fbpx
newskarobar-job-vacancy
Nepal Mediciti

गृहपृष्ठ जनकपुरधाम उपमहानगर : जनताले तिरेको राजश्वमा वडा सचिवको रजाँई

जनकपुरधाम उपमहानगर : जनताले तिरेको राजश्वमा वडा सचिवको रजाँई

janakpurdham_newskarobar

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ कार्यालयमा राजश्व छली हुने गरेको खुलासा भएको छ । जनकपुरधाम वाडा नम्बर ११ को कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको पाइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाकी उप-प्रमुख रिताकुमारी मिश्रसहितको टोलीले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुलेको हो ।

वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक नमिलेपछि राजश्व छली हुने गरेको देखिएको हो । माघ १५ गते कार्यालयले एक सेवाग्राहीको घरबाटो प्रमाणित गरेबापत् एक हजार १० रुपैयाँ लिएको थियो । तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको थियो ।

यसैका आधारमा उप-प्रमुख मिश्र, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोलीले शुक्रबार अनुगमन गरेको थियो । अनुगमनमा गएको टोली कार्यालयमा पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको खुलासा भएको छ । एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि रसिद भने २७ वटा मात्र काटेको पाइएको छ ।

प्रशासकीय अधिकृत साहले गरेको सोधपुछमा वडा कार्यालयका सचिव गौरीशंकर साहले त्रुटी भएको स्वीकार गरेका छन् । यता वडाध्यक्ष रामचन्द्र साहले आफूले सचिवमाथि विश्वास गरेर हस्ताक्षर गरेको भन्दै यसमा आफ्नो संलग्नता नरहेको बताए । उनले यो कार्यमा सचिव साहले त्रुटि गरेको बताए ।

कागजपत्र चेकजाँचपछि उप-प्रमुख मिश्रले वडा सचिवलाई सोमबारसम्ममा सबै कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिएका छन् । यसैबीच, वडा कार्यालयका सदस्यहरूले यो घटनाको छानबिन गर्न माग गरेका छन् । उनीहरूले उपमहानगरपालिकाले कारबाही नगरे अख्तियारमा निवेदन दिने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित समय १८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु