fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ बा ! म छाउ जानै पड्न्या हो ?

बा ! म छाउ जानै पड्न्या हो ?

chhaughar_surkhet3

बा ! म छाउ जानै पड्न्या हो ? नगया हुँदैन ? जा किन नजान्या छाउ भएका बेला बाहिर बस्नु हुँदैन । पर्दामा बाआमा र छोरीबीचको यो बातचित हेर्दा दर्शक दीर्घामा बसेकाहरु अब के हुन्छ भन्ने कौतुहलतामा देखिन्थे ।

नाटकको सुरुवाती चरणमा रेडियोमा कार्यक्रम मेरो कथा प्रसारण भइरहेको हुन्छ । कार्यक्रममा एकजना जमुनी भन्ने महिलाले आफ्नै दाईको कथा पठाएकी हुन्छे । यो कथा सुदुरपश्चिमको डोटी जिल्लाको हो ।

नाटकको मुख्य पात्र भनिएका उमेश र रिना एक अर्कालाई औधी मन पराउँछन् । एक अर्कालाई उकदमै मायाँ गर्ने उनीहरुको जोडि गाउँ र शहरमा हुन्छन् । उमेश पढ्न भनी सदरमुकाम गएको हुन्छ ।

कलेज विदामा घर आएको बेलामा उमेश र रिनाको सम्बन्धबारे रिनाकी आमाले थाहा पाएर रिना र उमेशलाई गाली गर्छे । यो कुरा एक कान दुई कान मैदान हुंदै गाउंभरी फैलन्छ ।

दुवै परिवारले उमेश र रिनाको विवाह गर्ने निधो गर्छन् । विवाहको तयारी धुमधामका साथ भईरहेको हुन्छ । यस्तैमा विवाहको केहि दिन अगाडि रिना महिनावारी हुन्छे ।

रिनाले महिनावारी भएको कुरा आमालाई यसरी भन्छे, ‘आमा म भित्र आउँदिन छाउ भयाकी छु । रिनाका बुवा र आमाले निराश हुँदै  विवाह नहुने कुरामा चिन्ता गर्छन् । र रिनाका बुवाले रिनालाई छाउ बस्न भन्छन् । तर रिना छाउ बस्न मान्दिन । उसले भन्छे । बा म छाउ जानै पड्न्या हो ? नगया हुँदैन ?

तर रिनाका बा र आमाले उसलाई जबरजस्ती देवता रिसाउने नाममा घरभन्दा केहि टाढा छाउगोठमा पठाउँछन् ।

एक्लै छाउमा बसेकी रिनालाई भेट्न रिनाको प्रेमी उमेश जान्छ र मायाँप्रेमको कुरा गर्छ । तर, रिनाले छाउ भएको बेलामा छुनुहुँदैन भनी उमेशलाई त्यहाँबाट फर्काइदिन्छे ।

छाउगोठ बाट फर्केपछि भने रिनाले बिहे नगर्ने निधो गर्छे । त्यो देखेर दुवै परिवार चकित पर्छन् ।

रिनाका बुवाले छोरीले निर्णय परिवर्तन गरेर समाजमा लाज भएकोले  आत्माहत्या गर्ने निधो गर्छ ।

बुवाको त्यो हालत देखेर रिनाले छाउमा आफूमाथि भएको सबै घटना बुवाआमालाई भन्छे  तर उनीहरुले त्यो बारेमा कसैलाई भन्दैनन् । उता उमेश रिनाको निर्णयले पागल हुन्छ ।

यस्तैमा उमेशकी बहिनी जमुनी महिनावारी हुन्छे । उसलाई पनि त्यसैगरी छाउगोठमा राखिन्छ । त्यो सुनेर रिना जमुनीलाई छाउबाट निकाल्न जान्छे तर उमेशले दिँदैन ।

उमेशले जमुनीलाई छाउबाट निकाल्न नदिएपछि आफुजस्तै घटना जमुनीलाई नपरोस् भनेर यसो गरेको कुरा रिनाले उमेशलाई भन्छे । छाउगोठमा आफू बसेको बेलामा बलात्कार भएको कुरा रिनाले उमेशलाई भनेपछि उमेशले रिनालाई साथ दिन तयार हुन्छ ।

र, भन्छ म तेरो साथमा छु । त जस्तै अरुले यो समस्या भोग्नु नपरोस् ।

यो दृश्य कर्णाली प्रदेशको राजधानी सुर्खेतममा सञ्चालन भएको रारा राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिएको नाटक छाउगोठको थियो । खप्तड सांस्कृतिक मञ्च कैलाली परिवारले प्रदर्शन गरिएको नाटक नेपालको  साविकको सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा जरा गाडेको छाउपडी प्रथालाई पर्दामा देखाउन खोजिएको थियो ।

लेखक तथा निर्देशक पुष्प अवस्थीले नेपाल सरकारले देखेको सम्वृद्धिको सपना देशमा जरा गाडेको कूप्रथाको अन्त्य नभएसम्म हुन नसक्ने भन्दै नाटकद्वारा समाजलाई चेतना दिने उदेश्यले रचना गरिएको बताए ।

त्यस्तै नाटकमा रिनाको अभिनय गरेकी सगुन पोख्रेलले आफू सुदूरपरिश्चमा जन्मिएको र कहीँ कतै छाउपपडी प्रथाले आफूलाई छोएकोले यो भूमिका लिएको बताईन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका केही गाउँपालिका तथा नगरपालीकामा पनि छाउपडी प्रथा यथावत छ । बराहताल, पञ्चपुरी तथा चौकुने गाउँपालिकामा अझै पनि यो प्रथा यथावत रहेको छ ।

केही महिनाअगाडि बराहताल गाउँपालिका की एकजना १६ वर्षीय किशोरी महिनावारी भएको बेलामा छाउगोठमै सामुहिक बलात्कृत भएकी थिइन् ।

यस्ता धेरै घटना घटे पनि बाहिर नआउने गरेको र नाटकको माध्यमबाट भएपनि समाजलाई चेतना दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले बताए ।

फाल्गुन २९ गते सम्म सञ्चालन हुने महोत्सवमा  शनिबार बिहान ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्दे्शित नाटक ‘म पहिलो सन्तान किसान जन्माउँछु’ प्रदर्शन हुनेछ । दिउँसो ३ बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन हुनेछ ।

आइतबार प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसियाद्वारा निर्देशित ‘दहेज आ दारु’ प्रदर्शन हुनेछ । त्यसै दिन प्रदेश ७ को सुदुरपश्चिमाञ्चल साहित्य समाज कैलालीबाट भिष्म जोशीद्वारा निर्देशित नाटक ‘श्रीमान् वीरबहादुर’ प्रदर्शन गर्ने कार्यक्रम छ ।

सोमबार प्रदेश नम्बर ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट ‘जिउँदो आकाश’ र कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन हुनेछ ।

मंगलबार गण्डकी प्रदेशको मञ्जरी नाट्य समूह लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको ‘नौगेडी’ र प्रदेश नम्बर ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’ प्रदर्शन गरिनेछन् ।

अन्तिम दिन २९ गते प्रदेश नम्बर ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको ‘घेरो’ र प्रदेश नम्बर ३ को ‘ङ समूह’ काठमाडौंबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन हुनेछ ।

प्रकाशित समय १६:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु