nmb bank

गृहपृष्ठ सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ

सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ

सम्पादकीय : प्रदीप गिरि हुनुको अर्थ

प्रदीप गिरि किन आम नेपालीको मनमस्तिष्कमा बसे ? उनको निधनले नेपाली समाजलाई किन हल्लायो ? यी दुई प्रश्नको एकल जवाफ हो- किनकि नेपाली राजनीतिमा प्रदीप गिरिहरुको खाँचो छ ।

फोहरी र पाखण्डीशैलीमा अभ्यस्त नेपाली राजनीतिदेखि बौद्धिक क्षेत्रमा प्रदीप गिरिहरुको सधैँ अभाव रह्यो । किनकि उनी सिद्धान्तनिष्ठ हुनुका साथै बौद्धिक व्यक्तित्व थिए । नेपालको सन्दर्भमा मात्र होइन, उनी जत्तिको राजनीतिक चिन्तक कमसेकम दक्षिण एसियामै औंलामा गन्न सकिनेमात्र छन् ।

‘भन्ने एउटा गर्ने अर्को’ जुन प्रवृत्ति अहिले नेपाली राजनीतिमा देखिएको छ, त्यसबाट पृथक थिए, गिरि । कमसेकम उनमा पाखण्ड थिएन । बौद्धिक अहंकार पनि थिएन । खास अर्थमा उनी सच्चा समाजवादी थिए । जीवनशैली सुहाउँदो विचार थियो । विचार सुहाउँदो जीवनशैली थियो । यसैले नेतागिरी गर्नेलाई घृणा गर्न थालेको नेपाली समाजले यी नेताको महाप्रस्थानलाई सहजै लिन सकेन ।

पद, प्रतिष्ठा, धनदौलत, शानसौकतजस्ता आडम्बरमा कहिल्यै पनि अल्झिन नरुचाएका गिरि खासमा जहिले पनि प्रतिपक्षीको भूमिकामा रहे । नेपाली कांग्रेसमै रहेर जीवन बिताएका उनले आफ्नो ब्रम्हले देखेको कुरा बोल्न, लेख्न कहिल्यै लघुताभास देखाएनन् । पार्टी नेताहरु बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको कार्यशैलीलाई नजिकबाट नियालेका गिरिले कतिपय मुद्दाहरुमा आफ्नो विमती राखे । त्यो पनि मुढेबलमा होइन, तार्किक आधारमा । किनकि उनी कुनै पनि किसिमको लोभलालच र ‘नेता रिसाउलान्’ भन्ने भयबाट ग्रस्त रहेनन् । यसैले त उनी प्रदीप गिरि भए ।

प्रदीप गिरिबिनाको संसद के संसद ! जब उनी रोष्टममा उभिएर समसामयिक बिषयमा धाराप्रवाह बोल्थे, पुरै सभाले उनलाई सुन्थ्यो । संसदको गरिमा कायम राख्दै संसदलाई बौद्धिक छलफल र बहसको केन्द्र बनाउने ल्याकत अहिलेको संसदमा केवल गिरिसँगमात्र थियो । दोस्रो व्यक्तिको नाम लिन खोजे पनि सहजै भेटिदैन ।

विधिको शासनका हिमायती अनि लोकतन्त्रको मूल्य, मान्यता र आदर्शबाट सधैँ प्रेरित गिरिलाई आममानिसहरु मुर्धन्य राजनीतिक प्राणी त मान्थे नै उच्चकोटीका विचारकको रुपमा पनि स्वीकारेका थिए । कम्युनिष्टहरुलाई कम्युनिज्मको ट्युसन पढाउन सक्ने हैसियत राख्ने गिरिले आममानिसका मुद्दालाई सधैँ नै केन्द्रमा राखे । अहिले प्रमाणित भएको छ, यसैले उनी नेपाली जनको मन–मनमा बसेका रहेछन् ।

साम, दाम, दण्ड, भेद अपनाएर जसरी पनि सत्तामा पुग्ने र त्यहाँबाट शक्तिको दुरुपयोग गरेर धन आर्जन गर्ने अहिलेको नेपाली राजनीतिको यथार्थ हो । हो, यहीनिर प्रदीप गिरि त्यो प्रवृत्तिका लागि ठूलो व्यंग्य पनि हुन् । वैचारिक खडेरीको बेला उनी एक भरोसा थिए । त्यागको एउटा उदाहरण थिए । धेरैका लागि उनको अग्लो यही व्यक्तित्व पाच्य थिएन । नेपाली राजनीतिमा प्रदीप गिरिको उदयले जो-जसलाई बिझेको थियो, ‘प्रदीपको दिप’ निभेपछि धेरैका लागि हाइसुख्ख पनि भएको हुनसक्छ । किनकि गिरिजस्ता कपट र पाखण्डरहित सादगीपूर्ण जीवन बिताउने व्यक्ति नेपाली राजनीतिका लागि सहज पनि होइन ।

पृथ्वीलोकबाट गिरिको बिदाइले नेपालले धेरै कुरा गुमायो । गिरिले त के गुमाए र ! हाडछालाको एक ज्यानबाहेक । जतिबेला विशेषगरि नेपाली राजनीतिमा बौद्धिक विमर्शका लागि गिरिको आवश्यकता थियो, त्यहीबेला उनले महाप्रस्थानको बाटो रोजे । माटोको शरीर माटोमै मिल्यो । उनी ब्रम्हाण्डमा बिलाए ।

तर प्रदीप गिरि नेपाली मस्तिष्कमा सधैँ विराजमान भइरहनेछन् । तर भारी मनका साथ भन्नैपर्ने हुन्छ– प्रदीप गिरि अब भौतिक रुपमा हामीमाझ रहेनन् । यो रिक्तताले नेपाली राजनीति र समाजले कति ठूलो मूल्य चुकाएको छ भन्ने महसुस हामीलाई सधैँ नै हुनेछ । किनकि हामीले प्रदीप गिरि हुनुको अर्थ त्यसैबेला बुझ्नेछौं ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु