप्रा खोलास्थित वादी बस्तीकी पार्वती वादीको यो प्रश्नले एकछिन सन्नाटा छायो । बुझ्दै जाँदा उहाँहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा कसैलाई जानकारी रहेनछ ।

वादी बस्तीमा विद्युत्, खानेपानी, सञ्चार लगाएतका कुनै पनि सेवासुविधा छैनन् । बालबालिकाहरूको पठन पाठनका लागि बस्तिमा प्राथमिक तहको विद्यालय छ, त्यसमाथिको विद्यालय त्यहाँ छैन ।

होटेलभित्र अनुत्तरित दुई प्रश्न

सोही दिन झुप्रा खोलास्थित वादी बस्तीको कार्यक्रम सकेपछि रिपोटिङका क्रममा विभिन्न कार्यक्रममा गएँ । वीरेन्द्रनगर नगरपालिका, सामाजिक विकास मन्त्रालय लगायतले भने होटेलमा धुमधामका साथ अन्तर्रराष्ट्रिय श्रमीक महिला दिवस मनाइरहेका थिए ।

कार्यक्रममा गन्यमान्य व्यक्तिको बाक्लो उपस्थिती थियो तर, वादी बस्ती र वादी बस्तीहरूको खासै प्रतिनिधित्व भने थिएन ।

मैले सोधेँ- कार्यक्रम होटेलमा मात्रै सीमित राख्ने कि तल्लो तहसम्मका दिदिबहिनीसम्म पनि लैजाने ?

मैले जवाफ पाइनँ ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पनि प्रश्न गर्नुभयो- शहरमा बस्नेसँग सञ्चार सुविधा छ । यसै पनि यो दिवसको बारेमा जानकारी हुन्छ । गाउँमा बस्ने हाम्रा आमा बज्यैलाई यो दिवसको बारेमा कसले भन्ने ?

अध्यक्ष भारतीलाई पनि यस प्रश्नको जवाफ कसैले दिएन ।

 

कहालीलाग्दो दृष्य

वादी बस्तीमा भएको कार्यक्रममा सहभागी करिब ७० जनामध्ये १५-२० जना भने कलिला अनुहारका थिए । उनीहरूले आफ्नो साथमा एक दुईवटा नानी च्यापेका थिए ।

त्यसैमध्येकी एक हुन्- रञ्जु वादी । जसको १५ वर्षकै उमेरमा विवाह भयो, साथमा एउटा छोरा छ । विवाह गरेको केही वर्षमै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको उनले बताइन् ।

आफूले नजानेरै विवाह गरेर पाएको दुःख अरुले नपाउन् भन्ने चाहे पनि रोक्न नसकेको उनले बताइन् ।

मञ्जुका अनुसार करिब १ सय १६ घर वादी बस्तीमा खासगरी बालिकाहरू बालविवाहको सिकार हुने गेका छन् ।

सिर्जना वादीले पनि १५ वर्षमै विवाह गरिन्, अहिले उनी १९ वर्षकी भईन् । दुईजना छोराछोरीकी आमा उनलाई पढ्ने रहर थियो । विवाह गरेकै कारण पढ्न पाईनन् । खानेपानी, विद्युत्, स्वास्थ्य, तथा शिक्षाबाट समेत बञ्चित बस्तीमै अब उनीहरुको बालबालिकाले पनि आमा र बा जस्तै बालविवाहको शिकार बन्नु पर्ने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न ।

 

बालविवाहका कारण पाठेघरको समस्या

दिवसको अबसरमा पाठेघर खस्ने समस्याका बारेमा पनि जानकारी दिइएको थियो । पाठेघर खस्ने समस्याका बारेमा जानकारी दिँदै गर्दा सहभागी वादी महिलाहरूका बीचमा खासखुस चल्न थाल्यो । यसको अर्थ थियो सहभागीहरूमा पाठेघरको समस्या छ ।

खुलस्त भन्न आग्रह गरेपछि एकजना सहभागीको प्रश्न आयो- मेरो पनि पाठेघरको समस्या छ, उपचार कहाँ हुन्छ ?

त्यसबखत उहाँलाई स्वास्थ्य संस्थामा जान र लाज नमानी आफ्नो समस्या राख्न सुझाव दिइयो ।

यस्ता समस्या भएका त्यहाँ अरू पनि रहेछन् । आर्थिक अवस्थाका कारण रोग पाल्नुपर्ने बाध्यता पनि उदेकलाग्दो रहेछ । यी र यस्ता समस्याको जड बालविवाह हो भन्ने उनीहरूलाई पनि थाह थियो । तर के गर्नु ? बा-आमाले सानैमा विहे गरिदिइहाल्छन् !

 

स्वास्थ समस्याले निम्त्याएको घरेलु हिंसा

नाम नभन्ने शर्तमा एकजना महिलाले यहाँका अधिकांश पुरुषहरु कूलतमा फसेको र सबै काम महिलाले मात्रै गर्नुपर्ने भन्दै गहभरी आँशु पर्नुभयो । उहाँ त्यसरी रूनुको कारण थियो, राति आएर श्रीमानले कुटपीट गर्छन् । यो मेरो मात्रै समस्या होईन यो बस्तीको साझा समस्या हो- उनले भनिन् ।

बस्तीका धेरै महिलामा स्वास्थ्य समस्या छ । जसका कारण उनीहरूले सोचेजति काम गर्न सक्दैनन् । उपचार नपाउने समस्या त छँदैछ । काम गर्न नसकेपछि कमाइ कम हुन्छ, जसका कारण श्रीमानको यातना सहनुपर्छ ।

वादी बस्तीका महिलाहरू विहान उठेदेखि खोलाको वालुवामा काम गर्छन्, श्रीमानहरू कोही राजनीतिक पार्टीका कार्यक्रममा र यस्तै यस्तै कार्यक्रममा सहभागी हुन्छन् । नजिकनै न प्रशासन छ न फोन लाग्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत रहेको विरेन्द्रनगर नगरपालिकाको वास्तविकता हो यो । जहाँ वादी महिलाहरू, हेरिरहेछन्, राज्य आउने बाटो, पर्खिरहेछन् सरकारको उपस्थिती र चाहीरहेछन्- राज्यले आफ्ना नागरिकलाई गर्ने कर्तव्य । तर, यसैको माग गर्दै सडक बन्द गर्न नारा जुलुस लाउन निस्केका छैनन् । उनीहरूलाई सँधैभरी एउटै चिन्ताले पिरोल्छ- विहान खाए बेलुका के खाने ? बेलुका खाए विहान के खानु ?

प्रकाशित समय १५:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु