fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ शुक्रबारदेखि

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ शुक्रबारदेखि

can-infotech-karnali-newskarobar

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ सुरु हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो ।

‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासंघका कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । ‘मेलाले कर्णाली प्रदेशको डिजिटल कर्णाली बनाउने अवधारणा र लक्ष्य परिपूर्ति दुवैमा सहयोग पुर्याउने अपेक्षा छ,’ अध्यक्ष अधिकारीले भने ।

सूचना तथा सञ्चार प्रविधिको बृहत् प्रदर्शनी हुने ‘क्यान इन्फोटेक मेला’ रोबर्टबाट उद्घाटन हुने क्यान महासंघका सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्दले जनाए । अध्यक्ष चन्दले आइटी सेमिनार, नेपाली वैज्ञानिकले निर्माण गरेको रोबर्टलगायत विभिन्न प्रविधिजन्य सामग्री तथा उपकरणको प्रदर्शनी हुने जानकारी दिए ।

इन्फोटेक मेलामा आइसिटी कन्फ्रेन्स, आइसिटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयका सेमिनार सञ्चालन हुनेछन् । मेलामा कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरिदमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिइने र टाइपिङ प्रतिस्पर्धासमेत गराइनेछ ।

त्यसैगरी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एक जनालाई ‘रारा भिजिट’, १० जनालाई एन्टिभाइरस निःशुल्क उपलब्ध गराइनेछ । मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवर्धन हुने विश्वास गरिएको क्यान महासंघले जनाएको छ ।

मेला फागुन २४ देखि २८ गतेसम्म पाँच दिनसम्म सञ्चालन हुनेछ । कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको सूचना, सञ्चार प्रविधि प्रदर्शनीमा १० वटै जिल्लाका एक लाख दर्शकले अवलोकन गर्ने र ३६ लाखको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित समय ०८:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु